‘कोटिहोम’का लागि पशुपतिको कैलाश क्षेत्रमा खाल्डो खन्दा किन उठ्यो प्रश्न ?
काठमाडौँ । राजधानीमा यतिबेला चर्चामा छ–पशुपतिमा जारी कोटिहोमको । विभिन्न ११ वटा संघसंस्था आयोजक रहेको ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ मा दैनिक भक्तजनको घुइँचो देखिन्छ ।
उक्त कोटिहोमको भइरहेको चर्चाका बिच यसबारे विभिन्न प्रश्न समेत उठ्न थालेको छ । ‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि भइरहेको महायज्ञमा ‘अनधिकृत’ कार्य भएको भन्दै सरकारी निकायबाटै प्रश्न उठाइएको हो ।
विश्वसम्पदा सूचीकृत र महत्त्वपूर्ण संरचनाको सङ्केत पाइएको कैलाश क्षेत्रमा कोटिहोमका लागि अनधिकृत रुममा खाल्डो खनिएको विषयमा पुरातत्त्व विभागले सार्वजनिक रूपमा नै असन्तुष्टि पोखेको छ ।
पशुपति क्षेत्र विकास कोषलाई पत्राचार नै गरेर विभागले कोटिहोमका नाममा पशुपति क्षेत्रमा भएको अनधिकृत कार्य रोक्न निर्देशन दिएको थियो । पशुपति क्षेत्र विकास कोषले आयोजकलाई दिएको अनुमतिपत्रमा वनकाली क्षेत्रमा अनधिकृत रूपमा खन्ने कार्य भइरहेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।
विगतमा कोषसमेतको संलग्नतामा गरिएको सर्भेमा अहिले खाल्डो खनेको स्थानमा महत्त्वपूर्ण संरचना रहेका सङ्केत मिलेको र हाल खनिएको खाल्डाहरूमा पनि सांस्कृतिक तह र संरचनाहरू प्राप्त भएको भन्दै विभागले पत्रमार्फत उक्त कार्य रोक्न भनेको थियो । साथसाथै विभागको स्वीकृति नलिएको बारेमा जवाफ पेस गर्न कोषलाई विभागले सात दिनको म्याद दिएर ताकेता समेत गरेको थियो ।
- पत्र हेर्नुहोस्:
संवेदनशील क्षेत्रमा आयोजकले कोटिहोमका लागि गहिरो खाल्डो खनेको थियो । उक्त खाल्डो नियमअनुसार खन्न नपाइने भए पनि जबरजस्ती गरिएको पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
ती अधिकारीका अनुसार सुरुमा ७ फिट गहिरो खाल्डो खनिएको थियो । विभागले पत्राचार गरेर गम्भीर आपत्ति जनाएपछि थामथुम पार्न केही भाग पुरेर अहिले हवनको कार्य मात्रै गरिँदै आएको छ ।
उसो त कोषले मानव सेवा फाउन्डेसनको नाममा गत जेठमै अनुमति दिएको थियो । जसअनुसार कोषले पशुपति क्षेत्रको कैलाशडाँडाको स्थानमा रहेका बोट बिरुवाहरूलाई कुनै पनि प्रकारले क्षति नपुर्याउने किसिमले हवन कार्य गर्न दिने निर्णयसहितको पत्र दिएको देखिन्छ ।
कोषका सार्वजनिक खरिद तथा सेवा सुविधा महाशाखाका नि.प्रमुख रेवती रमण अधिकारीद्वारा हस्ताक्षर गरिएको अनुमतिपत्रमा भनिएको छ, ‘ उपरोक्त सम्बन्धमा त्यहाँ श्री मानव सेवा फाउन्डेसन नेपालले मिति २०८१÷०४÷३२ गते सम्म कोटी हवन कार्यक्रम गर्न पशुपति क्षेत्रको कैलाश डाँडाको स्थान माग गर्नुभएको निवेदन उपर कारबाही हुँदा कैलाश क्षेत्रमा रहेका बोट बिरुवाहरूलाई कुनै पनि प्रकारले क्षति नपुर्याउने किसिमले हवनको कार्य गर्न मिति २०८१/०२/१६ को निर्णयअनुसार अनुमति दिइएको व्यहोरा जानकारी गराइन्छ ।’
११ आयोजक भनिए पनि मानव सेवा फाउन्डेसनको नाममा उक्त अनुमति दिएको पत्रमा देखिन्छ । ३ लाख १५ हजार रुपैयाँ शुल्क लिएर दिइएको उक्त अनुमतिपत्रमा स्पष्ट रूपमा मापदण्ड विपरीत नहुने गरी कोटी हवन गर्न भनिएको छ ।
- पत्र हेर्नुहोस्
त्यसअघि कोषले अर्को अनुमति पनि दिएको देखिन्छ । जसमा आयोजकले प्रचार प्रसारका लागि पशुपति क्षेत्रमा स्वागतद्वार राख्ने अनुमति मागेकामा भक्तजन, तीर्थयात्री, मलामीहरुको आवागमनमा बाधा नपुग्ने गरी स्वागतद्वार राख्न भनिएको छ । त्यसमा पनि मापदण्ड पालना गर्न भनेकोमा जथाभाबी प्रचार सामग्री राख्ने काम भएको छ । तर, कोषका अधिकारी र आयोजक यसबारेमा पन्छिरहेका छन् ।
- पत्र हेर्नुहोस्
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन कुमार थापाले जथाभाबी खाल्डो खन्न कोषले अनुमति नदिएको बताए । पुरातत्त्वले प्रश्न उठाएसँगै अनुगमन गर्दा गहिरो खाल्डो बनाइएको पाइएको र सो पुरेर २ फिट हाराहारी कायम गरिएको उनको भनाइ छ । होम गर्न खाल्डो चाहिने नै भएर त्यो खनिएको जानकारी पाएको भन्दै उनले अहिले कार्यक्रम सकिएपछि जस्ताको त्यस्तै बनाउन भनिएको उनको भनाइ छ । तर, पशुपतिको कोर क्षेत्रमा आफूहरूले मापदण्ड विपरीत प्रचार सामग्री राख्न नदिने उनले स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभासहित राधिका दासी, दीनबन्धु पोखरेल, चन्द्रकला सखीलगायत कथाबाचक रहेको कोटिहोममा निकै तडकभडक देखिने त्यहाँ पुग्नेहरू बताउँछन् । यस्तो तडकभडकले भक्तजनबाट उठाइएको पैसा कार्यक्रमको व्यवस्थापनमै धेरै खर्च हुने देखिएको उनीहरूको भनाइ छ ।
एक जना संस्कृतिका विज्ञले कोटिहोमको प्रक्रियाका सन्दर्भमा समेत प्रश्न उठाएका छन् । नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता जगमान गुरुङ पाशुपत क्षेत्रमा आयोजना गरिएको कोटिहोम ज्योतिषशास्त्रको सिद्धान्त विपरीत रहेको बताउँछन् । उनले साउन १ गते कोटिहोम सुरु हुन लागेकै दिनसमेत सामाजिक सञ्जालमार्फत प्रश्नहरू अघि सारेका थिए ।
‘यस दिन (साउन १) गते अग्नि पनि जुर्दैन र रुद्री पनि जुर्दैन । २०८१ साउन १ गते, मङ्गलवार आषाढ शुक्ल दशमी तिथि पर्दछ । शुक्लपक्षको मङ्गलवार अग्नि पातालमा हुन्छ । अग्निवाससारिणी अनुसार अग्नि पातालमा बसेको दिन अग्निस्थापना गरेर हवन गर्दा त्यसको फल धन नाश हुन्छ । अर्को कुरा शिववाससारिणी अनुसार शुक्लपक्षको दशमी तिथिमा शिवको वास सभामा हुन्छ र त्यसको फल ताप अथवा पीडा हुन्छ। ज्योतिषशास्त्रको सामान्य भन्दा पनि सामान्य ज्ञान भएका व्यक्तिले यो कुरा बुझेको हुन्छ, उनको भनाइ छ ।
- के भन्छ आयोजक ?
आयोजकमध्येका एक मानव सेवा फाउन्डेसनका व्यवस्थापक विजय केसीले कोटिहोम पवित्र उद्देश्यका साथ सुरु गरिएको भन्दै साइत पञ्चाङ्ग निर्णायक समितिसँग समन्वय गरेर जुराइएको दाबी गरे ।
‘सबै कुरा पञ्चाङ्गसँग परामर्श गरेर गरिएको हो । कुन मितिमा गर्दा के हुन्छ भनेर उहाँहरूले सुझाएर असारको २८ गते पूर्वाङ्ग गरेर हवन कुण्डमा हवन गरिएको हो । हामी पञ्चाङ्गभन्दा बाहिर गएका छैनौँ’, उनले भने ।
खाल्डोको विषयमा भने कोषले अनुमति दिएपछि पुग्ने होला भन्ने बुझाइका साथ खनिएको उनको भनाइ छ । ‘कोषले अनुमति दिएपछि केही गर्न पर्दैन होला भन्ने हाम्रो सोचाइ रह्यो’, उनले रातोपाटीसँग भने, ‘त्यो हिसाबले कुराहरू अघि बढ्यो । उहाँहरूबाट अब्जेक्सन आएको भए हामीले केही गर्ने थिएनौँ, पछि पुर्न भनिएपछि डेढ फिटमात्रै कायम गरिएको छ ।’
महायज्ञबाट उठेको रकम अभिभावकविहीन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरूलाई सेवा दिँदै आएको मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरका लागि खर्च गरिने बताइएको छ ।
तर आयोजकले कति रकम उठ्यो भनेर एकैपटक साउन ३२ पछि जानकारी गराउने भनेको छ । केसीले कोटिहोम सकिएपछि सबै आम्दानी र खर्चको हिसाब सार्वजनिक गरिने बताए । उनले कोटिहोममा कुनै फजुल खर्च नगरिएको पनि दाबी गरे ।