बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

शनिबार, १२ साउन २०८१, १९ : १६
शनिबार, १२ साउन २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् । शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको पनि बताए । उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने बताए ।

उनले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरु परादर्शी बनाउन आवश्यक रहेको बताए । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए । उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताइन् । सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिए ।

उनले भने,  ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो छ । इमर्जेन्सी राम्रो भएन भन्ने जनगुनासो छ । अप्रेशनका निम्ति एक वर्ष पर्खिनुपर्छ भन्ने जनगुनासो छ । सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो हामीले बाहिर सुनिरहेका छौँ ।

ती कति सत्य होलान् र कति असत्य होलान् । तर हामीले ती गुनासाहरुलाई क्रमशः सम्बोधन गर्दै जान सक्नुपर्छ । त्यस्तै एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । एक अर्काको सम्बन्ध समन्वयात्मक ढंगबाट अगाडि बढाउन जरुरी छ । त्यसैले यो एकीकृत संस्था एकीकृत ढंगबाट काममा अघि जान जरुरी छ ।’

उनले इमर्जेन्सी सेवालाई सय शैय्यामा बिस्तार गर्न लागेको र टेण्डर प्रक्रियामा जान लागेको पनि बताए ।  उनले हालैमात्र योग्यता÷क्षमताको आधारमा सय जना नर्स राखेको पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप