सार्क सम्मेलनको १० वर्ष : सदस्य राष्ट्रहरू अन्योलमा
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अघिल्लो शिखर सम्मेलन सम्पन्न भएको नोभेम्बरमा १० वर्ष पुग्दैछ । सन् २०१४ नोभेम्बर २७ र २८ मा नेपालमा सम्पन्न भए यता सार्क शिखर सम्मेलन हुन सकेको छैन ।
अध्यक्ष राष्ट्र भएको नाताले सम्मेलनका लागि नेपालबाट प्रयास नभएको होइन तर भारतबाट त्यसका लागि तदारुकता नदेखाएको कारण सम्मेलन हुन सकेको टिप्पणी भइरहेका छन् । भारत सार्कको विकल्पको खोजीमा देखिएको छ । दक्षिण एसियाली राष्ट्रहरूलाई अन्य मञ्चमा जोड्न थालेको छ ।
१० वर्षदेखि शिखर सम्मेलन हुन नसके पनि सार्कसँग सम्बन्धित अन्य गतिविधि तथा प्रशासनिक काम भने नियमित भइरहेको छ । गत फागुन २३ गते सार्क कार्यक्रम समितिको ५९औँ बैठक नेपालमा बसेको थियो । काठमाडौँमा आयोजित बैठकमा सार्क सदस्य राष्ट्रका विदेश मन्त्रालयका सहसचिव, महानिर्देशकहरूको सहभागिता थियो ।
सो बैठकले सार्कलाई विभिन्न तहमा सक्रिय बनाउने सहमति गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रही सकेका रूपक सापकोटाले सार्कलाई सक्रिय बनाउन तत्कालीन सरकारले निकै मेहनत गरेको बताए । केही नतिजा आउनै लागेको समयमा सरकार ढलेको भन्दै उनले अहिलेको सरकारले पनि सोही स्तरमा सार्कका लागि काम गर्नेमा आफूलाई विश्वास लागेको बताए ।
सापकोटाका अनुसार तत्कालीन प्रधानमन्त्री प्रचण्डले दक्षिण एसियाली देशहरूको बिचमा सुमधुर सम्बन्ध बनाउन र एक अर्कालाई सहयोग पुर्याउन सार्कलाई सक्रिय बनाउनुपर्नेमा पहल थालेका थिए । विभिन्न औपचारिक तथा अनौपचारिक मञ्चहरूमा प्रधानमन्त्री प्रचण्डले सार्कलाई सक्रिय बनाउनुपर्नेमा जोड दिने गरेको उनले बताए ।
तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सार्कलाई सक्रिय बनाउन विभिन्न तहमा पहल थालेका थिए । त्यसअघिका परराष्ट्रमन्त्री एनपी साउदले पनि प्रयास गरेका थिए ।
भारतमा लोकसभाको चुनाव सकिएपछि सार्ककै विषयमा कुराकानी गर्नका लागि तत्कालीन परराष्ट्रमन्त्री श्रेष्ठ भारत जाने तयारीमा थिए । तर चुनाव सकिएपछि राजनीतिक परिस्थितिका कारण उनी त्यता जान पाएनन् ।
भारतका विदेशमन्त्री एस.जयशंकरले यस विषयमा बसेर छलफल गरौँ भनेका कारण मन्त्री श्रेष्ठ भारत जाने तयारीमा थिए ।
पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठ भन्छन्, ‘सार्क सक्रिय हुन आवश्यक छ । क्षेत्रीय राजनीति, आर्थिक, सामाजिक सबै प्रकारको विषयलाई विकसित बनाउन यसलाई सक्रिय बनाउन आवश्यक छ ।’
त्यसका लागि आफूले प्रयास गरेको बताउदै उनले यिनै विषयमा छलफल गर्नका लागि लोकसभाको चुनावपछि भारत जाने तयारी रहेकोमा राजनीतिक परिस्थितिले जान नसकिएको प्रस्ट पारे ।
आफूले भारतका विदेशमन्त्री एस.जयशंकरसँग यस विषयमा कुरा गर्दा उनले पनि सार्कलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएको श्रेष्ठको भनाइ छ । ‘यसमा छलफल गर्न तपाईं आउनुस्, कि म आउँछु भनेका थिए,’ उनले भने, ‘तर म त्यहाँ जान परिस्थिति मिलेन ।’
सार्कको बारेमा भारत पनि गम्भीर रहेको आफूले पाएको उनको भनाइ छ । उनले भने, ‘अमेरिकाको न्युयोर्कमा आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सार्क देशका मन्त्रीहरूको साइडलाइन बैठक बस्ने तय भएको थियो । अब त्यो बैठक के हुने हो, थाहा छैन ।’
पूर्वमन्त्री श्रेष्ठले सार्कलाई सक्रिय तुल्याउन भारतले पनि चाहेको र आफूलाई छलफलका लागि बोलाएको भनिरहँदा भारतीय विदेशमन्त्री एस.जयशंकरको अभिव्यक्ति भने त्यस विपरीत देखिन्छ ।
उनले गत फागुनमा भारतमा आयोजित कार्यक्रममा भनेका थिए, ‘सार्क संगठन सङ्कटमा छ किनभने यसका एक सदस्य राष्ट्र लगातार आतंकवादलाई समर्थन गरिरहेको छ ।’
उनले अगाडि बनेका थिए, ‘सार्कको विकल्पमा बिमस्टेक अगाडि बढिरहेको छ । यस्तो होइन कि त्यहाँ (बिमस्टेक) कुनै समस्या छैन, म्यानमारको हालत निकै चुनौतीपूर्ण छ तर म भन्छु कि बिमस्टेकमा त्यस्तो मुद्दा (चुनौती) छैन जो सार्कमा छ ।’
भारतका विदेश सचिव एस.जयशंकारको अभिव्यक्ति सुन्दा प्रस्ट हुन्छ कि सार्क सङ्कटमा छ । भारतले यसलाई अगाडि बढाउन चाहेको छैन । सार्कको विकल्पमा बिमस्टेकलाई भारतले अघि बढाइसकेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् । उनले सार्कको बारेमा हालसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
- भारत–पाकिस्तानको लफडा
सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् । सन् २०१४ को नोभेम्बर २७ र २८ मा नेपालमा भएको सार्क सम्मेलन भएको थियो । सार्क सम्मेलन सकेको पाँच महिनापछि पोखरामा बसेको सार्क मन्त्रीस्तरीय बैठकले पाकिस्तानको इस्लामावादमा १९ औँ सम्मेलन २०७३ चैत २४ र २५ गते गर्ने निर्णय गरेको थियो । तर २०७३ असोजमा जम्मु–कश्मीरमा भारत–पाकिस्तानबिच भएको लफडाले सार्क सम्मेलन स्थगित गरिएको थियो ।
जम्मु–काश्मिरको उरीमा आफ्ना सैनिकमाथि पाकिस्तानले आक्रमण गरेको भारतको आरोप छ । सो आक्रमणमा १९ जना भारतीय सैनिकको ज्यान गएको थियो । त्यसले सिधै सार्क शिखर सम्मेलनलाई नै असर गरेको थियो ।
त्यतिबेलादेखि भारतले सार्क सम्मेलनप्रति चासो देखाएको छैन । पाकिस्तानबाहेक अरू ठाउँमा पनि १९ औँ सम्मेलन गर्न सकिन्छ । त्यसका लागि छलफल पनि भएको थियो तर पाकिस्तान तयार देखिँदैन । पाकिस्तानले आफ्नै देशमा सम्मेलन गराउन चाहे पनि भारतले सहभागिता जनाउन नमानेपछि सम्मेलन लगातार अन्योलमा पर्दै आएको छ ।
- ‘नेपाल सक्रिय हुनुपर्छ’
सन् २०१४ देखि २०१७ सम्म सार्कको महासचिव रहिसकेका अर्जुन बहादुर थापा सार्क सक्रिय हुनेमा अझै आशावादी छन् । उनले भने, ‘सार्क विघटन हुने वा कुनै सङ्कटमा छ भनेर भन्नुहुँदैन, सम्मेलनबाहेकका सबै सेक्टर सक्रिय छन् । सबै काम भइरहेका छन्, त्यसैले सार्क बिस्तारै सक्रिय हुन्छ ।’
भारत–पाकिस्तानबिच सधैँ यस्तै तिक्तता रहँदैन, कुनै समयमा गएर साम्य हुन्छ, सम्मेलन हुन्छ र सार्क फेरि सक्रिय हुन्छ भन्नेमा आफू आशावादी रहेको उनले बताए ।
आफू महासचिव भएको केही महिनामै नेपालमा सार्क शिखर सम्मेलन भएको र अर्को १९औँ सम्मेलन पाकिस्तानमा गर्ने निर्णय भएको उनले स्मरण गराए । तर भारत र पाकिस्तानबिचको सम्बन्ध बिग्रेको कारण केही ढिलो भएको उनले बताए । सार्कलाई सक्रिय बनाउन सबैतिरबाट सहयोग हुनुपर्ने उनको भनाइ छ ।
पाकिस्तानबाहेक अरू देशमा पनि सम्मेलन गर्दा एउटा विकल्प हुन सक्ने बताउँदै उनले यसका लागि अध्यक्ष राष्ट्र भएको नाताले नेपालले पहल गर्नुपर्ने बताए । पाकिस्तानमा सम्मेलन गर्दा भारतलाई आपत्ति हुने भएपछि सबैको सहमतिमा भारत–पाकिस्तानबाहेक अरू देशमा पनि गर्न सकिने उनले प्रस्ट पारे । अध्यक्ष राष्ट्र भएको नाताले नेपालले आफ्नै देशमा पनि गर्न सकिने भन्दै उनले यो विकल्पमा पनि बहस हुनुपर्ने सुझाव दिए ।
भारतीय विदेश मन्त्रालयमा लामो समय काम गरेका तथा नेपालका लागि पूर्वराजदूत रञ्जित रायले सार्कको आवश्यकतामा जोड दिँदै भने, ‘क्षेत्रीय सम्बन्ध विस्तार गर्नका लागि सार्क जस्ता संगठन आवश्यक छ तर पाकिस्तानका कारण यो अगाडि बढ्छ जस्तो मलाई लागेको छैन ।’
पछिल्लो समय आतङ्कवादलाई लिएर भारत–पाकिस्तानको दुरी झन् बढेको उनको भनाइ छ । यस अवस्थामा सार्कलाई अगाडि बढाउन गाह्रो रहे पनि दक्षिण एसियाली देशहरूको बिचमा सम्बन्ध बनाउन यो आवश्यक रहेको उनले प्रस्ट पारे ।
‘सार्कजस्तै अर्को संगठन पनि बनाउन सकिन्छ । त्यसबाट पनि कार्य गर्न सकिन्छ,’ उनले भने, ‘बिमस्टेक, बीएमआई जस्ता संगठन अगाडि बढिरहेको छ । सार्कलाई पनि बलियो बनाउन सकिन्छ ।’
विदेश मामिलाका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्णले सार्क सक्रिय हुने सम्भावना आफूले नदेखेको बताए । सक्रिय भए पनि धेरै समय लाग्न सक्ने उनको अनुमान छ ।
‘सार्क देशका बिचमा राजनीतिक विवाद छ, त्यो विवाद समाधान नभएसम्म सार्क सक्रिय हुँदैन,’ उनले भने, ‘केही देशको बिचमा यस्ता विवाद छन्, जो समाधान हुने अवस्थामा छैनन् ।’
उनले अब नेपालले बिमस्टेकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा सक्रिय हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
-
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा