बाहुनबाजेले मेरो हातमा धागो बाँध्न नचाहेपछि...
मेरो बालापन सुर्खेतको छिन्चुमा बित्यो । मैले त्यहाँ बिताएका हरेक क्षण मेरा लागि निकै महत्त्वपूर्ण छन् । किनभने ती सबै अहिलेको म बन्ने आधार थिए । मेरा धेरै संस्मरण सम्झन लायक छन् । तीमध्ये केही भने खिन्नलाग्दा छन् ।
थापा, खड्का, वली, बुढाक्षेत्रीहरूको बिचमा हाम्रो घर थियो । मेरा आमाबुवाको इमानदारिताकै कारण होला, मलाई गाउँमा सबैले माया गर्थे । त्यतिबेलासम्म मलाई सबै मानिस बराबर हौँ भन्ने लाग्थ्यो । अझ भनौँ भने मलाई विभेदबारे कुनै जानकारी थिएन ।
जनै पूर्णिमाको दिनको कुरा हो । म मेरी साथीको घर गएकी थिएँ । त्यस घरमा एकजना बाहुन बाजेले परिवारका सबैलाई टीका लगाइदिँदै हातमा धागो (रक्षासूत्र) बाँधिदिएका थिए । मलाई पनि टीका लगाउन असाध्यै मनपर्ने भएकाले छेवैमा बसेँ । कतिबेला लगाइदेलान् भनेर पर्खिरहेँ । मेरो साथीको हातमा रातो र पहेँलो मिसिएको धागो हेर्दा निकै सुहाएको जस्तो लाग्थ्यो, त्यस धागोलाई उनले राखी भनेकी थिइन् ।
केहीबेरमा बाहुनबाजेले भने, ‘नानी यता आऊ ।’ उनले मलाई पनि टीका लगाइदिएर धागो बाँधिदिन खोजेका थिए । छेवैमा बसेका एकजना दाइले भनिहाले— नाइँ, यो त माथि बादी साइँलाकी छोरी हो । ओहो धन्नै बर्बाद हुनेरहेछ भन्दै बाजेले झोलामा समान राखेर अर्को घरतिर लागे ।
मलाई नरमाइलो लाग्यो । निन्याउरो अनुहारसहित घर आएँ र ममीलाई भनेँ— गाउँभरि सबैले हातमा राखी बाँधेका छन्, हामी पनि बाँधौँ न ।
उहाँले भन्नुभो— मलाई कामैले फुर्सद छैन । नत्र बजार गएर ल्याइदिन्थेँ । ती बाहुनहरूले हामीलाई धागो बाँध्दैनन् । के गर्नु ! चुप लागेर बस् ।
म गएपछि सबैले काकीलाई सोधेछन्— सुनिताले भात किन खाइन । धेरैले यसको उत्तर अनुमान गरिसकेकै थिए । किनभने उसलाई त्यसरी खाना र पानी दिएको मन परेन । काकीले भन्नुभएछ— आजभोलिका केटाकेटी यस्तै हुन्, घमण्डी ।
ममीसँग प्रतिप्रश्न गरिनँ । बाहुनले हाम्रो हातमा राखी किन बाँध्दैनन् ? यस्तो के चलन होला ? सँगै पढ्ने मेरी साथीको हातमा बाँध्न हुने, मेरो हातमा नहुने ! यसमा मेरो कमजोरी वा गल्ती के हो ? यस्तै प्रश्न मनमा खेलिरहे ।
त्यतिबेला मलाई राखीका बारेमा पनि जानकारी थिएन । मनमा अरु प्रश्न पनि आए— यो किन बाँध्छन् ? यो कसको र कस्तो संस्कार हो ? यसबारे मलाई सही जवाफ दिने कोही थिएन ।
भोलिपल्ट म स्कुल गएँ । सबैले हातमा रंगी–बिरंगी राखी बाँधेका थिए । मन नरमाइलो भयो । मलाई धागो बाँधौँ बाँधौँ लागिरहेकै थियो । किनभने, धागो नबाँधेकाले मैले आफूलाई त्यो समाजको सदस्यका रूपमा पाइरहेकी थिइनँ र सायद म समाजको अरुजस्तै सदस्य बन्न चाहन्थेँ ।
केहीबेरमा खाजा खाने समय भयो । सबैजना कोठाबाट बाहिर दौडिए । मलाई भने कतै निस्कन मन लागेन । मसँग ऊनीको धागोको झोला थियो । त्यसबाट एउटा रातो र एउटा पहेँलो धागो थुतेँ । अनि आफैँले हातमा बाँधेँ र हेरेँ । निकै सुहाएको जस्तो लाग्यो, मन खुसी भयो ।
गाउँमा वर्षा लागेपछि अर्मपर्म गर्नुपथ्र्यो । विद्यालय बिदाको दिन म पनि काममा जान्थेँ । एक दिन म र मेरी काकी एकजना छिमेकीको रोपाइँमा पर्म लगाउन गयौँ । बिहानैदेखि रोपाइँ सुरु भयो । केटाहरू साउने र केटीहरू रोप्ने काममा व्यस्त भए । यसरी पर्म लगाउँदा दिउँसोको खाना रोपाइँ हुनेकै घरमा खाने गरिन्थ्यो ।
दिउँसोको १ बजेको हुँदो हो, सबैजना काम रोकेर खाना खान निस्किए । सबैजनाले पालैपालो हात धोए । अनि कोही भान्छाभित्र पसे । कोही पिँढीमै बसे । उनीहरू परालले बुनेका गुन्द्रीमा बसेर खाना खान थाले । यसैबिच एकजना आन्टीले हामीलाई बोलाउनुभयो । एउटा च्यातिएको बोरा आँगनको पल्लो छेउमा ओछ्याएर भन्नुभयो— यहाँ बस । म खाना ल्याइदिन्छु ।
म छक्क परेँ । सबैजना घरैमा बसेर खाना खाँदै छन्, हामीलाई मात्रै किन पर ? अचम्म मान्दै काकीलाई सोधेँ । उहाँको जवाफ थियो— हामी दलित भएर नि ! सँगै बस्दा छोइछिटो हुन्छ । हामीले खाएको थाल पनि धोएर यही घाममा घोप्टो पारेर सुकाउनुपर्छ । सुकेको थालमा सुनपानी छर्केर मात्रै उनीहरूले भित्र लैजान्छन् ।
यत्तिकैमा एकजनाले खाना ल्याएर हाम्रो नजिकै राखिदिए । एउटा करुवा भुइँमा राखेर अर्कोले माथिबाट पानी खन्याए । यस्तो दृश्य देख्दा मनमा अनेकौँ भावना आए । भोक लागे पनि केही खान मन भएन ।
भोलिपल्ट म स्कुल गएँ । सबैले हातमा रंगी–बिरंगी राखी बाँधेका थिए । मन नरमाइलो भयो । मलाई धागो बाँधौँ बाँधौँ लागिरहेकै थियो । किनभने, धागो नबाँधेकाले मैले आफूलाई त्यो समाजको सदस्यका रूपमा पाइरहेकी थिइनँ र सायद म समाजको अरुजस्तै सदस्य बन्न चाहन्थेँ ।
बाहिर चर्को घाम थियो । काकीलाई यी सबै कुराले केही फरक परेको थिएन । मैले आफू हेपिएको र आफ्नो आत्मसम्मानमा ठेस लागेको महसुस गरिरहेकी थिएँ । सबैजना गफ गर्दै खाना खानमै मस्त थिए । म जुरुक्क उठेँ र भनेँ— काकी म घर गएर खाना खाएर आउँछु । म हिँडेको देखेर सबैजना शान्त भए ।
म गएपछि सबैले काकीलाई सोधेछन्— सुनिताले भात किन खाइन । धेरैले यसको उत्तर अनुमान गरिसकेकै थिए । किनभने उसलाई त्यसरी खाना र पानी दिएको मन परेन । काकीले भन्नुभएछ— आजभोलिका केटाकेटी यस्तै हुन्, घमण्डी । खाना खाएर केहीबेरमै म उनीहरूसँग धान रोप्न आइपुगेँ ।
त्यसको केही वर्षपछि म पढाइको सिलसिलामा कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुगेँ । त्यहाँ कोठा भाडामा बस्दा सुरुमा केही समस्या भएन । पछि घरबेटीले मेरो जात बादी भन्ने थाहा पाएछन् । एक दिन घरबेटीले भने— मेरो आफ्नो मान्छे आउँदै हुनुहुन्छ, तपाईं अरु ठाउँमा सर्नुहोला । यसरी म त्यस घरबाट जातका कारण निकालिएँ । त्यति बेलासम्म मलाई गाउँमा मात्र विभेद हुन्छ, सहर–बजारमा हुँदैन जस्तो लागेको थियो । सहर–बजारले त सिधै विभेद नगरी घुमाएर गर्न सिकेको रहेछ, मलाई यस्तै महसुस भएको थियो ।
अहिले म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा बिएड चौथो सेमिस्टरमा अध्यनरत छु । साथै एउटा ‘नोरेक युथ एक्सचेन्ज प्रोग्राम’मा जोडिएर काम पनि गरिरहेकी छु । यसले मलाई बंगलादेशका दलित समुदाय र त्यहाँ भइरहेको विभेदलाई नजिकबाट नियाल्ने मौका समेत दिएको छ ।
०००
अहिले मेरो गाउँमा पहिलेभन्दा विभेद कम भएको छ । केही मानिस हाम्रो घरमा आउने र बस्ने–खाने गर्छन् । उनीहरूले हामीलाई पनि बोलाएर भान्छामै खाना खुवाउँछन् । सबैले एक–अर्कालाई दुःखसुखमा साथ दिन्छौँ, सहयोग गर्छाैं । यद्यपि विभेद पूर्ण रूपमा अन्त्य भएको छैन । मलाई धागो नबाँध्ने बाहुन बाजेहरू अहिले पनि हाम्रो घरमा आउँदैनन् । केहीले अझै पनि हामीले छोएको खाँदैनन् । पूजाआजामा गएका बेला टीकाधरी लगाइदिन्नन् । कोही आत्मीय मानिसको निधन हुँदा पनि लासलाई छुन हुँदैन भन्छन् । यस्तो लाग्छ, रूप फेरिए पनि विभेद कायमै छ ।
मलाई लाग्छ— जबसम्म मानिसको सोच परिवर्तन हुँदैन, तबसम्म विभेद कायमै रहन्छ । भनिन्छ सुनिन्छ कि पढेका मानिसले विभेद गर्दैनन् तर मैले पढेकै मानिसको व्यवहारमा विभेद देखेकी छु र नपढेकाले विभेद नगरेको पनि देखेकी छु ।
विभेदका कुरा पढेका र नपढेका भन्दा पनि उनीहरूको सोच कस्तो छ भन्ने कुरामा भर पर्दोरहेछ । कोही मानिस कस्तो वातावरणमा हुर्केको छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ । मानिसले मानिसलाई हेर्ने दृष्टिकोण विभेदयुक्त रहँदासम्म समाजको उन्नति र प्रगति असम्भवप्रायः हुन्छ । अबको हाम्रो मुख्य कार्यभार नै विभेदको समूल अन्त्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले ढुंगानाको सम्मानमा दुई दिन केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने
-
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा
-
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवेदन खुल्ला
-
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै
-
सहकारीप्रति अझै छ विश्वास, यो क्षेत्र धराशायी हुने सम्भावना कति ?
-
अल्लु अर्जुनको पुष्पा–२ बक्स अफिसमा हजार करोडको फिल्म बन्ला ?