शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कलाकार

पाँच वर्षपछि फिल्ममा अनु, भन्छिन्, ‘अब बिहे पनि गर्छु’

शनिबार, १२ साउन २०८१, १७ : ४२
शनिबार, १२ साउन २०८१

काठमाडौँ । अभिनेत्री अनु शाह करिब पाँच वर्षपछि फिल्ममा फर्किएकी छन् । उनको कमब्याक फिल्म ‘ईश्वर’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । 

अब आफू फिल्ममा छाउने एक आधार ‘ईश्वर’ बन्नेमा उनी आशावादी छन् । यद्यपि ‘ईश्वर’को रिलिजले उनलाई खुसी र डरको दोसाँधमा राखेको छ । ‘फिल्म हेर्ने केहीले राम्रो भनेका छन्, यस अर्थमा खुसी छु । तर पनि समग्रमा प्रतिक्रिया कस्तो हुने हो ! व्यवसाय गर्ने हो, होइन । डर लाग्छ नि,’ उनले भनिन् ।

म्युजिक भिडियोबाट उदाएकी अनुले डेढ दशकअगाडि अभिनेता राजेश हमाल अभिनीत फिल्म ‘द युगदेखि युगसम्म’बाट डेब्यु गरेकी थिइन् । राजु गिरी निर्देशित ‘ईश्वर’ उनको २६औँ फिल्म हो । उनी कोरोनाअगाडि ‘भैरव’मा देखिएकी थिइन् ।

यो बिचमा फिल्म नगरे पनि उनी म्युजिक भिडियोमा देखिँदै आएकी थिइन् । कहिले त सातामै उनका चार–पाँचवटा भिडियो रिलिज हुन्थे । भिडियोका कारण मिडियामा छाएकाले फिल्मको ग्यापमा अनौठो महसुस नभएको उनी सुनाउँछिन् । 

‘फिल्म गरेपछि केही नयाँ गर्ने सोचमा म थिएँ । अफरहरू आइरहेकै थिए तर भनेजस्तो फिल्म पाएकी थिइनँ । राम्रै गरौँ भनेर छान्दाछान्दै पाँच वर्ष बितेको पत्तै भएन,’ उनले भनिन् ‘अब नियमित रूपमा फिल्म गर्ने सोच छ ।’

anu shah (2)

छान्दाछान्दै आखिर उनले ‘ईश्वर’ नै किन रोजिन् ?

‘फिल्म नगरेको लामो समय भएको थियो । ठुलो पर्दामा देखिनुपर्‍यो भनेर लगातार फ्यानको प्रेसर थियो,’ अनु भन्छिन्, ‘ईश्वरको कथा र त्यसमा मेरो भूमिका मन प¥यो । अनि अभिनयमा जोडिएँ ।’ 

‘विवाह गर्नुपर्छ भनेर अघिल्लो वर्षदेखि नै सोचेको हो । विवाह जुर्नुपर्दाेरहेछ,’ उनले भनिन्, ‘जहिले जुर्छ, त्यतिबेलै विवाह हुन्छ ।’

फिल्ममा उनी गाउँले केटीको भूमिकामा छन्, तर उनी आफ्नो भूमिका के हो भन्ने खुलाउन चाहन्नन् । ‘भूमिकाभन्दा कथा खुल्छ, भन्न मिल्दैन,’ उनले भनिन्, ‘यति भनौँ, ईश्वर सामाजिक कथामा बनेको सन्देशमूलक फिल्म हो ।’

‘ईश्वर’मा उनका अलाबा पृथ्वीराज प्रसाईं, ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, सबिन बास्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, कृष्टि गुरुङ, शिशिर वाङ्देल, गीता अधिकारी लगायतको अभिनय छ । दिव्या कंगना फिल्मस्को ब्यानरमा हरिबहादुर थापाले निर्माण गरेको ‘ईश्वर’ले गाउँको कथा उठाएको छ । जसमा अनु र पृथ्वीराज जोडीका रूपमा छन् ।

anu shah (1)

म्युजिक भिडियोमा धेरै देखिने अनुलाई कतिपयले भिडियोका कारण फिल्ममा पछि परेको भन्छन् । उनी भने यो मान्न तयार छैनन् । ‘म्युजिक भिडियो नखेल्ने को अभिनेत्री छन् र ?’ उनी भन्छिन्, ‘हामीले दर्शकसँग जोडिन नयाँ नयाँ काम गर्ने हो । त्यो काम ठुलो पर्दा र सानो पर्दाको भन्ने हुँदैन । अहिलेको समय सबै प्रकारको कामबाट नाम र चर्चा कमाउन सकिन्छ ।’

आफू म्युजिक भिडियोबाटै चिनिएकाले दुवैमा काम गरिरहने उनको सोच छ । यतिखेर उनलाई केही फिल्मबाट अफर आइरहेका छन्, स्क्रिप्ट हेरेर मात्रै निर्णय लिने अभ्यासमा उनी पुगेकी छन् । 

आफैँ फिल्म निर्माण गर्ने पनि उनको योजना छ । ‘फिल्म निर्माण ठुलो विषय हो । धेरै सोचेर, विचार गरेर आउँछु,’ उनी भन्छिन् ।

लामो समयदेखि अभिनेता सविन श्रेष्ठसँगको प्रेममा रहेकी अनुलाई अन्तिम प्रश्न थियो— यो जोडी सधैँका लागि एक हुने कहिले ? 

‘विवाह गर्नुपर्छ भनेर अघिल्लो वर्षदेखि नै सोचेको हो । विवाह जुर्नुपर्दाेरहेछ,’ उनले भनिन्, ‘जहिले जुर्छ, त्यतिबेलै विवाह हुन्छ ।’ 

विवाहको प्रश्नले हैरान पारेको बताउने उनी अब बिहे गरेर यो प्रश्नलाई पूर्णविराम लगाइदिने बताउँछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप