क्लासिक फिटनेसद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान
काठमाडौँ । कमलपोखरीस्थित क्लासिक फिटनेस एकेडेमी नेपालले फिटनेस तथा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । नागपोखरीस्थित आरन्य बुटिक होटलमा शनिवार एक कार्यक्रमबिच एकेडेमीले फिटनेस तथा विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरूलाई सम्मान प्रदान गरेको हो ।
फिटनेस क्षेत्रलाई वैज्ञानिक र व्यवस्थित ढङ्गबाट दक्ष फिटनेस प्रशिक्षक उत्पादन गर्ने क्लासिक एकेडेमीको मुख्य उद्देश्य रहेको सञ्चालक रोजल शाहीले बताए । सोहीअनुरूप फिटनेस क्षेत्रका सफल र अग्रज व्यक्तित्वलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको उनले बताए ।
कार्यक्रममा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका उपाध्यक्ष विजयलाल कायस्थ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका सचिव दिनेश राजभण्डारी, काठमाडौँ शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष सुरेश सुवेदी, ललितपुर शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष प्रज्वलनमान शाक्य, भक्तपुर शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष ज्ञानेन्द्र मानन्धरलाई सम्मान प्रदान गरिएको थियो ।
यस्तै, व्यायाम व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष शोभा गुरुङ, नेपाल उद्योग वाणिज्य सङ्घ, काठमाडौँका कार्यकारी सदस्य एवं आईआईएफटी स्कूल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका प्रबन्ध निर्देशक तेन्जिङ शेर्पा र युवा व्यवसायी तथा केज फिटनेस सेन्टरका सञ्चालक उज्वलकृष्ण श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
प्रशिक्षण कार्यक्रमका सञ्चालक एवम् वरिष्ठ सल्लाहकार राज शाही थिए भने प्रशिक्षणको आकर्षणको रूपमा भारतका दक्ष प्रशिक्षक डा. चिराग सेठी र भावना गुप्ता थिए । प्रशिक्षणको विषय ‘इफेक्ट अफ हरमोनेश अल एक्सरसाइज एन्ड पर्फमेन्स र रोल अफ फिटनेस प्रोफेसनल’ रहेको छ ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय प्रशिक्षण संस्थाको रूपमा रहेको क्लासिक फिटनेस एकेडेमी अमेरिकन काउन्सिल एक्सरसाइजबाट मान्यता प्राप्त संस्था हो । क्लासिक फिटनेस एकेडेमी नेपालले नेपालमै पहिलोपटक यस्तो प्रशिक्षण सञ्चालन गरेको रोजल शाहीले बताए । यस्ता अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणले बेरोजगारी समस्यासमेत केही हदसम्म हल गर्ने उनको भनाइ छ ।