स्वप्निल स्मृतिका तीन कविता
१) सुँगुर विद्रोह
कोही मलाई फकाइरहेछ फेरि पनि स्वर्ग जान ।
स्वर्गभन्दा सुन्दर हिमालमुनि छ–
इन्द्रको दरबारजत्तिकै सुन्दर मेरो सानो सुँगुर–खोर,
यसलाई उधिन्दै छ÷भत्काउँदै छ
राक्षसजस्तो एउटा डोजर ।
कि यही खोरबाट छेडेर हिमाल÷समुद्र
तोपभन्दा खत्तरनाक बुलेट रेल आइरहेछ ।
त्यही रेल चढेर स्वर्ग जान कोही मलाई फकाइरहेछ ।
फेरि पनि अस्वीकार छ स्वर्ग जान फेरि पनि–
नामेट पारेर आफ्नो अस्तित्व
फेरि पनि अस्वीकार छ ।
कि यो बञ्जर धर्ती मैले उधिनेर
लसुन रोपिखाएका हुन् सिबेरा एक्थुनामाहरूले
यो शून्य आकाशमा मैले थुतुनो जोतेर
उड्न सिकेका हुन् पुष्पक यानमा रावणहरू
मैले त तरुल, कन्दमूल मात्र खन्न सिकाएथेँ
अविच्छिन्न जीवनका लागि,
तर कोही स्वर्ग गइरहेछ हिरामोतीको सारा खानी कुम्ल्याएर ।
मैले खनेको जङ्गली पिँडालु आगोमा पड्किँदासम्म ठीकै थियो
तर त्यैबाट सिकेर बनाएको परमाणु बम
पड्काएर पृथ्वीमा कोही स्वर्ग गइरहेछ ।
फेरि पनि अस्वीकार छ स्वर्ग जान फेरि पनि–
नामेट पारेर आफ्नो अस्तित्व
एकदम अस्वीकार छ ।
(सिबेरा एक्थुनामा : मुन्धुमअनुसार पहिलो खेतीपाती गर्ने मानव पुर्खा ।)
२) आँधीको आख्यान
सर्वप्रथम त
कालो नीलो क्षितिजबाट
बिजुलीको चम्किलो हस्ताक्षर आइपुग्यो
र प्रत्येकको निधारमा लेखिदियो क्रान्ति
त्यसपछि चट्याङग्रस्त पहाडबाट
‘गल्र्याम्म !’
रूखहरू ढलेको आवाज आइपुग्यो
क्रमशः बतासमा तैरिँदै
शिरीषको फूल र पतझडको पतिङ्गर आइपुग्यो
फूलको सुगन्ध आइपुग्यो
अन्ततः हजार वर्षको सन्नाटा सोहोर्दै
सहरमा आँधी आइपुग्यो ।
जब आँधी आइपुग्यो सहरमा
हजार वर्षसम्म सन्नाटा पुजेर बस्नेहरूको
घर–घरमा छिर्यो
भोकमरीमय भान्साकोठाका थाल, बटुका, राखनधारन
ईश्वरविहीन पूजाकोठाका सर्पदेवताका थान, पूजाका थाली
ऐशआरामशून्य सिटिङ रूमका ऐना, फूलदानी, महाराजको तस्बिर
सप्पैसप्पै ल्याङफ्याङ फाल्दियो र
घोर अशान्ति मच्चाइदियो ।
जब आँधी आइपुग्यो
हजार वर्षसम्म एउटै कुरा सत्य मान्ने
बुद्धिजीवीहरूको पुस्तकालयमा पस्यो
पल्टाउँदै फररर... धर्म, इतिहास र संविधानका पुस्तक
यति छिटो पढ्यो कि के बुझ्यो कुन्नि ?
गड्यामगुडुम लडायो–
किताबले भरिएका दराज–टेबल
उनीहरूको सत्य त्यहीँ थिचिएर मर्यो ।
सहरमा आँधी आइपुग्दा
जुम्रा मारिरहेको थियो न्यायपालिका
सरकार शान्तिको लैबरी गाइरहेको थियो
राष्ट्र निर्माताको जन्मोत्सवमा
सहरवासी मैनबत्ती जलाइरहेका थिए
भुस्याहा कुकुरहरू
आलस्यमा लडिरहेका थिए यत्रतत्र
राष्ट्रप्रमुख आफ्नो जन्मदिनको उपलक्ष्यमा
मुलुकवासीलाई बडो प्रेमले सम्बोधन गरिरहेको थियो ।
जब आँधी आइपुग्यो सहरमा
आँधीको पदचापले गर्जियो आकाश धर्ती
पानीको छिटाले हिर्काउन थाल्यो मानिसको अनुहार
हावाको गतिले धकेल्न थाल्यो मानिसको चेतना
मन्दिरका गजुर, बिजुलीका पोल
चोकचोकमा टाँगिएका प्रजातन्त्रका होर्डिङ बोर्ड
चौबाटोबिच उभिएको बादशाहको सालिक
दरबारको बार्दलीमा सुकाइएका बादशाहका लुगाफाटा
बादशाहले सडकमा बिछ्याएको सुशासनको बिस्कुन
सप्पैसप्पै उडाइदियो आँधीले
कि ती फगत कसिङ्गर थिए ।
जब आँधी आइपुग्यो सहरमा
शोकमा सधैँ झोक्राइरहेजस्तो राष्ट्रिय झन्डा
जोडजोडले फर्फराउन थाल्यो ।
०००
३) यदि बालापन फर्किने भए..
.
यदि बालापन फर्किने भए
म
तुरुन्तै गाउँ फर्किन्थेँ ।
समुद्रपारिको भाइरसले ह्याङ भएर
साइबर क्याफेको डस्बिनमा फ्यालिएको मस्तिष्क
‘वेभ क्याम’मा छिल्लिरहने पन्ध्र यू.एस. डलरकी ई–प्रेमिका
उपभोक्ता लडी मर्ने भीरजत्रा सुपर मार्केट
ढुङ्गासमान यो मुटु
अम्लीय वर्षाजस्तै यी आँसु
चिहानघारी बराबर यो सहर
छोडेर सप्पैसप्पै थोक
म त्यो दुर्गम इलाकातिर जान्थेँ ।
खोलालाई सुन्थेँ
हिमाललाई देख्थेँ
पहाडलाई अँगालो हाल्थेँ
सहरमा
फूलको बिरानो बाँच्नुभन्दा
गाउँमा काँडाको साथी बन्थेँ ।
यदि बालापन फर्किने भए
उमेरको साँपले पच्चीस फन्को बेरिएको म
तुरुन्तै मुक्त हुन्थेँ
र आमाको स्नेहमा लाख फन्को बेरिन्थेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन