बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

तरकारी खेतीबाट नाम र दाम दुवै

शनिबार, १२ साउन २०८१, ११ : ४१
शनिबार, १२ साउन २०८१

गलकोट । कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका-९ तित्याङका पदम खत्री यतिबेला तरकारीखेतीमा रमाएका छन् । तरकारी खेतीबाटै स्वरोजगार बनेका उनी जिल्लामा उत्कृष्ट किसानका रुपमा सम्मान समेत पाइसकेका छन् ।

कृषि ज्ञान केन्द्र बागलुङले खत्रीलाई गत धान दिवसमा उत्कृष्ट किसानका रुपमा नगदसहित सम्मान गरेको थियो । घर निर्माणलगायतका काममा मजदुरी गर्ने उनी १५ वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय रहेका छन् । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती सुरु गरेका खत्री यतिबेला जिल्लाकै  सफल किसानका रुपमा परिचित रहेका छन् । उनले अहिले १८ रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । उनीसँग फर्ममा आठवटा साना र ठूला प्लाष्टिक टनेल छन् । 

अधिकांश दौतरीहरु पैसा कमाउन विदेश पलायन भए पनि खत्री भने तरकारी खेतीमै सक्रिय रहेका छन् । तरकारी खेतीबाट नाम र दाम दुवै हुन थालेपछि विदेश जाने योजना कहिल्यै नबनेको उनले सुनाए । “तरकारी खेतीबाटै वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी भइरहेको छ”, उनले भने, “तरकारी खेतीबाटै नाम र दाम हुन थालेपछि विदेश जानुपर्ने बाध्यता कहिल्यै आएन ।” उनले तरकारीखेतीबाटै परिवारको खर्च, बालबच्चाको पालनपोषण भइरहेको बताए । उनले हालसम्म एक दर्जनभन्दा बढी संस्थाबाट प्रोत्साहनस्वरुप पुरस्कार प्राप्त गरिसकेका छन् ।

“एक रोपनी जग्गाबाट सुरु भएको तरकारीखेती अहिले १८ रोपनीमा पुगेको छ । अहिले दाम मात्रै हैन नाम समेत कमाउन थालेको छु, पहिला वडामा मात्रै कृषक भनेर चिन्थे अहिले जिल्लाभर कृषकको परिचय फेरिएको छ”, उनले भने, “पाँच रोपनी आफ्नै र अन्य जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आएको छु ।” 

अहिले खत्रीको टनेलमा टमाटर, सिमी, काक्रो, काउली, बन्दालगायतका तरकारी उत्पादन भइरहेका छन् । खत्रीले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारी खेती गरिरहेका छन् ।  आठवटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक टनेल र अन्य परम्परागत टनेल रहेको बताउँदै खत्रीले नगरपालिकाको तरकारीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत आधुनिक टर्नेल निर्माण भइरहको जानकारी दिए । 

खत्री एग्रो फार्ममा हालसम्म रु १२ लाख लगानी गरिसकेका छन् ।  उनले कृषि ज्ञान केन्द्रबाट प्लाष्टिक टनेल निर्माण र विऊ बिजनमा सहयोग प्राप्त भइरहेको जानकारी दिए । हाल उनले तरकारी खेतीसँगै ब्रोइलर कुखुरा र भेडापालन पनि गरेका छन् । उनले एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप