मानव मस्तिष्कको तागत
ब्रह्माण्डमा जति पनि वस्तु छन्, ती सबै वातावरणीय अनुकूलताको संयोगका कारण छन् । जे–जे छैन, त्यो अनुकूलताको संयोग नमिलेर छैन । तसर्थ, वातावरणीय अनुकूलताको संयोग मिल्यो भने जेसुकै कुराको उत्पत्ति र विकास सम्भव हुन्छ । संयोग नमिल्दा असम्भव हुन जान्छ । जस्तो कि, विश्वको गर्मी ठाउँमा पाइने फलफूल वा बोटविरुवा आदि हिमाली क्षेत्रमा पाइँदैनन् । र, हिमाली क्षेत्रमा पाइने फलफूल/बोटविरुवा गर्मी ठाउँमा पाइँदैनन् । नजिक हुने वा टाढा, बन्ने वा भत्किने, राम्रो हुने वा खराब, बल्ने वा निभ्ने, उज्यालो हुने वा अँध्यारो, होचो हुने वा अग्लो, कालो हुने वा गोरो, सफल हुने वा असफल आदि सबै संयोगको परिणाम हो ।
ब्रह्माण्ड र यसभित्रका यावत् कुरा कुनै दैवी शक्तिको योजनाबद्ध रचना हैनन् । ती त केवल वातावरणीय अनुकूलताको संयोगका कारण उत्पत्ति र विकास हुँदै अस्तित्वमा आएका हुन् । यसर्थ, वातावरणीय संयोग नमिलेको भए कुनै पनि वस्तुको अस्तित्व निर्माण हुने थिएन । र, वातावरणीय संयोगमा गडबड भए जुनसुकै वेला अस्तित्व सखाप हुनेछ ।
‘संयोगको नियम’लाई मान्छेसँग जोडेर हेर्दा प्रारम्भमा वातावरणीय अनुकूलताको संयोगले एककोषीय जीवको विकास सम्भव भयो । अनि वातावरणीय अनुकूलताको संयोगले नै बहुकोषीय जीव विकास हुन सकेको हो । बहुकोषीय जीवको विकाससँगै सेल (कोष) बाट एक ‘स्वचालित जैविक मेसिन’ जस्तो मान्छेको विकास हुन पुगेको हो । जसरी सानो तार मात्र चुँडिए पनि विद्युतीय मेसिनले काम गर्न छोड्छ, ठीक त्यस्तै हो जीवन पनि ।
तपाईं र मेरो जन्म पनि संयोगवश नै प्राप्त भएको हो । आज हामी जस्तो छौं, बाबुआमाले पहिला नै हाम्रो स्केच (नमुना) बनाएर ठ्याकै त्यस्तै जन्माएका होइनन् । यसर्थ, वातावरणीय अनुकूलताको संयोग नमिलेको भए मान्छे नामको प्राणी मात्र होइन, यो ब्रह्माण्ड नै अस्तित्वमा आउने थिएन । तपाईं र म कोही पनि अस्तित्वमा आउन सम्भव थिएन । स्मरण रहोस्, संयोग क्रिया र प्रतिक्रियाले निर्माण गर्दछ । त्यसकारण, अब कुनै पनि कुरालाई रहस्यमय मानेर पूजा गर्नुपर्ने स्थिति रहेन । विज्ञानले अस्तित्वमा रहेका सबै कुराको प्रमाणसहितको जवाफ पेश गरिसकेको छ ।
खैर, धातु वा अन्य वस्तुबाट बनेका पार्टपुर्जाबाट निर्मित यान्त्रिक मेसिनहरूले जोत्ने, खन्ने, वस्तु उत्पादन गर्ने, बनाउने, भत्काउने, रोप्ने, पकाउने, तताउने, चिस्याउने, गुड्ने, उड्ने, धुने आदिइत्यादि काम गर्दछन् । मेसिन युगको पछिल्लो विकसित रूप हो– ‘एआईबेस्ड रोबोट’ । मानव निर्मित मेसिनले निश्चित विधि, प्रणाली र प्रक्रियामा रहेर काम गर्दछ । त्यस्ता मेसिनहरू जुन प्रयोजनका लागि बनाइएको हो, त्यसैमा सीमित हुन्छन् ।
पछिल्लो समय विकास गरिएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डिप मेसिन लर्निङ्गले निश्चित विधि र प्रणालीद्वारा निर्देशित भई धेरै काम गर्न सक्दछ । तर, मान्छे नामको प्रजाति त्यस्तो होइन, यसको मस्तिष्कले आफै नयाँनयाँ कुरा सृजना गर्न सक्दछ । प्रकृतिका नियम पत्ता लगाउने सामथ्र्य राख्दछ । आफ्नो लक्ष्य, योजना र गन्तव्य आफै निर्माण गर्न सक्षम छ । आफै समस्याको समाधान दिन सक्दछ । उपयुक्त र अनुपयुक्त, अगाडि र पछाडि, दायाँबायाँ, तलमाथि आदि काम आफै गर्न सक्दछ । प्रश्न गर्न सक्ने, खोज–अनुसन्धान र शिक्षा हासिल गर्न सक्ने, दार्शनिक, वैज्ञानिक, लेखक आदिइत्यादि बन्न सक्ने खुबी हरेक मान्छेमा समान रूपमा हुन्छ ।
मान्छेले विशिष्ट क्षमताका कारण नै आजसम्म आइपुग्दा नविनतम खोज–अनुसन्धान र आश्चर्यजनक आविष्कारमार्फत् ज्ञान–विज्ञानको विकास गर्न सकेको हो । जसरी यान्त्रिक मेसिनको निर्माणमा विभिन्न धातु तथा गैरधातुका पार्टपूर्जा जोडिएको हुन्छ, ठीक त्यस्तै मानव शरीर पनि विभिन्न जैविक पार्टपूर्जा जोडिएर बनेको हुन्छ । हाड, मासु, छाला, रगत, विभिन्न तन्तु र कोषिकाहरू । त्यसभित्र पनि हात, औँला, खुट्टा, पेट, आन्द्रा, मुटु, मृगौला, फोक्सो, कलेजो, छाती, मेरुदण्ड, खपर, मस्तिष्क, आँखा, नाक, मुख इत्यादि । परन्तु, यो शीर्षकमा केवल मानव मस्तिष्कका बारेमा मात्र संक्षिप्तमा कुरा गर्ने छु । किनकि, मस्तिष्ककको मूलभूत पक्ष बुझेपछि धेरै हदसम्म जीवन स्वतः बुझिन्छ ।
प्राणीका लागि सबैभन्दा महत्त्वपूर्ण अङ्ग भएर पनि आमरूपमा मस्तिष्कले यौनाङ्गको जति पनि महत्त्व पाएको छैन । फेरि यो स्वाभाविक पनि हो, मानव सभ्यताको विकासक्रममा यौनाङ्गलाई सबैभन्दा महत्त्वपूर्ण र गोप्य अङ्गका रूपमा बुझाइयो । त्यसकारण, यौनका बारेमा मान्छे यति उत्सुक र जिज्ञासु बन्यो, मानौँ जीवन भनेकै यौन (प्रेम) हो ।
हालसम्मका अध्ययनले यो प्रमाणित गरेको छ कि मानव शरीरको मात्र होइन, ब्रह्माण्डकै सबैभन्दा महत्त्वपूर्ण र आश्चर्यजनक वस्तुमध्येको एक हो, मानव मस्तिष्क । मानव मस्तिष्कमा पनि सबैभन्दा महत्त्वपूर्ण कुरा हो, अग्रगामी चेतना । अग्रगामी चेतना छ त मान्छेको अस्तित्व रहन्छ, छैन त रहँदैन । कुनै समय चिम्पाञ्जीको स्तरमा रहेको आजको मान्छेमा एकपछि अर्को गर्दै अग्रगामी चेतना विकास भएकाले नै ऊ आज ब्रह्माण्डमाथि नै नियन्त्रण गर्न सक्ने ठाउँमा पुगेको हो । ब्रह्माण्डमा धेरै प्रजातिका प्राणी छन्, तर उनीहरूसँग मान्छेको जस्तो अग्रगामी चेतना छैन । त्यसकारण, उनीहरू केवल प्राकृतिक स्वभावअनुसारको गतिविधिमा मात्र सीमित छन् । यदि अग्रगामी चेतना नहुँदो हो त मान्छे पनि केवल अन्य प्राणीजस्तै यथास्थितिमा बाँचिरहेको हुने थियो ।
म भनेको के हो ? म भनेको केवल चेतना हो । चेतना नहुँदो हो त म भन्ने शब्द विकास नै हुने थिएन । म शब्दको स्रोत चेतना हुनु र यसको प्रयोग मान्छेले मात्र गर्नुले पनि यस कुराको पुष्टि हुन्छ । हरेक मान्छेले आफूलाई ‘म’ भनेर चिन्दछ । तर, म भनेको उसको हात हो ? खुट्टा हो वा के हो ? मान्छेको शरीरमा भएको त्यो चिज ‘म’ होइन, जुन नहुँदा पनि ऊ बाँच्न सक्छ । जस्तो कि शरीरबाट खुट्टा अलग गर्दिने हो भने पनि मान्छेले म त जिउँदो छु भन्छ नि । हात अलग गरे पनि म त मरेको छैन भन्छ । यो सन्दर्भमा शारीरिक अपाङ्गता भएका मान्छेलाई उदाहरणका रूपमा लिन सकिन्छ । एवं प्रकारले एकएक गर्दै शरीरबाट अङ्ग निकाल्दै जाने हो भने पनि चेतना रहुन्जेल मान्छेले म भन्न छोड्दैन । मानव शरीरबाट हातखुट्टा अलग गर्ने हो भने मान्छेले ‘मेरो हातखुट्टा छैन’ भन्छ । तर, ‘म छैन’ भन्दैन ।
दुख्ने, पोल्ने, पीडा हुने, मायाप्रेम, आनन्द, दया, करुणा, सहयोगी भावना, रिस, डाह, कुण्ठा सबै कुरा चेतना हुँदा मात्र सम्भव छ । मृत शरीरमा दनदनी आगो बल्दा पनि नपोल्नु यसको प्रमाण हो । यसलाई अर्को कोणबाट भन्दा कुनै समय सूर्यले पृथ्वीलाई परिक्रमा गर्छ भनिन्थ्यो र आम मान्छेले पनि त्यसैमा विश्वास गर्दथे । त्यो पनि चेतना नै हो । तर आज पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने वैज्ञानिक तथ्यमा विश्वास गरिनु पनि चेतना नै हो । तर, यी दुइटा चेतनामा कुनचाहिँ ठीक चेतना हो ? ठीक चेतना पक्रन र पछ्याउन सक्नुचाहिँ सही चेतना हो । उन्नत चेतना मानव मस्तिष्कको सबैभन्दा विशिष्ट पक्ष हो । त्यसकारण, यो पुस्तक मानव मस्तिष्काका यावत् गतिविधिकै वरिपरि केन्द्रित छ । चाहे त्यो सामाजिक, राजनीतिक होस् वा विज्ञान–दर्शन, चाहे परिवर्तनका कुरा हुन् वा यथास्थितिका । सबै चेतना अर्थात् मस्तिष्कसँग अन्तरसम्बन्धित छन् । अतः मस्तिष्कका बारेमा न्युनतम बुझाइ विकास गर्न सके यस पुस्तकको छलफलमा पेश गरिएका तथ्य, तर्क र निष्कर्ष पहिल्याउन र पक्रिन सहज हुने छ । तसर्थ, यो पुस्तकको प्रारम्भ नै मस्तिष्कमाथिको छलफलबाट गरेको हुँ ।
मस्तिष्क प्राणीको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो । विभिन्न वैज्ञानिक निष्कर्षका अनुसार वयस्क मान्छेको मस्तिष्कको सरदर तौल १२ सयदेखि १४ सय ग्राम हुन्छ । मान्छेको मस्तिष्कको लम्बाइ १५ सेन्टिमिटरसम्म हुन्छ । भरखरै जन्मिएका बालबालिकाको मस्तिष्कको सरदर तौल ३ सयदेखि ४ सय ग्रामसम्म हुन्छ । मानव मस्तिष्कमा करिब एक खर्ब न्युरोन रहेको विश्वास गरिन्छ । मानव मस्तिष्क सम्भावनाले भरिपूर्ण हुन्छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्टक (एनआइएच) का अनुसार मस्तिष्क विज्ञहरूको एक समूह हो । मस्तिष्कका सबै भागले एकसाथ र सँगसँगै काम गर्दछन् । तर ती हरेकको फरकफरक विशेष जिम्मेवारी हुन्छ । मानव मस्तिष्कमा करिब २.५ पेटाबाइट क्षमता हुन्छ (मेदान्त, क्यापसिटी अफ ह्युमन बे्रन) । १ पेटाबाइट भनेको १ मिलियन जिगाबाइट (जिबी) हो । अतः २.५ पेटाबाइट भनेको करिब २५ लाख जिबी हो । मानव मस्तिष्कको क्षमता ठीक ढङ्गले बुझ्न कम्प्युटरको क्षमतासँग तुलना गरेर हेर्दा सहज हुन्छ । २५ लाख जिबी भनेको ५ सय जिबी क्षमताको ५ हजारवटा ल्यापटपको हो । यसको अर्थ एउटा मान्छेको मस्तिष्कमा ५ हजारवटा ल्यापटपको बराबर क्षमता हुन्छ ।
मानव मस्तिष्क कम्प्युटरजस्तै हो, जे प्रोग्राम हाल्यो त्यही चल्छ । जसरी नहालेको प्रोग्रामका बारेमा कम्प्युटर बेखबर हुन्छ र त्यसलाई अस्वीकार गर्दछ, ठीक त्यस्तै मान्छेको मस्तिष्कले पनि जति नै राम्रो किन नहोस्, मस्तिष्कमा नहालिसकेको प्रोग्राम (ज्ञान) अस्वीकार गर्दछ । किनकि, त्यस्तो मस्तिष्क नयाँ कुरासँग बेखबर छ । प्राणीका लागि मस्तिष्क आफैमा पाइलट हो । तर, यत्रो अपार क्षमता र सम्भावना आफैभित्र हुँदाहुँदै पनि नबुझेर प्रायः मान्छेले मस्तिष्कलाई ठीक ढङ्गले प्रयोग नै गर्दैन । मस्तिष्कको प्रयोग भएन भने त्यो रोगी हुन्छ र खुम्चिन थाल्दछ । मस्तिष्क रोगी भएपछि मान्छेको जीवन बर्बाद हुन पुग्छ । यो नै आम मान्छेको दुर्गतिको कारण हो । मस्तिष्कको ठीक प्रयोग नहुँदा अधिकांश क्षमता र सम्भावना उपयोगविहीन भएर खेर गइरहेको छ । यो अवस्था भनेको भाँडो नथापी पानी खोलेर धारा खुला राखेजस्तै हो ।
मानव मस्तिष्कसम्बन्धी वैज्ञानिक अनुसन्धानबाट प्रमाणित हजारौँ तथ्य छन् । परन्तु, यहाँ पुस्तकको विषयवस्तुसँग सम्बन्धित पाँचवटा रोचक तथ्य मात्र पेश गर्दछु :
१. मानव मस्तिष्क सम्भावनाको भण्डार हो ।
२. मस्तिष्कले काल्पनिकता र वास्तविकता छुट्याउन सक्दैन ।
३. मस्तिष्कले एकपटकमा एउटा मात्र काम गर्न सक्छ ।
४. मस्तिष्कले फाइल बनाउँछ र म्याच भए मात्र बुझ्छ र स्वीकार्छ ।
५. शरीरलाई जस्तै स्वस्थ मस्तिष्कका लागि पनि व्यायाम जरुरी हुन्छ ।
पहिलो, मानव मस्तिष्क सम्भावना नै सम्भावनाले भरिएको भण्डार हो । आजसम्म आइपुग्दा यो पुष्टि भइसकेको छ कि हिजोका मान्छेको चेतनाले कल्पनासमेत गर्न नसकेको कुरा आजको चेतनाले कल्पनाभन्दा पनि अगाडि बढेर सम्भव तुल्याएको छ । यो कुरा तपाईंमध्ये कतिपयले अहिले आएर बल्ल थाहा पाउनुभयो होला । तर, इशापूर्व ४०० ताका नै दार्शनिक प्लेटोले भनेको कुरा हो यो । प्लेटोले भनेका छन्, ‘यथार्थ मस्तिष्कले सृजना गर्ने हो । त्यसकारण, तपाईंलाई लागेको यथार्थ परिवर्तन गर्न चेतना परिवर्तन गर्नुस् ।’
दोस्रो, मान्छेको मस्तिष्कले के काल्पनिक र केचाहिँ वास्तविक हो, छुट्याउनै सक्दैन । यसको अर्थ जति नै भ्रमित, कपोलकल्पित र अति नै काल्पनिकता किन नहोस्, त्यसलाई वास्तविकताकै रूपमा ग्रहण गर्न पुग्दछ । डरलाग्दो कथा सुन्दा डरले टाउको फुलेजस्तो हुनु, कागति खाएको कल्पना गर्दा जिब्रोमा थुक रसाउनु आदि यसका उदाहरण हुन् ।
तेस्रो, मान्छेको मस्तिष्कले एकपटकमा एउटा मात्र काम गर्न सक्दछ । जति नै आपत किन नपरोस्, एकपटकमा एउटा मात्र पाइला चाल्न सक्छ । एकपटकमा एउटा पुस्तकको एक शब्दमात्र पढ्न सक्छ । मान्छेका हात त दुईवटा छन् नि ! तर, एकपटकमा एउटा हातले मात्र लेख्न सक्छ । कि त दायाँ कि त बायाँ, कि त तल कि त माथि, कि त पढ्ने कि त लेख्ने, कि त अगाडि कि त पछाडि । एकैपटकमा दायाँबायाँ, तलमाथि, अगाडिपछाडि, सकारात्मक–नकारात्मक, परिवर्तनकारी–यथास्थितिवादी बन्न नसक्नु यसका उदाहरण हुन् ।
चौथो, मस्तिष्कले तपाईंले देखेका, भोगेका, सुनेका र पढेर स्वीकारेका सबै कुरालाई फाइल बनाई राख्छ । जसरी कम्प्युटरमा फाइल सेभ गरिन्छ त्यसरी नै मस्तिष्कले फाइल बनाएर राख्दछ । फाइल बनेर बसेको कुरासँग तपाईंले प्राप्त गरेको ज्ञान म्याच भएमात्र मस्तिष्कले झट्टै बुझ्छ र स्वीकार्दछ भने म्याच नभएमा अस्वीकार गर्न प्रयास गर्दछ । जस्तो कि, तपाईंले आफ्नो मातृभाषा र्फरर बोल्न सक्नुहुन्छ र सहजै बुझ्नुहुन्छ तर अन्य देशको भाषा बोल्न त के, बुझ्न पनि सितिमिति सक्नुहुन्न । किन त ? किनकि, त्यो देशको भाषा तपाईंको मस्तिष्कमा फाइल बनेर बसेकै छैन ।
पाँचौँ, शरीरलाई जस्तै स्वस्थ मस्तिष्कका लागि पनि व्यायाम जरुरी हुन्छ । मस्तिष्कको व्यायाम नयाँनयाँ कुरा सिक्दा र प्रयोग गर्दा हुन्छ । यसको अर्थ जसरी शारीरिक व्यायाम नगर्दा मान्छे अस्वस्थ हुन्छ, ठीक त्यस्तै नयाँनयाँ कुरा नसिक्दा मस्तिष्क रोगी हुन पुग्छ । वैज्ञानिक तथ्यले भन्छ– दैनिक नयाँनयाँ कुरा सिक्दा र काम गर्दा मस्तिष्कको आवश्यक मात्रामा व्यायाम हुन पुग्छ र बढ्छ । नसिक्दा÷नगर्दा खुम्चिन्छ । नयाँ कुरा सिक्दा मात्र न्युरोनको सक्रियता बढेर विद्युतीय गतिशीलता तीव्र हुन पुग्छ ।
परन्तु, प्राणीका लागि सबैभन्दा महत्त्वपूर्ण अङ्ग भएर पनि आमरूपमा मस्तिष्कले यौनाङ्गको जति पनि महत्त्व पाएको छैन । फेरि यो स्वाभाविक पनि हो, मानव सभ्यताको विकासक्रममा यौनाङ्गलाई सबैभन्दा महत्त्वपूर्ण र गोप्य अङ्गका रूपमा बुझाइयो । त्यसकारण, यौनका बारेमा मान्छे यति उत्सुक र जिज्ञासु बन्यो, मानौँ जीवन भनेकै यौन (प्रेम) हो । यौनसँगै सम्बन्धित भएर दुनियाँमा ठूलठूला फिल्म बनेका छन्, उपन्यास लेखिएका छन् ।
ठूलठूला युद्ध, हत्या र आत्महत्याका घटना समेत यही कारण हुने गरेका छन् । दुनियाँमा सबैभन्दा हेरिने र सुनिने मात्र होइन, बिक्री हुने कुरा पनि यौन नै हुनुपर्छ ! कथा, कविता, साहित्य, गीत–सङ्गीत त प्रायः यसैको वरिपरि सृजना गरिएको पाइन्छ । आमरूपमा सृजनाको केन्द्रमा माया–प्रेम हुनुले पनि यसैको पुष्टि गर्दछ । तर, मस्तिष्कका बारेमा यस्तो केही भएको सुन्नु–देख्नुभएको छ ? छैन ।
त्यसकारण, वर्तमान विश्व र यसपछिको मानव सभ्यता ठीक ढङ्गले अगाडि बढ्न आमरूपमा मस्तिष्कले महत्त्व पाउनुपर्दछ । मस्तिष्कका बारेमा फिल्म बन्नुपर्दछ । साहित्य लेखिनुपर्दछ । गीत–सङ्गीत बन्नुपर्दछ । स्कुल तहदेखि नै मस्तिष्कका बारेमा बालबालिकालाई पढाउनु र बुझाउनुपर्दछ । किनकि, अबको मानव सभ्यताको केन्द्रमा मस्तिष्क हुने छ । सृजना, आइडिया, इनोभेसन र आविष्कार सभ्यताको प्रमुख विशेषता हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो