‘पुरुषहरू सचेत भएको घरकै महिलाले अधिकार र अवसर पाउँछन्’
१३ वर्षकै उमेरमा अनेरास्ववियुको स्कुल प्रारम्भिक कमिटी अध्यक्ष बनेकी थिइन्, कमला पराजुली । अहिले उनी राष्ट्रिय महिला आयोगमा अध्यक्ष छन् । आज जहाँ छन्, यहाँसम्म आइपुग्न कमलाको संघर्षको कथा आफ्नै प्रकृतिको छ ।
आईएको परीक्षा दिँदा उनी तीन महिनाकी सुत्केरी थिइन् । परीक्षा परेका दिन बच्चा हेर्नका लागि उनका श्रीमान्ले अफिस बिदा लिन्थे । परीक्षा दिएर फर्कँदा दुधको धाराले उनको चोलो पूरै भिजेको हुन्थ्यो ।
आईए पढ्दा छोरोलाई पनि सँगै लिएरै क्याम्पस जान्थिन् । क्लास अफ भएका साथीले उनको छोरो हेरिदिन्थे । १०–११ महिना जति छोरालाई सँगै लिएर हिँडिन् । यसरी पढ्न गाह्रो भयो, त्यसैले वर्ष दिन नपुगेको छोरालाई माइतीमा आमाको जिम्मामा छाडेर उनी काठमाडौँ आइन् ।
‘छोरालाई माइतीमा छाडेपछि मलाई झनै पीडा हुन थाल्यो । दुध गानिएर खप्नै सक्दिनथेँ,’ कमला आफ्नो कलेज जीवन सम्झन्छिन्, ‘स्नातक पढ्दा पनि एक महिनाकी छोरी काखमा च्यापेर हिँड्थेँ ।’
काठमाडौँमा दुई सन्तान हुर्काउँदै पढ्न उनका लागि सहज थिएन । छोराछोरीलाई खुवाउन–पियाउन, दिसा–पिसाब स्याहार्न, थाङ्ना धुन— आदि कामले गर्दा उनले पढ्ने फुर्सदै पाउँदिनथिन् ।
जति दुःख भए पनि पढ्छु भनेर काठमाडौँ आएकी उनलाई पढाइ छाड्न मन भएन । उसो त उनले पढाउने सर्तमै बिहे गरेकी थिइन् । एसएलसी दिएपछि हुनेखाने परिवारबाट उनलाई माग्न आउनेको कमी भएन । त्यो जमाना अर्थात् ०४० सालमा एसएसली दिएकी केटीको गाउँ–समाजमा इज्जतै बेग्लै थियो ।
‘आमाले झाँसीकी रानीको उदाहरण दिएर मलाई साहसी बन्न प्रेरित गर्नुहुन्थ्यो । इन्दिरा गान्धीको उदाहरण दिएर भन्नुहुन्थ्यो— यस्तै विश्वले मान्ने बन्नुपर्छ, मिहिनेत पढ्नुपर्छ,’ कमला भन्छिन्, ‘मेरो पहिलो प्रेरणाको स्रोत नै मेरी आमा हुनुहुन्छ ।’
‘आमाले भन्नुहुन्थ्यो— छोरी ! जग्गा–जमिन, सुन आदि सधैँ आफ्नो नहुन सक्छ, तर विद्या र ज्ञान सधैँ आफ्नो हुन्छ । त्यसैले पढ्नुपर्छ, बिहे गरेर पनि पढ्ने अवसर मिल्छ भने पढ्नुपर्छ,’ कमला आफ्नो प्रगतिको सम्पूर्ण श्रेय आफ्नी आमालाई दिन्छिन् ।
आमाका ती वचन कमलाका मनमा गढेका थिए । बिहेको कुरा चलिरहेकै बेला उनले परिवारलाई भनिन्— बिहेपछि पनि पढाउने केटा पाए मात्रै बिहे गर्छु ।
यसरी १६ वर्षकै उमेरमा झापा तोपगाछीका प्रेम पराजुलीसँग उनको बिहे भयो । बिहेलगत्तै उनी श्रीमान्सँग काठमाडौँ आइन्, त्यतिबेला श्रीमानको काठमाडौँमै सरकारी जागिर थियो । २०४८ सालमा केही माग गर्दै निजामती कर्मचारीले आन्दोलन गरेका थिए, त्यतिबेला उनका श्रीमान् २१ दिन आमरण अनशन बसेका थिए । यही कारण उनका श्रीमानको जागिर खोसियो । यही बेला घर–खर्च चलाउन कमलाले लुगामा सितारा भर्ने काम गरिन् । गार्मेन्टबाट कपडा ल्याएर एउटामा मोती वा सितारा भर्दा पाँच रुपैयाँ आउँथ्यो । दुई वर्षकी छोरी हेर्दै यस्तो काम उनले चार महिनाजति गरिन् ।
०००
पढ्नुपर्छ भन्ने प्रेरणा उनले आमाबाट पाएकी हुन् । औपचारिक अध्ययन नगरे पनि पण्डित परिवारमा जन्मेकी उनकी आमा (दुर्गादेवी वस्ती बराल)ले माइतीमै अक्षर चिन्ने अवसर पाएकी थिइन् । अक्षर चिनेर मात्रै उनी रोकिइनन् । दक्षिण सिमानाको नजिकै घर भएकाले कमलाका बुवाले दिनमान लगायत पत्रिका र पुस्तकहरू घरमा लैजान्थे । हिन्दी बुझ्ने र अक्षर चिन्ने कमलाकी आमाले घरधन्दा सकेर बाँकी रहेको समयमा ती पत्रिका तथा पुस्तक पढ्थिन्, पढ्दापढ्दै मनमा लागेका कुरा छोरी कमलालाई सुनाउँथिन् ।
‘आमाले झाँसीकी रानीको उदाहरण दिएर मलाई साहसी बन्न प्रेरित गर्नुहुन्थ्यो । इन्दिरा गान्धीको उदाहरण दिएर भन्नुहुन्थ्यो— यस्तै विश्वले मान्ने बन्नुपर्छ, मिहिनेत पढ्नुपर्छ,’ कमला भन्छिन्, ‘मेरो पहिलो प्रेरणाको स्रोत नै मेरी आमा हुनुहुन्छ ।’
- कांग्रेसमा आस्था राख्ने बुवा
मोरङको कानेपोखरीमा २०२५ असार १५ गते जन्मेकी कमलाले सानैदेखि राजनीतिक माहोल पाइन् । कांग्रेसको सिद्धान्तमा आस्था राख्ने उनका बुवा (वासुदेव वस्ती)ले स्थानीय स्तरमा राजनीति गर्थे । अहिले पनि उनका बुवाले कांग्रेसलाई मत दिन्छन् ।
राजनीतिक आस्थाको कुरा गर्दा कमलाको परिवार इन्द्रेणी थियो, विभिन्न विचारबाट प्रभावित बुवाहरू आपसमा मिलेरै बसेका थिए । ‘तीन भाइ बुवाहरूमध्ये मेरो बुवा (जेठा) कांग्रेस, माइलो बुवा कम्युनिस्ट र कान्छाबुवा पञ्चायती व्यवस्थाको समर्थक हुनुहुन्थ्यो,’ कमला भन्छिन्, ‘मेरो बुवालाई भेट्न आउने मानिसहरूले पञ्चायती व्यवस्थाविरुद्ध कुरा गर्थे । मैले थाहा पाउँदादेखि नै हाम्रो घरमा राजनीतिक चहलपहल हुन्थ्यो ।’
‘छोरालाई माइतीमा छाडेपछि मलाई झनै पीडा हुन थाल्यो । दुध गानिएर खप्नै सक्दिनथेँ,’ कमला आफ्नो कलेज जीवन सम्झन्छिन्, ‘स्नातक पढ्दा पनि एक महिनाकी छोरी काखमा च्यापेर हिँड्थेँ ।’
कांग्रेसमा आस्था राख्ने बाउकी छोरी भएर पनि कमलाले अखिलबाट राजनीति गर्नुमा रोचक संयोग छ । त्यतिबेला कक्षा १० मा पढ्ने निर्मला बराल अखिलको प्रारम्भिक कमिटीमा अध्यक्ष थिइन् । पढाइमा अब्बल रहेकी निर्मलाको नेतृत्व क्षमताबाट स्कुलका अधिकांश विद्यार्थी प्रभावित थिए । १२–१३ वर्षकी कमला पनि उनको प्रभावमा पर्न पुगिन् ।
निर्मलाले एसएसली दिएर स्कुल छाडेपछि प्रारम्भिक कमिटीको जिम्मेवारी १३ वर्षीया कमलामाथि आइलाग्यो । कमिटी पुनर्गठन गर्दा सबैले अध्यक्ष कमलालाई नै बनाउन जोड गरे । यसरी कक्षा ८ मा पढ्दादेखि नै उनले औपचारिक रूपमा राजनीतिमा पाइला राखिन् ।
उनले अखिलबाट विद्यार्थी राजनीति गर्दा पनि उनका बुवाले केही भनेनन् । ‘मेरो बुवामा कताकताबाट एउटा छाप परेको रहेछ— कम्युनिस्टहरू अनुशासित र मेहनती हुन्छन्,’ कमला भन्छिन्, ‘म त निर्मला दिदीबाट प्रभावित भएर अखिल भएकी थिएँ, बुवाले केही भन्नुभएन । बुवाले मलाई मोदनाथ प्रश्रितका देवासुर संग्राम, नारी बन्धन र मुक्ति लगायत पुस्तक पढ्न दिनुभएको थियो । उहाँमा व्यक्तिगत स्वतन्त्रतालाई बुझ्ने चेत छ ।’
- १३ वर्षमा गरेको त्यो भाषण
२०३८÷०३९ सालतिर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको ठुलो आमसभा थियो, बेलबारीमा । भर्खरै प्रारम्भिक कमिटीको अध्यक्ष भएकी कमलाले त्यस आमसभामा गएर भाषण गर्नुपर्ने भयो ।
उनको भाषणको आशय यही थियो— छोरा र छोरीलाई अंश र वंशको समान अधिकार हुनुपर्छ । छोरीले पनि छोरासरह काजकिरिया गर्ने अधिकार हुनुपर्छ । छोराले काजकिरिया गर्ने भएकाले समाजमा छोराको महत्त्व बढी भएको हो । महिलालाई नग्न ढंगले विज्ञापनमा प्रयोग गर्नु हुँदैन ।
योसँगै उनले शैक्षिक अधिकारका कुराहरू गरेकी थिइन् । यो भाषण उनलाई गुरु बराल (हालका एमाले नेता)ले सिकाएका थिए । त्यतिबेला गुरुले त्यतै वरिपरि पढाउँथे ।
कमलाले त्यतिबेला जस्तो भाषण गरेकी थिइन्, सोही अनुसार नै उनका बुवाले चार बहिनी छोरीहरूलाई केही अंश दिएका छन् । हुन त उनको घरमा त्यसअघि नै छोरीलाई अंश दिने चलन बसेको रहेछ । ‘मेरी एउटी फुपू र तीन भाइ बुवाहरू हो,’ कमला भन्छिन्, ‘तीन भाइ र एक छोरीलाई मेरो हजुरबुवाले अंश दिनुभएको थियो ।’
- पहिलो महिनावारी र पहिलो सन्तान
गर्भवती कमला बिहानै दुध किन्नका लागि लाइनमा बसेकी थिइन् । दुध लिएर आएपछि उनलाई बेथा लाग्न थाल्यो । तैपनि उनले जसोतसो खाना बनाइन् । आफूलाई के भइरहेको छ भन्ने १७ वर्षीया कमलाले खासै भेउ पाएकी थिइनन्, जे भइरहेको थियो, त्यो उनको पहिलो अनुभव थियो । यस्तो अवस्थामा सम्झाउने कोही महिला उनको साथमा थिएनन् ।
डेरामा श्रीमान् र देवर थिए । श्रीमान्को जागिर थियो, देवर (फणीन्द्र पराजुली, जो अहिले न्यायाधीश छन्)ले पढ्दै थिए ।
श्रीमानका साथी (युवराज घिमिरे)को दम्पती नजिकै डेरा गरेर बस्थे । युवराजकी श्रीमतीलाई कमलाले उर्मिला भाउजू भनेर सम्बोधन गर्थिन् । बेथाले चाप्दै गएपछि कमलाका श्रीमानले उर्मिलालाई बोलाए र तीनजना भएर पाटन हस्पिटल गए । गएकै दिन उनले छोरालाई जन्म दिइन् । हस्पिटलमा दुई रात बसेर घरमा आएपछि उनका लागि खाना बनाउने र खुवाउने कार्य श्रीमान र देवरले गरे । न्वारनपछि भने उनले घरधन्दा सम्हाल्न थालिन् ।
कमलाले जनसेवा मावि रमाइलोबाट २०४१ सालमा एसएलसी पास गरेकी हुन् । स्कुल घरदेखि केही पर भएकाले कक्षा ८ देखि १० सम्म पढ्दा उनी फुपूदिदीको घरमा बसेकी थिइन् । त्यहीँ बस्दा उनको पहिलो महिनावारी भएको थियो । त्यतिबेला पनि उनको गाउँतिर त्यति धेरै कट्टरता थिएन । यद्यपि उनले आफूले खाएको थाल धुने, एउटा कोठामा अलग्ग बस्ने गरिन् ।
- राजनीति र साहित्य
पढाइ सँगैसँगै कमलाको राजनीतिक यात्रा पनि जारी रह्यो । विचार माझिँदै र उमेर परिपक्व हुँदै गएपछि उनी साहित्य तथा लेखनमा पनि लागिन् ।
पाटन क्याम्पसमा आईए पढ्दाताका उनी स–साना सङ्गठनमा आबद्ध भएकी थिइन् । आरआर क्याम्पसमा बीए पढ्दा (२०४४–०४६) भने स्ववियुको चुनाव लडेर कोषाध्यक्ष भइन् ।
पद्मकन्या क्याम्पसबाट एमए (२०५०–५२) गर्नुअघि नै अर्थात् २०४७ देखि उनी अनेम सङ्घ काठमाडौँ जिल्ला समितिको सदस्य भएकी थिइन् । पछि अनेम सङ्घको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सदस्य, केन्द्रीय प्रशिक्षण विभागको सचिव हुँदै पार्टीको विभिन्न पदमा रहेर काम गरिन् ।
यही बिचमा उनले नवयुग मासिकको सम्पादन टिममा रहेर समेत काम गरिन् । प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य, जनसाहित्य मञ्च नेपालको केन्द्रीय उपाध्यक्ष र सञ्चारिका समूह नेपालको केन्द्रीय उपाध्यक्षको भूमिका पनि निभाउन भ्याइन् । यसरी उनले विगत ३० वर्षदेखि निरन्तर मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएकी छिन् ।
कथा, उपन्यास, निबन्ध लगायत गरी हालसम्म उनका ६ वटा कृति प्रकाशित छन् । अहिले उनले एउटा नारीवादी उपन्यास लेखिरहेकी छन्, नाम भनेक जुरेको छैन । पत्रपत्रिकामा उनका लेख–रचना छापिइरहेकै हुन्छन् ।
उनलाई हाम्रो अन्तिम प्रश्न थियो— महिला आयोगमा बसेर हेर्दा नेपाली महिला दिदीबहिनीको अवस्था कस्तो देख्नुहुन्छ ?
‘अहिले महिलाका लागि उजुरी गर्ने संरचना छन्, कानुनी व्यवस्था छन् । तर यो भनेको अस्पताल खोलेको जस्तो हो, जहाँ जान मानिस बिरामी हुनुपर्छ । यस्तै, उजुरी दिने संरचना भनेका त हिंसा वा अन्याय भएपछि जाने ठाउँ हो,’ कमला भन्छिन्, ‘हिंसा वा विभेद हुनै नदिनतिर हामी लाग्नुपर्छ । यसका लागि महिलालाई शिक्षा दिएर आत्मनिर्भर बनाउनुपर्छ ।’
उनको बुझाइमा, महिलालाई आत्मनिर्भर बनाउन पहिलो भूमिका घरमा पुरुषकै रहन्छ । आफ्नी छोरी, बुहारी वा पत्नीलाई आत्मनिर्भर बनाउने चेतना पुरुषहरूमा पनि हुनुपर्छ ।
‘पुरुषहरू सचेत भएको घरकै महिलाले अधिकार र अवसर पाउँछन् । मेरो बुवाले राजनीति गर्नुहुँदैनथ्यो भने मैले पढ्न पाउने थिइनँ । बुवाको प्रभाव आमामा पनि पर्यो । तत्कालीन समाज अनुसार मेरी आमाले पनि विभेदहरू सहनुभयो तर मलाई पढाउन प्रेरित गरिरहनुभयो ।’
केही समयअघि उनले प्रहरीको तथ्याङ्क हेरेकी थिइन् । त्यस तथ्याङ्कमा सबैभन्दा बढी हिंसा भोग्ने महिला निरक्षर र सामान्य लेखपढ रहेछन् । स्नातकभन्दा माथि पढे–लेखेका महिलाले निकै कम हिंसा भोगेको त्यस तथ्याङ्कले देखाउँछ । ‘यसको अर्थ पढेका महिलाले न्याय र विभेद बुझेका हुन्छन्, उनीहरू सोही अनुसार आफूलाई विकास गर्छन्, प्रस्तुत हुन्छन्,’ कमला शिक्षामै जोड दिन्छिन्, ‘यसो हुँदा शिक्षा अनिवार्य छ ।’
अस्ति भर्खरै उनी कालिकोट, जुम्ला र मुगु पुगेर आइन् । त्यहाँ उनले आफ्नी आमाले पनि नभोगेको अवस्था देखिन् । उनी भन्छिन्, ‘मेरी आमाले पनि नभोगेको विभेद अहिले त्यहाँका महिलाहरूले भोगिरहनुभएको छ । मलाई त्यस्तो अनुभूति भयो । त्यहाँ पुग्दा मलाई अर्कै संसारमा गएजस्तो भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका सरोजका परिवारले बुझे शव
-
तिहार मनाउने खर्चको जोहो गर्न राउटे पोखरामा
-
भारतीय सेना प्रमुख द्विवेदीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्दै
-
पार्टीप्रति आक्रोश बढेको रास्वपाको निष्कर्ष : कस्तो हो आन्दोलनको नयाँ स्वरूप ?
-
भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज
-
ठगी मुद्दा फरार प्रतिवादी पक्राउ