शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
तस्करी

कोशी प्रदेश : भन्सार राजस्व असुलीमा निरन्तर कमी

सशस्त्र प्रहरी र जनपथ प्रहरीको नेतृत्व परिवर्तन हुनेबित्तिकै किन हुन्छ राजस्व छलीका सामान बरामदमा घटबढ ?
शनिबार, १२ साउन २०८१, ०६ : १६
शनिबार, १२ साउन २०८१

विराटनगर । केही दिन यता मोरङ, सुनसरी र झापामा तस्करी बढेको जनगुनासो छ । प्रहरी अधिकारीहरू बिचमै बेमेल भएको कुरा पनि सार्वजनिक भइरहेकै छन् ।

खुला बोर्डरका अतिरिक्त प्रहरी प्रशासनले आँखा चिम्लिदिँदा तस्करलाई मलजल गरेकै छ । तथ्याङ्कले पनि विगत केही महिनादेखि तस्करी मौलाउन थालेको देखाउँछ ।

केही वर्ष यता विराटनगर भन्सार कार्यालयको मात्रै होइन मेची भन्सार, भद्रपुर भन्सार, सुनसरी भन्सार कार्यालयको राजस्व असुली पनि घटिरहेको छ । यस्तै नेपाल प्रहरीले भन्सार चोरी पैठारीबाट असुली गर्ने राजस्व पनि घटेको छ । सशस्त्र प्रहरीको गत वैशाख महिनासम्म बरामद सामानको मूल्य अत्यधिक देखिए पनि जेठ र असारदेखि आधाले घटेको छ । त्यही तथ्याङ्कलाई हेर्दा पनि दुई महिना यता तस्करी बढेरै राजस्व घटेको हुन सक्ने आशङ्कालाई मलजल गरिरहेको छ ।

सशस्त्र प्रहरीलाई अवैध सामान बरामद गर्ने जिम्मेवारी र अधिकार छ । सीमा क्षेत्रमा हुने चोरी, तस्करी र अवैध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी उसको पनि हो । उक्त कार्यालयमा पनि कार्यालय प्रमुख फेरिने बित्तिकै अवैध सामान बरामदको अवस्था धेरै घटबढ हुने गरेको छ ।

तथ्याङ्क अनुसार २०७९ फागुन २१ गते सशस्त्र प्रहरी बल, नेपाल बराह बाहिनीका प्रमुख बनेर आएका डीआइजी अन्जनी पोखरेल २०८१ वैशाख १८ गते सरुवा भएर गए । उनले १४ महिना १२ दिन बाहिनी प्रमुखका रूपमा काम गरे । उनले कमाण्ड सम्हालेको अवस्थामा चैत, वैशाख, जेठ र असारमा मात्रै २२ करोड १३ लाख ७६ हजार ७४९ रुपैयाँ बराबरको सामान बरामद भएको थियो ।

जबकि त्यही आर्थिक वर्षको अन्य ८ महिनामा जम्मा १४ करोड १० लाख ८० हजार १८९ रुपैयाँको मात्रै सामान बरामद भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०-०८१ को १० महिना (वैशाख महिनासम्म) सम्ममा पोखरेल नै रहँदा ४७ करोड २० लाख ८२ हजार ५२३ रुपैयाँ बराबरको सामान बरामद भयो । जुन प्रतिमहिना औसतमा ४ करोड ७२ लाखभन्दा बढी हुन्छ ।

गत आर्थिक वर्ष झनै बढेर ५४ करोड ७ लाख ४६ हजार ८२९ रुपैयाँ बराबरको सामान बरामद भएको थियो । डीआइजी अन्जनी पोखरेलले आफू १४ महिना रहँदामात्रै झण्डै ७० करोड बराबरको सामान बरामद गरेका थिए । उनीभन्दा अघिल्ला डीआइजीहरूको पालामा यति धेरै सामान बरामद हुँदैन थियो ।

त्यसपछि सशस्त्र प्रहरी कोशी प्रदेश प्रमुख भएर शम्भु सुवेदी आए । उनी आएको २ महिना (जेठ र असार)मा जम्मा ६ करोड ८६ लाख ६४ हजार ३०६ रुपैयाँ बराबरको मात्रै सामान बरामद भयो । पोखरेल हुँदा २०७९–८० को जेठ र असारमा मात्रै पनि १२ करोड ३१ लाख ३२ हजार ७४६ रुपैयाँ बराबरको सामान बरामद भएको थियो । आधाजसो बरामदी राजस्व घट्नुको कारण के हो भनेर स्वाभाविक प्रश्न उठेको छ ।

आर्थिक वर्षकै हिसाबका आधारमा हेर्ने हो भने पनि सशस्त्र प्रहरीले ०७७-७८ मा १२ करोड ६५ लाख बराबरको सामान बरामद गरेको थियो । आर्थिक वर्ष ०७८-७९ मा १६ करोड १७ लाख ९७ हजारको बरामद गर्दा आर्थिक वर्ष २०७९-८० मा एकैपटक बढेर ३६ करोड २४ लाख ५६ हजार ९३८ रुपैयाँको बरामद गरेको थियो ।

गत आर्थिक वर्ष झनै बढेर ५४ करोड ७ लाख ४६ हजार ८२९ रुपैयाँ बराबरको सामान बरामद भएको थियो । पोखरेलले आफू १४ महिना रहँदामात्रै झण्डै ७० करोड बराबरको सामान बरामद गरेका थिए । उनीभन्दा अघिल्ला डीआइजीहरूको पालामा यति धेरै सामान बरामद हुँदैन थियो ।

सशस्त्र प्रहरीकै अधिकारीहरू भन्छन्, ‘डीआइजी पोखरेलले तस्करीमा गरेको कडाईले उक्त सफलता हासिल भएको थियो । अब उक्त लक्ष्य पूरा हुन सक्ने अवस्था देखिँदैन ।’

उता, नेपाल प्रहरी पनि भन्सार चोरी तस्करी नियन्त्रणको काम गर्दै आएको छ । तर, अघिल्लो आर्थिक वर्षको तुलनामा प्रहरीको राजस्व सङ्कलनको प्रगति भने आधाभन्दा बढीले घटेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७८-०७९ मा ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

आर्थिक वर्ष २०७९-०८० मा भन्सार चोरी तस्करीका सामानबाट राजस्व सङ्कलन त्यसको दुई गुणाभन्दा बढीले वृद्धि भएर २६ करोड ९८ लाख ३८ हजार ९८० रुपैयाँ पुग्यो । त्यो राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षमा आइपुग्दा १२ करोड ३८ लाख ११ हजार २१६ रुपैयाँमा झरेको छ । २६ करोड ९८ लाख राजस्व सङ्कलन गर्दाको आर्थिक वर्षमा २०७९ असार २३ गतेदेखि २०७९ माघ १ गतेसम्म सुदिप गिरी, त्यसपछिको दुई महिना श्यामलाल ज्ञवाली र त्यसपछिको ३ महिना राजेशनाथ बाँस्तोला कोशी प्रदेश प्रहरी प्रमुख थिए । उनै बाँस्तोला गत आर्थिक वर्षको माघ महिनासम्म कार्यरत थिए । त्यसपछि चन्द्रकुबेर खापुङ कोशी प्रदेश प्रहरी प्रमुख छन् ।

भन्सार कार्यालयको पनि राजस्व निरन्तर घट्दो

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७७-०७८ मा ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व सङ्कलन गरेको थियो । उक्त राजस्व असुली लक्ष्यको ८८ दशमलव ४५ प्रतिशत थियो । त्यसयता भने राजस्व सङ्कलनको अवस्था झनै खस्किरहेको छ । आर्थिक वर्ष २०७८-०७९ मा ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार अर्थात् लक्ष्यको ८१ दशमलव ४१ प्रतिशतमात्रै सङ्कलन भयो । आर्थिक वर्ष २०७९-०८० मा ३३ अर्ब १३ करोड ६६ लाख ६० हजार अर्थात् ५५ दशमलव २० प्रतिशतमात्रै सङ्कलन हुन सक्यो ।

गत आर्थिक वर्ष २०८०–०८१ मा विराटनगर भन्सार कार्यालयले ५० अर्ब ८१ करोडको लक्ष्य राखेको थियो । तर राजस्व सङ्कलन भने अघिल्लो आर्थिक वर्षको भन्दा ३ अर्बले कमी आउँदै ३० अर्ब ३५ करोड रुपैयाँ अर्थात् लक्ष्यको ६० प्रतिशत मात्रै भयो ।

मेची भन्सार कार्यालयले पनि आर्थिक वर्ष २०७९-०८० मा १४ अर्ब ४ करोड ५ लाख ९२ हजार राजस्व सङ्कलन गरेको थियो । जुन लक्ष्यको ७० दशमलव १५ प्रतिशत थियो । यस्तै गत आर्थिक वर्ष २०८०-०८१ मा अघिल्लो आर्थिक वर्षको लक्ष्य घटाउँदै १८ अर्ब २५ करोड ७८ लाख ६८ करोडको ७८.४० प्रतिशत अर्थात् १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भयो ।

भद्रपुर भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८०-०८१ मा १२ करोड ७ लाख ७९ हजार राजस्व उठाउने लक्ष्य लिइएको थियो । तर, भन्सार राजस्व भने ११ करोड ८१ लाख ५२ हजार ६३४ रुपैयाँ असुली भयो ।

उता सुनसरी भन्सार कार्यालयबाट पनि राजस्व असुली लक्ष्य अनुसार भएन । तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०-०८१ मा १ अर्ब १७ करोड ४३ लाख ७३ हजार राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । तर, राजस्व सङ्कलन भने त्यसको ३४.९६ प्रतिशत अर्थात् ४१ करोड ५ लाख १७ हजारमात्रै भयो ।

कसरी हुन्छ तस्करी ?

तीन जिल्लाबाट गाईगोरु, मटर, चाइनिज स्याउ, सुपारीलगायत भारततर्फ तस्करी हुने गरेको छ । भारतबाट धान, गहुँ लगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामानलागयत भन्सार छली गरेर नेपाल भित्रिने गरेको छ । मोरङमा भारतसँग सीमा जोडिएको ५२ किलोमिटर छ । ५२ किलोमिटरमा तीन दर्जन बढी सीमा नाका छ ।

झापाको सचिघट्टा, राइसिङ पुल, बाउनडाँगी एरिया, मेची डाँडा, साधु गौडाको तिरिङ एरिया, बाउनडाँगीकै चौकी एरियाबाट तस्करी हुने गरेको छ । यस्तै सुनसरीको भाण्टाबारी, देवानगञ्ज, कप्तानगञ्जको सिमा क्षेत्रबाट मनग्ये चोरी पैठारी हुने गरेको छ ।

तस्करीको लाइन सबैभन्दा बढी विराटनगरको दक्षिण क्षेत्र मटिअर्वा, दक्षिण गेट, दरैया नाका पर्दछ । यसैगरी पूर्वमा रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागञ्ज र खैरबना नाकादेखि खाद्यवस्तु तस्करी हुने गरेको पाइएको हो । रतुवामाई नगरपालिकाको सिक्टी र धनपालथान गाउँपालिकाको मायागञ्ज, खैरवनादेखि लाखौँ रुपैयाँको सामान खुलेआम तस्करी हुने गरेको छ ।

यस्तै झापाबाट गुट्काको कच्चा सामान, कपडा, सीटीसी चिया, युरिया मल पनि तस्करी हुने गरेको छ । भारततर्फ नेपालबाट गाईगोरुको मनग्ये चोरी तस्करी हुने गरेको प्रहरी अधिकारीहरू नै बताउँछन् ।

झापाको सचिघट्टा, राइसिङ पुल, बाउनडाँगी एरिया, मेची डाँडा, साधु गौडाको तिरिङ एरिया, बाउनडाँगीकै चौकी एरियाबाट तस्करी हुने गरेको छ । यस्तै सुनसरीको भाण्टाबारी, देवानगञ्ज, कप्तानगञ्जको सिमा क्षेत्रबाट मनग्ये चोरी पैठारी हुने गरेको छ ।

बिहान २ देखि ३ बजे र रातिको ११ देखि १२ बजेको समयमा तस्करीमा लागेका क्यारिङ गर्नेले भरियालाई निश्चित रकम दिएर मोटसाइकल र अटोमा सामान ओसार्ने गरिएको सुरक्षा स्रोत नै दाबी गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप