१० बजे, १० समाचार
आज मिति २०८१ साल साउन महिनाको ११ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१.मौद्रिक नीति सार्वजनिक
सरकारले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत निरन्तरता दिइएको गभर्नर अधिकारीले जानकारी दिए । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरू तर्जुमा गरिएको उनले बताए ।
समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिहरूबिच तादात्म्यता कायम गरिएको पनि उनले बताए ।
२. विदेशी मुद्राको सञ्चिति थुप्रिएपछि
विदेशी मुद्राको सञ्चिति थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो नीति केही खुकुलो बनाएको छ ।
कोरोना महामारीलगायतका कारण सृजना हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले विदेशी मुद्राको व्यवस्थापन गर्न कडा नीति अङ्गीकार गर्दै आएको थियो ।
तर, चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यसअघिको कडा नीतिलाई केही खुकुलो बनाएको हो ।
थप समाचार
३. विमान दुर्घटना अपडेट
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव आफन्तले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट पाँच शव आफन्तले बुझेका हुन् ।
अस्पतालका अनुसार अहिलेसम्म को–पाईलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, श्याम विन्दुकर र राजाराम आचार्यको शव आफन्तले बुझेका छन् । अन्य केही आफन्तले भने बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न मानेका छैनन् ।
क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरूको माइन्ड अलर्ट हुन नसकेको पनि उनको अनुमान छ ।
४. माओवादी बैठक
नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाउने भएको छ ।
यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको सो पार्टीले नेताहरूको व्यवस्थापन गर्न सकस भएपछि केन्द्रीय सदस्यको सङ्ख्या १० प्रतिशत बढाउन लागेको हो ।
५. टीआरसीको सवाल
सङ्क्रणकालीन न्याय सम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्याउने उद्देश्यले गठित सहजीकरण कार्यदलको शुक्रबार बसेको बैठक टुङ्गोमा पुग्न सकेन ।
हालसम्म चार वटा बैठक बसेको उक्त कार्यदलले फेरि दुई दिनको भाका राखेको छ । विधेयकमा सहमति जुटाउन गठित सहजीकरण कार्यदलले आउँदो सोमबार सरोकारवालाहरूसँग एक चरण छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिने बताएको छ ।
६. गौशाला २६ को निवेदन
नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा पुनरावेदन नगर्न भन्दै पीडित ‘गौशाला २६’ले निवेदन दर्ता गरेकी छन् ।
गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर उनले लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा अब सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन लिखित निवेदन मार्फत माग गरेकी हुन् ।
७. कोशीमा माओवादी सत्ताबाहिर
नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर र पर्यटन राज्यमन्त्री वन्दना झागरले राजीनामा बुझाएका हुन् ।
८. लुम्बिनीमा कलह
लुम्बिनी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार गठन गरेसँगै दुवै दलभित्र कलह बढेको देखिएको छ ।
सरकारको नेतृत्व गरेको एमालेभित्र संसदीय दलका नेता लीला गिरीलाई पन्छाएर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि प्रदेशमा आन्तरिक कलह बढेको हो ।
९. हैजाबाट सावधान
काठमाडौँ उपत्यकामा पछिल्लो समय तीन जनामा हैजा पुष्टि भएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ को एक पुनस्र्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशङ्कामा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएका थियो । ती चार जनामध्ये तीन जनामा हैजा पुष्टि भएको हो ।
१०. ठमेल र दरबारमार्गको व्यवसाय
ठमेल र दरबारमार्ग क्षेत्रका रेष्टुरेन्ट, दोहोरीसाँझ र अन्य व्यवसायीमा अहिले उत्साह छाएको छ । गत वैशाखमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौँको ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने घोषणा गरेसँगै यहाँका व्यवसायमा सकारात्मक प्रभाव देखिन थालेको छ ।
चौबिसै घण्टा खुला गर्नुअघि ती क्षेत्रका व्यवसायीले अनेक समस्या झेल्दै आएका थिए । राति अबेरसम्म खोलेको भन्दै प्रहरीले दुःख दिने, ग्राहक आइरहे पनि राति अबेरपछि पसल बन्द गर्न लगाउने, खाइरहेका ग्राहकलाई समेत उठाएर रेष्टुरेन्ट बन्द गर्नुपर्ने जस्ता समस्या झेलेका व्यवसायी अहिले ती समस्याबाट मुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
-
राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल
-
बबाल बुमराह, निरीह अस्ट्रेलियाको टप अर्डर !