सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

पत्रकारसँग मुख्यमन्त्रीको आधा घण्टा : एक्लै भएको भए अनिल कपुरकै स्टाइलमा अघि बढ्थेँ !

बाटो सुधारको अभियानमै छु: कँडेल
शुक्रबार, ११ साउन २०८१, २२ : १४
शुक्रबार, ११ साउन २०८१

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारसँग आधा घण्टा छलफल गरे । समसामयिक विषयमा रहेर आयोजना गरिएको पत्रकार सम्मेलनमा कँडेलले आफ्नो प्राथमिकता भनेको ‘सुशासन र समृद्धि’ नै भएको प्रष्ट पारे । 

तर सो क्रममा मुख्यमन्त्री बनेको १०० दिन बितिसक्दा पनि कँडेलबाट कर्णालीबासीले जे अपेक्षा गरेका थिए, त्यो अनुसार काम हुन नसकेको विषय पत्रकारहरूले उठाएका थिए । 

छलफलमा पत्रकार चिन्तामणि शर्माले भने, ‘हामीले चाहेको तपाईं हिन्दी फिल्मको अनिल कपुरवाला मुख्यमन्त्री हो, हाम्रो अपेक्षा त्यो थियो, तपाईँले कर्णालीमा नयाँ रूपान्तरण ल्याउन सक्नुहुन्छ भन्ने आशा थियो तर, तपाईंको स्पिड अझै १ नम्बरमै छ किन ?’ 

यसअघि लगातार प्रतिपक्षमा रहेर खबरदारी गरिरहेका कँडेल सत्तामा आएपछि कर्णालीबासीले रूपान्तरण र परिवर्तनको अपेक्षा गरे पनि कँडेल उक्त कुरामा चुकिरहेको सबैजसो पत्रकारहरूको भनाइ थियो । १०० दिन बितिसक्दा कम्तिमा पनि मुख्यमन्त्री कँडेल पाँच नम्बरमा पुग्नुपर्ने तर, अझै १ नम्बरमै रहेको उपस्थित पत्रकारको भनाइ थियो । 

जवाफमा कँडेलले 'यदि एक्लै भएको भए अनिल कपुरकै स्टाइलमा अघि बढ्न सकिन्थ्यो' भने । तथापि दलीय सिस्टममा सामूहिक यात्रामा जानुपर्ने भएकाले त्यो अनुसार अघि बढ्न सकिने अवस्था नरहेको उनले बताए । 

साथै कँडेलले आफ्नो १०० दिनको अवधिमा अपेक्षित गति दिन नसकेपनि निराशाजनक नै अवस्था भने नरहेको प्रस्ट पारे । 

यसअघिका मुख्यमन्त्रीले १०० दिनको उपलब्धि सार्वजनिक गर्ने अभ्यास भएपनि कँडेलले त्यसो गरेनन्, बरु पत्रकारसँग सुझाव माग गरे । यद्यपि केही मौखिक रूपमा भने उनले आफूले गरेका कामहरूबारे जानकारी गराए । 

उनले कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन, चिपानी–वीरेन्द्रनगर ३३ केभीए विद्युत् लाइनमा भएको विवाद समाधान गर्नेदेखि २३ वटा मन्त्रिपरिषद् बैठकहरू बसेको उल्लेख गरे । 

त्यस बाहेक कँडेलका १०० दिन करिब सत्ता, सङ्घर्षमै बितेको छन् । ०८० चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले जेठ २ गते मात्रै सरकारलाई पूर्णता दिन सकेका थिए । 

त्यसपछि बिचमा चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बाहेक अरू खासै देखाउन मिल्ने कुनै काम कुनै छैन । लगत्तै राष्ट्रिय राजनीतिमा आएको फेरबदलसँगै यतिबेला पाँच वटा मन्त्रालयहरू अझै खाली छन् । 

मुख्यमन्त्री कँडेलले यो अवधिमा आफूले गरेका गतिविधि सार्वजनिक गर्न चाहना हुँदाहुँदै बदलिएको परिस्थितिका कारण हुन नसकेको जवाफ दिए । 

उनले आफू बाटो सुधारकै अभियान रहेको बताए । ‘सबैलाई नयाँ काम चाहिएको छ, परिवर्तन चाहिएको छ तर, अहिले अधिकांश पुरानै योजनालाई मूर्तरूप दिनुपर्ने बाध्यता छ,’कँडेलले भने, ‘चालु आर्थिक वर्षबाट केही नयाँ आशा जगाउने काम हुन्छ ।’

कँडेलले आफूले विगतका अभ्यास आफूमा लागु नहुने कुरा पटक–पटक प्रस्ट पारे । यद्यपि सरकार अविच्छिन्न उत्तराधिकारी भएकाले विगतका अघि सारेका गतिविधिलाई पूर्ण बनाइनुपर्ने जिम्मेवारी वर्तमान सरकारलाई रहेको उनको भनाइ छ ।

योजना आयोग रिक्त रहेको विषयमा उनले सल्लाह भइरहेका बेला परिस्थिति बदलिएकाले रिक्त भएको बताए । 

छलफलका क्रममा मुख्यमन्त्री कँडेलले अब बन्ने मन्त्रिपरिषद्को मोडालिटीमा केही चेन्ज हुने सङ्केत गरे । ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कँडेलले भने, ‘सबैले यसअघि माओवादीका मन्त्रीहरू भएको र अहिले खाली रहेको ठाउँमा भर्ने त होला भनेर चर्चा भइरहेको छ । त्यो हुँदैन, मोडिलिटी चेञ्च हुन्छ ।’

यसअघि एमाले–माओवादी नेतृत्वको सरकारमा कांग्रेसले चार मन्त्रालयको जिम्मेवारी पाएको थियो भने एमालेले तीन मन्त्रालय र एक मुख्यमन्त्री पाएको थियो ।

यद्यपि कँडेलले कानुन मन्त्रालय आफैसँग राखेर भौतिक राज्यमन्त्री बनाएका थिए । कँडेलले अब मन्त्रिपरिषद् पुनर्गठन गर्दा नयाँ तरिकाले छलफल हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप