ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्दा बढ्यो कलाकारको आम्दानी
काठमाडौँ । ठमेल र दरबारमार्ग क्षेत्रका रेष्टुरेन्ट, दोहोरीसाँझ र अन्य व्यवसायीमा अहिले उत्साह छाएको छ । गत वैशाखमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौँको ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने घोषणा गरेसँगै यहाँका व्यवसायमा सकारात्मक प्रभाव देखिन थालेको छ ।
चौबिसै घण्टा खुला गर्नुअघि ती क्षेत्रका व्यवसायीले अनेक समस्या झेल्दै आएका थिए । राति अबेरसम्म खोलेको भन्दै प्रहरीले दुःख दिने, ग्राहक आइरहे पनि राति अबेरपछि पसल बन्द गर्न लगाउने, खाइरहेका ग्राहकलाई समेत उठाएर रेष्टुरेन्ट बन्द गर्नुपर्ने जस्ता समस्या झेलेका व्यवसायी अहिले ती समस्याबाट मुक्त भएका छन् ।
यसअघि रातको १२ बजेसम्मको व्यवसायमा समेत असुरक्षित महसुस गर्दै आएका व्यवसायी अहिले रातभर खोल्दा पनि सुरक्षित महसुस गरिरहेको बताउँछन् । सीमित समय व्यवसायमा सञ्चालनका लागि राखिएका कामदारबाटै उनीहरूले चौबिसै घण्टा व्यवसाय सञ्चालन गरिरहेका छन् । त्यसरी कर्मचारीको कार्य समय बढ्दा बढेको समयको उचित पारिश्रमिक दिने गरेको व्यवसायी बताउँछन् ।
यसरी व्यवसाय गर्दा पहिलेको तुलनामा खर्च बढे पनि आम्दानी भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । तैपनि व्यवसायीहरू आफ्नो हिसाबले व्यवसाय गर्न पाएकोमा खुसी छन् ।
चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्न पाइने निर्णयले आफूजस्ता व्यवसायीलाई निकै राहत मिलेको टप राजधानी दोहोरी ठमेलका सञ्चालक प्रकाश कटुवाल बताउँछन् । ‘चौबिसै घण्टा खुला गर्ने सरकारी निर्णयका कारण पुलिसले दुःख दिने एउटा बाटो पूरै बन्द भयो,’ कटुवालले भने ‘प्रहरी पनि कोही १२ बजे, कोही २ बजे आफूखुसी बन्द गर्न आउने, दुःख दिने गर्थे । त्यो अहिले छैन ।’
अहिले निर्धक्क व्यवसाय गर्ने वातावरण बनेको कटुवाल बताउँछन् । उनले थपे, ‘२४ घण्टै व्यवसाय खुला गर्न पाइने भएपछि जुनसुकै समय मानिसको आवतजावत देखिएको छ । यसले सकारात्मक वातावरण बनेको छ ।’
प्रहरीको सिन्डिकेट पूरै हटेको, व्यवसायीले निर्धक्कसँग व्यवसाय गर्ने वातावरण बनेको र आफूलाई बल्ल व्यवसायी हो भन्ने लागेको उनले सुनाए । उनले भने, ‘धेरै लगानी गरेर व्यवसाय थाले पनि चोरेर डकैती गरेर व्यवसाय गरेकोजस्तो वातावरण थियो । त्यो अहिले हटेको छ ।’
कतिपय व्यवसायीले बढेको समय काम गर्ने कर्मचारीलाई घण्टाको हिसाबले थप गरेर पारिश्रमिक दिइरहेका छन् । त्यसरी पारिश्रमिक दिँदा पनि व्यवसायी खुसी छन् । ती व्यवसायीमध्ये एक हुन् नगरकोट दोहोरी, नर्सिङ चोक, ठमेलका विनोद श्रेष्ठ ।
विनोद खर्च केही बढे पनि ढुक्कसँग व्यवसाय गर्ने वातावरण बनेकोमा खुसी छन् । ‘बल्ल स्वतन्त्र व्यवसाय गर्ने वातावरण बनेको छ । बिस्तारै व्यवसाय पनि बढ्छ’, श्रेष्ठले भने, ‘अहिले जुनै क्षेत्रको अर्थतन्त्र न्यून छ । हाम्रोमात्र बढेन भन्न मिल्दैन ।’
प्रशासनले सुरक्षा पनि राम्रो दिएको श्रेष्ठ सुनाउँछन् । ‘आर्थिक मन्दीले रात्रिकालीन व्यवसाय लगभग बन्द हुने अवस्थामा पुगिसकेको थियो’, श्रेष्ठले भने, ‘पहिलेको तुलनामा अहिले चलायमान हुन थालेको छ ।’
वैशाख अगाडि ठमेल र दरबारमार्ग क्षेत्रमा रेष्टुरेन्ट, दोहोरीसाँझ लगायतका व्यवसाय १२ बजेदेखि २ बजेसम्ममा बन्द हुन्थे ।
कलाकारको बढ्यो आम्दानी
चौबिसै घण्टा व्यवसाय खुला गर्ने नीतिले व्यवसायीमा मात्र होइन, यस्ता व्यवसायसँग सम्बन्धित मजदुर, कलाकारमा समेत खुसी छाएको छ । निश्चित समयका लागि सीमित पैसामा काम गर्दै आएका मजदुरहरू पछिल्लो निर्णयले आम्दानी बढेको सुनाउँछन् ।को २४ घण्टाको निर्णयले आम्दानी समेत बढेको छ ।
टप राजधानी लोकदोहोरी साँझमा विगत ७ वर्षदेखि काम गर्दै आएकी गायिका सरिता बिष्ट केही महिना यता आम्दानी बढेको भन्दै खुसी देखिन्छिन् । ‘थोरै समय भए पनि एक ठाउँमा समय दिएपछि अर्काेमा समय दिन भ्याइँदैन थियो । धेरै समय खेर जान्थ्यो । आम्दानी कम थियो । अहिले त्यही ठाउँमा समय पनि बढ्यो, आम्दानी पनि’, बिष्टले भनिन् ।
पहिले पार्टटाइम काम गर्ने गरी रातको २ बजेसम्म काम गर्दै आएको बताउने उनी अहिले बिहानैसम्म काम गर्न पाएको र त्यसले आम्दानी पनि बढेको बताउँछिन् ।
दोहोरी गायिका जमुना सुनुवार पनि पारिश्रमिक बढेको सुनाउँछिन् । विगत डेढ वर्षदेखि नगरकोट दोहोरी साँझमा काम गर्दै आएकी उनी केही महिनादेखि पारिश्रमिक बढेको बताउँछिन् ।
‘पहिले गेष्ट भए पनि, नभए पनि २ बजे बन्द गर्नुपर्थ्यो । अहिले ढुक्कले खोल्न दिएको छ’, सुनुवारले भनिन्, ‘काम पनि बढ्यो । सेवा सुविधा पनि बढ्यो ।’
समय बढेसँगै नियमसम्मत् रूपमा दाम पनि बढेकाले आफूलाई पहिलेभन्दा अहिले सजिलो रहेको उनी सुनाउँछिन् । उनले भनिन्, ‘२४ घण्टाको नियम मलाई एकदमै राम्रो लाग्यो । किनभने यसले साहु र मजदुर दुवैलाई राम्रो गरेको छ ।’
खुद्रा व्यवसायी निराश
चौबिसै घण्टा खुला राख्ने निर्णयले ठमेल र दरबारमार्गका रेष्टुरेन्ट, दोहोरीसाँझ लगायतका व्यवसायमा देखिएको जस्तो खुसी त्यहाँका खुद्रा व्यवसायीमा भने देखिएको छैन ।
यो उनीहरूका लागि ‘कागलाई बेल पाक्यो हर्ष, न विस्मत’ जस्तै भएको छ । उनीहरूको दैनिक व्यवसायको तालिका जस्ताको तस्तै छ ।
उनीहरू बिहान ८ बजेदेखि साँझ १० बजेसम्म पसल खोल्ने गर्दछन् । कतिपयले त साँझ ७ बजे नै बन्द गर्छन् ।
ठमेलको कर्मचारी सञ्चयकोष भवनमा ‘काठमाडौंँ सप’ नामक फेन्सी आइटम (कपडा, ब्याग लगायत) व्यवसाय गर्दै आएका सुदीप शर्मा आफूलाई खासै फरक नपरेको बताउँछन् । विगत ८÷९ वर्ष यही व्यवसाय गर्दै आएका उनी कहिलेकाहीँ टुरिष्ट गाइड, ग्राहक लगायतले आउने पूर्वसूचना दिएको अवस्थामा राति १२÷१ बजेसम्म पसल खोल्छन् ।
‘अहिले दिउँसै त व्यवसाय छैन, राति कुरेर के गर्ने ? व्यवसाय छैन भने किन खोल्ने ?’, शर्माले भने, ‘दिउँसो भिडभाड भयो भने राति सजिलोका लागि ग्रहाक आउने हुन् । यहाँ त दिउँसै व्यवसाय छैन ।’
पहिला पहिला व्यवसाय हुँदा बिहान ६ बजेदेखि १२ बजेसम्म नियमित खोल्ने गरेको समेत उनले सुनाए ।
ज्याठा ठमेलमा ‘कस्मिरी’ नामक पस्मिना पसल सञ्चालक ऋतिक बानियाँ कहिलेकाहीँ दिनभरि एउटै ग्राहक नआउने बताउँछन् । विगत १० वर्षदेखि पस्मिना व्यवसाय गर्दै आएका उनी दिउँसै ग्राहक नआउने गरेको अवस्थामा राति झन् व्यापार नहुने भएकाले आफूलाई परिवर्तित नियमले खासै प्रभाव नपरेको बताउँछन् ।
‘अहिले बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म खोल्छु’, उनले भने, ‘व्यवसाय हुने हो भने राति पनि खोल्थेँ ।’ भारतको कस्मिर निवासी बानियाँ कस्मिरी र नेपाली सलको व्यवसाय गर्दै आएका छन् ।
के भन्छ ठमेल पर्यटन विकास परिषद् ?
होटल, रेष्टुरेन्ट, दोहोरीसाँझ, खुद्रा व्यवसायलगायत ठमेल क्षेत्रको समग्र विकास र विस्तार लागि भन्दै ठमेल पर्यटन विकास परिषद् गठन भएको छ । ठमेल र दरबारमार्ग चौबिसै घण्टा खोल्ने निर्णय ठमेलको होटलदेखि पर्यटन व्यवसायसम्म सकारात्मक प्रभाव देखिन थालेको विकास परिषदका अध्यक्ष ध्रुव अधिकारी बताउँछन् ।
‘होटल, रेष्टुरेन्ट, दोहोरीसाँझ लगायत अहिले रातभर खोल्न थालिएको छ । ती स्थानमा मानिसहरूको आवतजावत समेत बढ्न थालेको छ’, अध्यक्ष अधिकारीले ‘यसले खुद्रा व्यवसायीलाई २४ घण्टा व्यवसायका लागि प्रेरित गरेको छ ।’
बिस्तारै चौबिसै घण्टा ठमेलमा भिडभाड देखिए सबै क्षेत्र चलायमान हुने उनको विश्वास छ । ‘विश्वमा छाएको आर्थिक मन्दीले अहिले नेपालमा विदेशी धेरै पर्यटक आउन सकिरहेका छैनन्’, अधिकारीले भने ।
चौबिसै घण्टा खुल्ने निर्णयले सानादेखि ठुला व्यवसायी सबैलाई लाभ मिलेको अधिकारीको भनाइ छ । यो निर्णयले ठमेलको समग्र विकास र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण
-
पौडेल र सेयर बजारको ‘ट्युनिङ’ पनि फेल