मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

भैरहवामा सञ्चालित पाँचतारे होटल बन्द गराउने चलखेल

शुक्रबार, ११ साउन २०८१, १२ : ०३
शुक्रबार, ११ साउन २०८१

भैरहवा । गैर आवासीय नेपालीहरूको लगानी रहेको भैरहवामा सञ्चालित पाँचतारे होटेल बन्द गराउन माफियाको चलखेल सुरु भएको छ । विदेशी लगानीमा सञ्चालित पाँचतारे होटेल नेपालका माफियाको चङ्गुलमा परेर करोडौँको घाटा व्यहोरेर फर्किएको थियो । विदेशी लगानीकर्ता फर्किएर कम्पनी बन्द भएपछि अन्तर्राष्ट्रिय जगतमा हुने नेपालको बेइज्जत रोक्न गैर आवासीय नेपालीहरूले चुनौती सहेर लगानी गरेको टाइगर प्यालेसका अध्यक्ष बुद्धि सुवेदीले बताए ।

विभिन्न चुनौतीका बाबजूद होटेल र क्यासिनो नेपालको कानुन अनुसार खरिद गरी नियमानुसार सञ्चालनमा ल्याएको ३ महिना नबित्दै नेपाली माफिया फेरि चलखेलमा लागेको उनको भनाइ छ । माफियाको चलखेलकै कारण करिब ४ अर्बभन्दा बढी लगानी गरेर खरिद गरेको टाइगर प्यालेस रिसोर्टमा सञ्चालित क्यासिनो गत साउन १ गतेदेखि बन्द छ । क्यासिनो बन्द हुँदा करिब ४ सयको रोजगारी गुम्ने भएको छ भने करोडौँको सरकारी राजश्व पनि क्षति भएको छ । 

“माफियाहरूले अनलाइन पत्रिकाको प्रयोग गरी राष्ट्रसेवक कर्मचारी तथा उच्च अधिकारीहरूलाई आर्थिक चलखेलको आरोप लगाउने, निराधार हल्ला फिँजाउने, झुटा र कपोकल्पित समाचार लेख्न लगाई मानमर्दन गरिरहेका छन् यो कुरा गलत हो” होटेल सञ्चालक दीपक गौतमले भने, “आफैँले लेख्न लगाएका समाचार सामाग्री नाम मात्रका अनलाइन पत्रिकामा प्रकाशन गर्न लगाई सम्बन्धित अधिकारीलाई लिङ्क पठाई त्रास देखाउने, म्यासेजमा धम्की दिने काम भइरहेको छ । जसका कारण नियमानुसार पाउनुपर्ने क्यासिनोको लाइसेन्स रोकिएको छ ” उनले थपे, “यस्ता क्रियाकलाप अब हामीलाई सह्य छैनन् यसको कानुनी उपचारका लागी साइबर ब्युरो, प्रेस काउन्सिल र आवश्यक परे सम्मानित अदालत सम्म पुगिनेछ ।”

टाइगर प्यालेसले रोयल टाइगर रिक्रियसन प्रालिलाई लिजमा क्यासिनो सञ्चालन गर्न दिनेगर गत वैशाखमै सहमति प्रदान गरेको थियो । क्यासिनो अनुमति आवेदक कम्पनी रोयल टाइगर रिक्रियसन प्रालिले नियमानुसार प्रक्रिया पुर्‍याई तोकिएको समयमा आवेदन गरेको थियो ।

गत असार मसान्तसम्म एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको नाममा क्यासिनोको लाइसेन्स रहेको थियो । जसमा सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको ९० प्रतिशत र टाइगर काठमाडौँ इन्भेस्टमेन्ट प्रालिको नाममा १० प्रतिशत शेयर रहेको थियो ।

एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले कोभिडका कारण लामो समयसम्म क्यासिनो  सञ्चालन गर्न नपाउँदा सरकारलाई तिर्ने करिब ५१ करोड राजश्व तिर्न सकेको थिएन । त्यसका अलावा काठमाडौँमा सञ्चालित साङ्ग्रिलाको क्यासिनोको भाडा, टाइगर प्यालेसमा सञ्चालित क्यासिनोको भाडा तथा अन्य बक्यौता गरी धेरै रकम तिर्नुपर्ने भएका कारण आफैले क्यासिनो सञ्चालन गर्न नसक्ने अवस्था भएकाले सञ्चालकहरू क्यासिनो सञ्चालन नगर्ने निर्णयमा पुगेका थिए ।

एसएमएसके कम्पनी गत आर्थिक वर्षमा १ अर्ब २० करोड घाटामा थियो । सोही घाटा पूर्ति गरी कम्पनी नाफामा लैजान कठिन भएको भन्दै सबै सेयर धनीको सहमतिमा साधारण सभाले कम्पनी बन्द गर्ने निर्णय गरेको थियो । सो साधारणसभामा सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको तर्फबाट सञ्चालकहरू बुद्धि सागर सुवेदी र दीपक गौतम तथा टाइगर काठमाडौँ इन्भेष्टमेण्ट प्रालिको तर्फबाट सञ्चालक सदस्य सञ्चित श्रेष्ठको हस्ताक्षर रहेको थियो ।

साधारण सभाको सोही निर्णय बमोजिम एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले आव २०८१।८२ कालागी क्यासिनो नवीकरणको आवेदन गरेको थिएन भने रिसोर्ट सञ्चालक टाइगर वान कम्पनीलाई समयमै आफूले क्यासिनो सञ्चालन गर्न नसक्ने जानकारी थियो ।

१० प्रतिशत शेयर रहेको टाइगर काठमाडौँ इन्भेस्टमेन्ट प्रालिका तर्फबाट सञ्चालक सदस्य सञ्चित श्रेष्ठले सरकारलाई बुझाउनुपर्ने राजश्व र अन्य दायित्व लिनुभन्दा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिलाई बन्द गर्न अनुरोध गरेका थिए ।

उनकै प्रस्ताव अनुरूपमा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालि बन्द गर्न सञ्चालक सदस्यहरू बुद्धिसागर सुवेदी र दीपक गौतम सहमत भएका हुन् । नेपालको नियमकानुन अनुसार काम गर्ने र नेपालको विकासमा टेवा पुर्‍याउने असल नियतका साथ गएका गैर आवासीय नेपाली सङ्घ अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीको समूहले इमानदारीपूर्वक लाभ कर, र क्यासिनोको बक्यौताबापतको करिब ५५ करोड नेपाल सरकारलाई बुझाइसकेको छ ।

त्यतिमात्र होइन कोभिडको समयमा क्यासिनो बन्द भएर तलब नपाएका टाइगर प्यालेसका मजदुरको समस्या समेत हल गरेको छ । काठमाडौँमा रहेको होटेल साङ्ग्रिला हाल सञ्चालनमा नभएका कारण त्यहाँका मजदुर समस्या समाधान गर्न कठिन भएको सञ्चालकको भनाई छ  यद्यपि टाइगर वानमा भएको श्रमिक समस्या भने हल भएको छ ।

‘नियमित रूपमा व्यवसाय सञ्चालनमा आए मात्र अन्य समस्याहरू समाधान हुँदै जानेछन्, तर व्यवसाय नै बन्द गरेर त राज्यले के पाउला र ?’ अध्यक्ष सुवेदीले गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप