अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : उमेर हदसम्बन्धी बहस तीव्र

काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र उमेर हदसम्बन्धी बहस तीव्र बनेको छ । स्ववियूमा २८ वर्षे प्रावधान रहेको तथा कांग्रेस निकट नेविसंघमा पनि ३२ वर्षे उमेर हदको सीमा कार्यान्वयन भइसकेको अवस्थामा अखिल क्रान्तिकारीभित्र सो बहस सुरु भएको हो ।
अखिल क्रान्तिकारीको एकताको २३ औँ राष्ट्रिय सम्मेलन आगामी असोज २ देखि ५ गतेसम्म गर्ने निर्णय यसअघि नै भइसकेको छ । जेठ ३२ गते बसेको क्रान्तिकारीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेसँगै उमेर हदसम्बन्धी बहस तीव्र बनेको हो ।
अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले संगठनिक संरचनामा उमेर हद र केन्द्रीय समितिको सङ्ख्या टुंग्याउन बाँकी रहेको जानकारी दिए । ‘राष्ट्रिय सम्मेलनको सबै तयारी तीव्रताका साथ भइरहेको छ । उमेर हद र केन्द्रीय समितिको सङ्ख्या टुङ्गो लगाउन बाँकी छ । केही दिनमा टुङ्गो लाग्छ’, शर्माले भने ।
यस्तै केन्द्रीय समिति १९९ रहने कि २९९ रहने भन्नेमा पनि सहमति भएको छैन । उनकाअनुसार क्रान्तिकारीभित्र ३२ वर्षे उमेर हद राख्नुपर्ने अधिकांशको माग रहेको छ । उमेरको हदबन्दी लागु नहुँदा नेतृत्व विकासमा समस्या देखिएको नेताहरूले गुनासो गरेका छन् ।
क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले अहिलेसम्म सबै प्रदेशको बैठक सकिएको र केन्द्रीय कार्यालयको बैठक केही दिनमा बस्ने जानकारी दिइन् ।
‘प्रदेशका बैठक सकिएको छ । सांगठनिक तयारीका लागि केही दिनमा कार्यालय बैठक बसेर छिनोफानो हुनेछ’, सिंहले भनिन् ।
अहिले ९९९ सदस्य आयोजक कमिटी भनेकोमा झन्डै १२ सय पुगेको छ । पदाधिकारी १७५ जनाको रहेको छ । यसअघि २२ औँ सम्मेलन बहिस्कार गरेको पवन कार्की समूहसँग सहमति भएपछि आयोजक समितिको आकार बढेको नेताहरूले बताएका छन् । राष्ट्रिय सम्मेलनमा एक हजार ५२३ प्रतिनिधिले भाग लिने इन्चार्ज शर्माले जानकारी दिए । सबै प्रतिनिधि जिल्ला र प्रदेशबाट चुनिएर आउने उनले बताए ।
अध्यक्षका लागि महासचिव दिपेश पुन, पवन कार्की, नारायण खनाल, मदन भुल, नरेश रेग्मी, केशव रावल लगायत नेताहरूले आकाङ्क्षा देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो
-
वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै