किन बढिरहेछ, कानुन र न्याय क्षेत्रमा महिलाहरूको आकर्षण ?
राज्यका नियम–कानुनसँग जोडिएका काम–कारबाही थुप्रै हुन्छन् । एकातिर समाजमा कुनै न कुनै प्रकारको अपराध पनि भइरहेको हुन्छ, त्यसमा मुद्दा–मामिला गर्नुपर्ने हुन्छ; अर्कोतिर राज्य संयन्त्र, निजी कम्पनी वा संस्थाहरू र व्यक्तिगत जीवनमै पनि कानुनी प्रक्रियाका कामहरू हुन्छन्, त्यसैले वकिलहरूलाई सामान्यतः कामको अभाव हुँदैन ।
हामीकहाँ कानुन विषय पढ्न; कानुन र न्याय क्षेत्रमा लाग्नका लागि युवाहरूको रुचि बढ्दो देखिन्छ । कारण, कानुन र न्याय क्षेत्रमा लागेर युवाहरूले समाजमा सकारात्मक प्रभाव पार्न चाहेको देखिन्छ ।
पछिल्लो समय सफल महिला वकिल र न्यायाधीशलाई रोल मोडलका रूपमा देख्दा खासगरी किशोरी वा युवतीहरू कानुन र न्याय क्षेत्रमा प्रेरित भएको पाइन्छ ।
किन बढिरहेको छ त कानुन र न्याय क्षेत्रमा महिलाको आकर्षण ? आउनुस्, तिनलाई केलाऔँ ।
करिअर विविधता : राजनीतिक परिवर्तनहरू र भौतिक विकास क्रमसँगै महिलाहरूको शिक्षामा पहुँच बढ्दै गएको छ । करिअर खोज्ने क्रममा महिलाहरूले कानुन विषय रोजेको पाइन्छ । कानुनको अध्ययले वकालत, कानुनी परामर्श, न्यायपालिकाको सेवा र प्राज्ञिक क्षेत्रमा करिअरको अवसर दिन्छ । विकल्पहरू धेरै भएकाले पछिल्लो समय यसप्रति महिलाको रुचि बढेको देखिन्छ ।
महिलाहरू कानुनका क्षेत्रमा आफ्नो वास्तविक प्रभाव पार्न उत्प्रेरित हुन्छन्, चाहे सीमान्तकृत समूहहरूको प्रतिनिधित्व गरेर, चाहे मानव अधिकारको वकालत गरेर वा सम्पूर्ण समाजलाई फाइदा हुने कानुनी सुधारहरूमा योगदान दिएर ।
सशक्तीकरण : कानुनको अध्ययन गरेर आएका महिलाले मौजुदा कानुनको कार्यान्वयनमा पहल गर्न सक्छन् । योसँगै कानुनको सुधार र नीति निर्माणमा समेत महिलाहरूले अर्थपूर्ण भूमिका खेल्न वा योगदान दिन सक्छन् । कानुनको अध्ययनले महिलालाई व्यक्तिगत र व्यावसायिक रूपमा सशक्तीकरण गर्ने ज्ञान र सीप प्रदान गर्दछ ।
न्याय र समानताको चाहना : धेरै महिलाहरू कानुनको क्षेत्रमा रुचि राख्छन्, किनभने उनीहरूले यसलाई समाजमा न्याय, निष्पक्षता र समानता प्रवद्र्धन गर्ने माध्यमका रूपमा हेर्छन् । यस्ता महिलाहरू नै कानुनी मुद्दाहरू सम्बोधन गर्न र अरूको अधिकारको वकालत गर्नेबारे तत्पर हुन्छन् ।
सामाजिक मान्यतामा परिवर्तन : लैङ्गिक भूमिका र अवसरप्रति सामाजिक दृष्टिकोणमा परिवर्तन आइरहेको छ । यसले कतिपय महिलालाई पुरुषप्रधान पेसाको रूपमा चिनिएको वकालत पेसा गर्न प्रेरित गरिरहेको छ । यस्ता महिलाले अवरोधहरू तोड्दै छन् र कानुनी क्षेत्रमा ठुलो लैङ्गिक विविधता प्राप्त गर्न योगदान दिइरहेका छन् ।
सांस्कृतिक र सामाजिक परिवर्तन : जति महिलाहरू कानुन वा न्याय क्षेत्रमा प्रवेश गर्छन् र सफल हुन्छन्, उनीहरूले व्यापक सांस्कृतिक र सामाजिक परिवर्तनहरूमा योगदान पु¥याउँछन्, जसले लैङ्गिक समानतालाई बढावा दिन्छ, यसले पछिल्लो पुस्ताका महिलालाई कानुन व्यवसायमा लाग्न प्रेरित गर्छ ।
रोल मोडल : पछिल्लो समय सफल वकिल र न्यायाधीश महिलाहरू सकारात्मक रोल मोडलका रूपमा देखिएका छन् । उनीहरुलाई हेरेर नयाँ पुस्तालाई कानुन र न्याय क्षेत्रमा प्रवेश गर्न प्रेरणा मिलेको देखिन्छ । कतिपय सफल वकिल र न्यायाधीश महिलाहरूले नयाँ पुस्तालाई प्रेरित गरिरहेका पनि छन् ।
ऐतिहासिक विकासक्रम
२०औँ शताब्दीको उत्तराद्र्धतिर हामीकहाँ कानुनी शिक्षासहित महिलाहरूको शैक्षिक पहुँचमा क्रमिक सुधारहरू देखिए । शिक्षामा लैङ्गिक समानता प्रवद्र्धन गर्ने प्रयासले महिलालाई कानुनमा डिग्रीसहित उच्च शिक्षाका लागि ढोका खोल्यो ।
२१औँ शताब्दीको प्रारम्भमा महिला अधिकार र लैङ्गिक समानता अभिवृद्धि गर्ने उद्देश्यले गरिएका कानुनी सुधारले गति पायो । यी सुधारले कानुनी पेसामा अधिवक्ता र नीति–निर्माताका रूपमा महिलाको सहभागिताको महŒवलाई प्रकाश पारेका छन् ।
२१औँ शताब्दीको प्रारम्भमा सफल महिला वकिल र न्यायाधीशहरू कानुनी क्षेत्रमा नेतृत्व र योग्यता प्रदर्शन गर्दै रोल मोडलका रूपमा उभिए । तिनीहरूको उपलब्धिले महिलालाई कानुनको क्षेत्रमा लाग्न प्रेरित ग¥यो ।
यस्तै, अन्तर्राष्ट्रिय महासन्धि र सम्झौताहरूप्रति नेपालको प्रतिबद्धताले घरेलु कानुनी सुधारमा भूमिका खेल्दै आएको छ । यी परिवर्तनले न्याय र समानतामा लाग्न महिला लगायत कानुन व्यवसायीलाई प्रेरित गरिरहेको छ ।
अर्कोतिर विभिन्न किसिमले महिला अधिकारका आन्दोलन हुँदै आएका छन् । महिलाहरू संगठित रूपमा अर्थात् संघ–संगठनमार्फत र व्यक्तिगत रूपमा पनि आफूहरूको हक–अधिकारलाई लिएर पैरवी गरिरहेका छन् । राज्यको संविधान र कानुनहरूको कार्यान्वयनमा आवाज उठिरहेको छ । यसले समाजका विभिन्न तह र तप्कामा लैङ्गिक समानताबारे चेतना जगाएको छ ।
महिलाहरूको प्रभाव र योगदान
कानुनी क्षेत्रका बाधाहरू र रुढीगत धारणालाई चुनौती दिएर लैङ्गिक समानतातर्फ महिलाले पहल गर्दै आएका छन् । लैङ्गिक समानता, न्यायमा पहुँच र मानव अधिकारजस्ता मुद्दाहरूमा प्रभाव पार्ने नीतिहरू बनाउन वा कार्यान्वयन गर्न महिलाहरूको महŒवपूर्ण भूमिका रहँदै आएको छ । पछिल्लो समय सहर–बजारदेखि ग्रामीण क्षेत्रसम्म महिला अधिकारका विषयमा बहस भइरहेका छन् । महिलाले उजुरी गर्ने संयन्त्रहरू बढेका छन् ।
कानुन तथा न्याय क्षेत्रमा लाग्न चाहने महिलाहरूलाई राज्यले विशेष प्रशिक्षण दिनुपर्छ । उनीहरूलाई स्कुल–कलेज पढ्नदेखि अध्ययनका सामग्री प्रदान गर्न सहजीकरण गर्नुपर्छ ।
विभिन्न तहमा न्याय क्षेत्रको नेतृत्वका लागि महिलाहरूको आकर्षण बढ्दै गएको छ । रोल मोडलको रूपमा सेवा गर्दै महिलाहरूले महिलाहरूलाई कानुनमा करिअर बनाउन प्रेरित गर्छन् । महिला अधिकार र सामाजिक न्यायका मुद्दाका लागि महिलाहरूले आ–आफ्नो स्थानबाट सक्रिय रूपमा वकालत गरिरहेका छन् । यस्ता महिलाहरूले लैङ्गिक र सामाजिक असमानता कम गर्न योगदान दिइरहेका छन् ।
चुनौती
कानुन व्यवसायमा करिअर बनाउन सहज छैन । पहिले पढ्नुपर्छ, त्यसपछि कार्य क्षेत्रमा क्षमता प्रदर्शन गर्नुपर्छ । यसका लागि पनि निरन्तरको अध्ययन र खोज–अनुसन्धान आवश्यक हुन्छ ।
महिलाहरूको हकमा घर–परिवार र बालबच्चाको जिम्मेवारी बढी रहँदै आएको छ । त्यसैले करिअरलाई अगाडि बढाउन सहज छैन ।
कानुन बढाउने स्कुलहरू, ल फर्महरू र अदालतका कोठाहरू नियाल्नुस्, त्यहाँ पुरुषकै संख्या बढी देखिन्छ । छोरीहरूले कानुन पढ्दा अधिकार बढी खोज्लान् र घर गरी खान समस्या होला भनेर कतिपय अवस्थामा अभिभावकले नै निरुत्साहित गर्न सक्छन् । नेपाली समाजले करिअरभन्दा महिलाको विवाह र पारिवारिक जिम्मेवारीलाई जोड दिन्छ । यस कारण महिलालाई आफ्ना सपनाहरू पछ्याउन बाधा परिरहेको देखिन्छ ।
महिलाहरूले कार्यस्थलमा वा इन्टर्नसिपको समयमा खराब टिप्पणीहरू वा धम्कीहरूको सामना गर्न सक्छन् । यसले महिलाहरूलाई पेसागत जीवनमा लाग्न निरुत्साहन गर्न सक्छ, यसतर्फ पनि राज्य र सचेत वर्गले ध्यान दिनुपर्नेछ ।
आज पनि शिक्षामा विभेद छ । धनीले महँगो कलेज तथा स्कुलमा पढिरहेका छन्, निम्न वर्गले सरकारी स्कुल तथा कलेज पढ्नुपर्ने अवस्था छ । यसमाथि समाजमा छोरालाई महँगो स्कुल–कलेजमा र छोरीलाई सरकारीमा पढाउने चलन पनि देखिन्छ । यो अवस्थामा निम्न वर्गका महिलाले मिहिनेत बढी गर्नुपर्ने हुन्छ ।
अर्कोतिर कानुन व्यवसायमा प्रवेश गरिसकेपछि व्यावसायिक सञ्जालहरू निर्माण गर्न सक्नुपर्छ । त्यसबाट अवसरहरू हात पार्न सहज हुन्छ । विभिन्न मूल्य–मान्यताका कारण यस्ता सञ्जाल बनाउन महिलाहरूलाई पुरुषलाई जति सहज हुँदैन ।
लैङ्गिक समानता कायम गर्नका लागि संवैधानिकदेखि कानुनी व्यवस्था छन् । तर तिनको कार्यान्वयनमा महिलाहरूले विभिन्न चुनौतीहरू सामना गर्नुपर्ने हुन सक्छ ।
महिलाका लागि के गर्ने ?
हामीले यो सुनिश्चित गर्नुपर्छ कि नेपालका सबै भागका महिलाले चाहेको खण्डमा राम्रो कानुन स्कुलहरूमा पढ्न जान पाऊन् । स्कुल शुल्क वहन गर्न नसक्ने परिवारलाई राज्यले छात्रवृत्ति वा छात्रावासको व्यवस्था गर्नुपर्छ ।
महिलालाई पनि पुरुषसरह अधिकार छ भनी सुनिश्चित गर्न कतिपय कानुनी व्यवस्थाहरू परिवर्तन गर्न आवश्यक छ ।
कानुन तथा न्याय क्षेत्रमा लाग्न चाहने महिलाहरूलाई राज्यले विशेष प्रशिक्षण दिनुपर्छ । उनीहरूलाई स्कुल–कलेज पढ्नदेखि अध्ययनका सामग्री प्रदान गर्न राज्यले सहजीकरण गर्नुपर्छ ।
अर्कोतिर शिक्षकहरू, हाकिमहरू र न्यायाधीशहरूले सबैलाई निष्पक्ष व्यवहार गर्न आवश्यक छ । अध्ययन गर्ने वा काम गर्ने सिलसिलामा कुनै पुरुषबाट अनुचित व्यवहार गरेको महसुस गर्ने महिलाले सहज रूपमा आफूमाथि परेको कुरा राख्न पाउनुपर्छ, यस्तो अवस्थामा पुरुषले महसुस गरी माफी मागेर हुन्छ वा न्यायिक प्रक्रियामा जाने हो, सोही अनुसार गर्ने वातावरण सबैतिर हुनुपर्छ ।
प्राकृतिक रूपमा महिलाका केही जिम्मेवारी छन् । बच्चा जन्माउँदा उनीहरूलाई तलबसहित बिदाहरू प्रदान गर्नुपर्छ । बालबच्चा हेरचाहका लागि समय दिइनुपर्छ ताकि उनीहरूले काम गरिरहन सकून् ।
(लेखक रेसुङ्गा ल फर्म नोटरी पब्लिक, बुटवलमा अधिवक्ता छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सेना प्रमुख द्विवेदीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्दै
-
पार्टीप्रति आक्रोश बढेको रास्वपाको निष्कर्ष : कस्तो हो आन्दोलनको नयाँ स्वरूप ?
-
भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज
-
ठगी मुद्दा फरार प्रतिवादी पक्राउ
-
मिथानोल विषाक्तताका कारण लाओसमा चौथो पर्यटकको मृत्यु
-
सर्वोच्चको आदेशसँगै मापदण्ड भित्रका संरचना तत्काल भत्काउन नपाइने, के हुन्छ अबको प्रक्रिया ?