सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

‘हैजा कडा भएमा केही घण्टाभित्रै मृत्यु हुन सक्छ’

शुक्रबार, ११ साउन २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय तीन जनामा हैजा पुष्टि भएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशङ्कामा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएका थियो । ती चार जनामध्ये तीन जनामा हैजा पुष्टि भएको हो ।

हैजा कस्तो खालको रोग हो, यसबाट जोगिन के गर्नु पर्ला भन्ने विषयमा केन्द्रित रहेर  सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • हैजा कस्तो खाले रोग हो ?

हैजा भनेको एक प्रकारको व्याक्टेरियाजन्य सरुवा रोग हो । जसले विशेष गरेर झाडापखाला गराउने गर्दछ । हैजा सम्भवतः ऐतिहासिक रोगमध्ये नै पर्छ । किनकि धेरै लामो समयदेखि हामीले यसको नाम सुन्दै आएका छौँ ।

गाउँघरमा कसैलाई नराम्रो भन्न परेमा ‘हैजाले लैजान नसकेको’ भनेर गाली गरिन्छ । यसबाट नै हैजा कति घातक छ भन्ने बुझ्न सकिन्छ ।

दुई दशक अगाडि टेकु अस्पतालमा दिनमै वा घण्टामै ३० देखि ४० जना हैजाका बिरामी भर्ना हुने र जाने हुन्थ्यो । बेड खाली नहुँदा हामीले भुइँमा राखेर उपचार गर्थ्यौँ । त्यो अवस्था हाल परिवर्तन भएको छ तर नेपाललाई हैजाले छोडेको छैन ।

  • हैजा बर्खामा देखिनुको कारण के होला ?

हैजा भन्ने बित्तिकै झाडापखाला नै हो । झाडापखाला पानीजन्य रोग अन्तर्गत पर्छ । यो रोग पानी र खाने कुराबाट फैलिन्छ । खासगरी सङ्क्रमित व्यक्तिको दिसा खानेकुरासम्म आइपुग्ने र पानी प्रदूषित भइसकेपछि मानिसले सेवन गर्दा हैजा रोग लाग्दछ । बर्खामा बढी देखिनु भनेको वर्षाका समयमा पानीको मुहानमा फोहोर मिसिनु हो । केही दिन अगाडि काठमाडौँमा एक पटक बाढी नै आएको अवस्था थियो । यसले गर्दा हामीले खाने पानी फोहोर पानीसँग मिश्रित भयो । त्यहाँ विभिन्न प्रकारका रोग लगायत हैजाका पनि व्याक्टेरिया हुने सम्भावना रहन्छ ।

हाम्रो खाने बानी राम्रो छैन  । त्यसकारण विभिन्न समयमा झाडापखाला, ज्वरोको बिरामी देखिरहेका हुन्छौँ । यो मानेमा मनसुन सिजनमा अलिकति पानीको प्रदूषित पानी हाम्रो खानासम्म आइपुग्ने हुन्छ । अरु बेलामा पनि हैजाको जोखिम रहन्छ तर मनसुनमा बढी हुन्छ ।

  • हैजाका लक्षण कस्ता हुन्छन् ?

हैजाको लक्षण धेरैलाई झाडापखाला भन्ने हुन्छ र पक्कै पानी झाडापखाला नै हो । तर हैजाजस्तै अन्य सङ्क्रामक रोग पनि छन् । जसले गर्दा झाडापखाला गराउँछ । हैजाको लक्षणको मात्रैको कुरा गर्ने हो भने पहिलोमा चौलानी पानीजस्तो दिसा पटकपटक निरन्तर आउँछ । मांसपेशी बाउँडिने, विशेष गरेर पैतालाको मांसपेशी र पेटको मांसपेशी बाउँडिने हुन्छ । योसँगै बान्ता हुन सक्छ । यो तीन वटा लक्षण हैजाका बिरामीलाई विशेष रूपमा देखा पर्दछ ।

  • हैजा घातक छ ?

हैजा घातक भएकाले राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय चासोको विषय पनि बन्छ । यसलाई रिपोर्टेबल डिजिज पनि भनिन्छ । यसको रिपोर्ट पनि गरिन्छ । यो १० जनामा एक जनालाई कडा हुन्छ भन्ने छ । कडा खालको सङ्क्रमण भएको व्यक्तिको केही घण्टाभित्रै मृत्यु हुन सक्छ । हैजा भन्ने बित्तिकै स्वास्थ्य क्षेत्रमा सेन्सेटिभ रूपमा हेरिन्छ । यद्यपि हैजा धेरै पुरानो हो । लक्षण नदेखिने तर सङ्क्रमण भएका व्यक्तिको दिसाबाट सङ्क्रमण फैलिन्छ ।

सहरका व्यक्तिमा सङ्क्रमण फैलिएमा धेरैमा सर्ने तर मृत्युदर कम हुने हुन्छ । तर गाउँमा सङ्क्रमण कम हुन्छ, यद्यपि मृत्युदर बढी हुन सक्छ । हैजा कडा भएको अवस्थामा अस्पताल पुगिहाल्नुपर्छ ।

sherbahadur

  • कस्ता व्यक्ति हैजाको बढी जोखिममा हुन्छन् ?

जोखिम भन्ने बित्तिकै कमजोर भएका व्यक्ति नै पर्छन् । वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी र गर्भवती महिला नै भन्छौँ । यतिमात्रै नभएर युवा पनि जोखिममा हुन सक्छन् । जो कोहीलाई पनि सङ्क्रमण हुन सक्छ ।

  • हैजाबाट जोगिन के कस्ता उपाय अपनाउने ?

हैजाबाट जोगिने उपाय त्यति गाह्रो होइन तर व्यवहारमा लागु गर्न एकदमै समस्या देखिएको छ । उदाहरणका लागि– पानीबाट फैलिने भन्छौँ । जुन कुरा दिसाजन्य पदार्थ मिसिएको खाने कुरा वा पानीबाट सर्ने भन्छौँ । यो विषय भन्दै गर्दा पानी शुद्धीकरण गरेर पिउनु पर्‍यो, खानेकुरा राम्रोसँग पकाएर खानु पर्‍यो ।

अर्को पक्ष भनेको व्यक्तिगत सरसफाइलाई ध्यान दिनु पर्‍यो । शौचालय व्यवस्थित हुनुपर्‍यो र व्यक्तिले हात राम्रोसँग धुनु पर्‍यो । तेस्रो पक्ष भनेको अनुगमन गर्नु पर्‍यो । पछिल्लो एक वर्ष यता हैजाका बिरामी प्रायः व्यावसायिक पानी खाएका भेटिएका छन् । स्कुल, सार्वजनिक स्थान, कार्यालयहरूमा किनेर पानी खाने प्रचलन छ । गर्मीमा खाने पानीको माग बढी हुन्छ । त्यसको माग बढी हुँदा पानीको सरसफाइ वा शुद्धीकरण नहुन सक्छ । त्यसकारण हैजा देखिने प्रवल सम्भावना रहन्छ ।

सन् २०१५ मा पानीको जारबाट हैजा पत्ता लगाएको थिएँ । यद्यपि त्यो बेला खासै कसैले विश्वास गरेन । किनकि पानी किनेर खाँदा शुद्ध पानी हुन्छ भन्ने छ । एक प्रकारले ‘रेडी टु ड्रिङ्क’ हो । तर त्यो पानीको माग बढी हुँदा शुद्धीकरण नहुन सक्छ । त्यसकारण यो बेलामा खानेपानीमा व्यावसायिक रूपमा पानी बिक्री गर्नेहरूको अनुगमन गर्नुपर्ने देखिन्छ ।

  • हैजा रोग लागेमा उपचार के छ ?

हैजा थोरै व्यक्तिमा कडा हुन्छ । अधिकांशलाई सामान्य हुन सक्छ । त्यो समयमा जीवनजल खानुपर्छ । जीवनजल अमृतजल सरह काम गर्छ । चौलानी पानी जस्तो दिसा बग्नु, बान्ता हुनु र हातखुट्टा बाउँडिनु भनेको कडा हैजा हो । यस्तो अवस्थामा अस्पताल जतिसक्दो छिटो लैजान पर्छ । दिनको ५ देखि ६ पटक पखाला लागेमा जीवनजल खानु पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया