शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

बजेट कार्यान्वयन गर्न कर्णालीका मुख्यमन्त्री कँडेलले अपनाए नयाँ शैली

शुक्रबार, ११ साउन २०८१, १० : ३८
शुक्रबार, ११ साउन २०८१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि नयाँ शैली अपनाएका छन् ।

प्रदेशमा बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएपछि मुख्यमन्त्री कँडेलले कार्यान्वयन गर्ने निकायका जिम्मेवार अधिकारीहरूसँग प्रत्यक्ष संवाद गरेर सामूहिक प्रतिबद्धता गरेर नयाँ अभ्यास सुरु गरेका हुन् ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुरुवातदेखिनै अग्रसरता लिनु पर्ने निष्कर्षसहित कँडेलले बिहीबार प्रदेश सरकारका मन्त्रालयसहित १० वटै जिल्लामा रहेका १३४ वटा कार्यालय कार्यालय प्रमुखलाई प्रदेश राजधानी वीरेन्द्रनगर भेलागर बजेट कार्यान्वयन र सुशासनमा आफूसहित सामूहिक प्रतिबद्धता जाहेर गरे । 

भेलालाई निर्देशन दिँदै उनले नीति निर्माण र बजेट पारित जनप्रतिनिधि गर्ने भए पनि यसको कार्यान्वयनमा स्थायी सरकार मानिने कर्मचारी संयन्त्रको ठुलो भूमिका रहने बताए । प्रदेशसभाबाट बजेट पास भएर मात्रै विकासले गति लिन नसक्ने आफूलाई राम्रो सँग हेक्का रहेको बताउँदै उनले भने, ‘बजेट कार्यान्वयनको जिम्मेवारी सम्हालेका प्रमुखहरूको टिमले नै  यसमा सक्रियता देखाउनुपर्ने हुन्छ ।’

यसअघिका मुख्यमन्त्रीहरूले मन्त्रालयका सचिव र मन्त्रीहरूसँग करार सम्झौता गर्ने गरेपनि कार्यालय प्रमुखहरूसँग यस्तो छलफल चलाएका थिएनन् । कँडेलले आफ्नो कार्यकालमा केही सुधार गर्नुपर्छ भन्ने उद्देश्यसहित उक्त भेलाको आयोजना गरे । 

कर्णालीको अवस्था र मनस्थितिबारे आफूलाई भन्दा कर्मचारी संयन्त्रलाई बढी जानकारी रहेकोले सरकारी तथ्याङ्क र आँकाडाप्रति औँला ठडिन नदिने गरी काम निकाल्न सबै कार्यालय प्रमुखहरूलाई कँडेलले निर्देशन दिए । बजेट पास हुने बित्तिकै बर्खा लाग्ने, त्यसपछि चाडपर्व सुरु हुने र हिमाली जिल्लामा चिसोको मौसम देखाउँदै बजेट कार्यान्वयनमा गरिएको लापरबाहीलाई अब छुट दिन नसकिने उनको भनाइ छ ।

योजनालाई व्यवसायको रूपमा धन्दा चलाउने प्रवृत्तिको समूल नष्ट गर्ने अभियानमा आफू रहेको र त्यसमा साथ दिन कँडेलले कार्यालय प्रमुखहरूलाई आह्वान समेत गरे । 

मुख्यमन्त्री कँडेलले जनतामा प्रदेश सरकारको अनुभूति हुने गरी समन्वयकारी भूमिका खेल्न, सुशासनको मामिलामा कठोर कदम चाल्न र सार्वजनिक शिष्टता, नैतिकता र आचरणमा समेत कुनै पनि प्रश्न नउठ्ने गरी काम गर्न निर्देशन दिए । ‘कर्मचारीलाई आफूले हेर्ने दृष्टिकोणको उसको कार्यक्षमतामा‘निर्भर रहन्छ,’ उनले भने । 

भेलामा प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले कार्यालय प्रमुखहरूले समस्यामुखी भन्दा समाधानमुखी अवधारणा ल्याउन सके बजेट कार्यान्वयनमा सहजता ल्याउने बताए । उनले मातहतका कर्मचारीको मनोबल उच्च पार्न मुख्यमन्त्रीले लिएको अग्रसरताको प्रशंसा समेत गरे ।

यसैबिच भेलामा मुख्यमन्त्रीसहित सहभागीहरूले विभिन्न ९ बुँदे प्रतिबद्धता जाहेर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप