आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
विश्व खेलकुदको त्यो कालो दिन

जब ओलम्पिक भिलेजका भित्ताहरू खेलाडीको रगतले लतपतिए !

शुक्रबार, ११ साउन २०८१, ०८ : ४७
शुक्रबार, ११ साउन २०८१

काठमाडौँ । ओलम्पिक खेलकुदको ३३औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदै छ । आपसी सद्भाव, भ्रातृत्व, प्रेम र विश्व शान्ति खेलकुदको सबैभन्दा बलियो पक्ष हो । जाति, धर्म, संस्कृति र राजनीतिक रूपमा विश्व जतिसुकै विभाजित भए पनि खेलकुद मैदानमा यसले कुनै स्थान पाउँदैन । 

त्यसैले, खेल मैदानलाई आपसी सद्भाव, भ्रातृत्व, प्रेम र विश्व शान्तिको संगमस्थल मानिन्छ । तर, विश्व खेलकुद इतिहासमा पनि पटक–पटक बिर्सन लायक केही घटना भएका छन् । राजनीतिक शत्रुताको बदला लिने थलोको रूपमा प्रयोग गर्न खोज्दा खेल मैदान रक्तरञ्जित बन्न पुगेको छ ।

विश्व खेलकुदको सबैभन्दा वहृत प्रतियोगिता ओलम्पिक पनि यसबाट अछुतो रहन सकेको छैन । प्रसङ्ग हो, म्युनिख ओलम्पिकको । आजभन्दा ५२ वर्षअघि सम्पन्न म्युनिख ओलम्पिकमा भएको एउटा दुःखदायी घटनाले विश्व खेलकुदलाई यस्तो नमिठो चोट दियो जसलाई आजसम्म पनि कसैले भुल्न सकेको छैन ।

सन् १९७२ को गृष्मकालीन ओलम्पिक तत्कालीन जर्मनीको म्युनिखमा आयोजना भएको थियो । त्यो ओलम्पिकमा राजनीतिको ढाडमा टेकेर नरसंहारको यस्तो निकृष्ट खेल खेलियो जसले विश्व खेलकुदलाई कहिल्यै निको नहुने घाउ दिएर गयो ।

अहिले पेरिस ओलम्पिकको पूर्वसन्ध्यामा फेरि उक्त घटनाको स्मरण गरिएको छ । खासमा, पेरिस ओलम्पिक म्युनिख घटनाको ५० वर्ष पुरा भएपछि आयोजना हुन लागेको पहिलो ओलम्पिक हो । 

के हो म्युनिख ओलम्पिक नरसंहार ?

म्युनिख ओलम्पिकमा प्यालेस्टिनी आतङ्कवादी सङ्गठन ‘ब्ल्याक सेप्टेम्बर’ ले ११ जना इजरायली खेलाडी र प्रशिक्षकको निर्ममतापूर्वक हत्या गरेको थियो । प्यालेस्टिनी आतङ्कवादी संगठनमा आबद्ध आठजनाको समूह अति संवेदनशील क्षेत्र मानिने ‘ओलम्पिक भिलेज’ मा प्रवेश गरी इजरायली खेलाडी र प्रशिक्षकको हत्या गरेको थियो । 

120727102951-munich-massacre-tease

‘ब्ल्याक सेप्टेम्बर’ का आठ सदस्यले ओलम्पिक भिलेजमा प्रवेश गर्नासाथ दुई खेलाडीको हत्या गरेका थिए भने नौजनालाई बन्धक बनाएका थिए । उनीहरुले पछि बन्धक बनाइएका नौजना इजरायली खेलाडी र प्रशिक्षकको पनि हत्या गरेका थिए । यसरी मारिनेमा पाँच खेलाडी थिए भने पाँचजना प्रशिक्षक । आतङ्कवादी सङ्गठन ब्ल्याक सेप्टेम्बरका कमान्डर लुतिफ अफिफ थिए । 

यसरी रचिएको थियो षडयन्त्र

म्युनिख ओलम्पिक सन् १९७२ को अगस्त २६ देखि सेप्टेम्बर ११ तारिखसम्म सञ्चालन भएको थियो । सेप्टेम्बर ४ तारिखको साँझ इजरायली खेल टोलीका सदस्यहरु इजरायली अभिनेता समुएल रोडेन्स्कीसँग रातको खाना खाएर ओलम्पिक भिलेज फर्किएका थिए । 

स्थानीय समय अनुसार, सेप्टेम्बर ५ तारिखको विहान ४ः३० बजे खेलाडीहरु ओलम्पिक भिलेजमा आ–आफ्नो कोठमा निदाएका थिए । त्यतिबेला ‘ब्ल्याक सेप्टेम्बर’ गुटका आठजना सदस्य खेलाडीजस्तै ट्र्याकसुट लगाएर ओलम्पिक भिलेजमा प्रवेश गरेका थिए ।

उनीहरू पर्खाल नाघेर ओलम्पिक भिलेजभित्र प्रवेश गरेको बताइएको थियो । अस्वाभाविक तरिकाले ओलम्पिक भिलेजभित्र प्रदेश गर्दै गर्दा केही खेलाडीले पनि उनीहरूलाई देखेका थिए । ‘ब्ल्याक सेप्टेम्बर’ का सदस्यले पनि खेलाडीको जस्तै ट्र्याक–सुट लगाएकाले उनीहरूलाई देख्ने खेलाडी पनि झुक्किएका थिए । 

त्यसैले ओलम्पिक भिलेजमा रहेका ती खेलाडीले ‘ब्ल्याक सेप्टेम्बरका’ सदस्यलाई पनि खेलाडी नै सम्झिएका थिए । त्यसैले उनीहरुले ‘ब्ल्याक सेप्टेम्बर’ का सदस्यलाई ओलम्पिक भिलेजभित्र प्रवेश गर्न सहयोग पनि गरेका थिए । 

सरुमा ‘ब्ल्याक सेप्टेम्बर’ का सदस्यलाई यसरी सघाउने खेलाडी अमेरिकाको भएको बताइएको थियो । तर, पछि उनीहरू क्यानडाको खेलाडी भएको रहस्य खुलेको थियो । ती खेलाडीसँग पनि पछि सुरक्षाकर्मीले सोधपुछ गरेका थिए । तर, ‘ब्ल्याक सेप्टेम्बर’ का सदस्यले ट्रयाक–सुट लगाएकाले क्यानडाका खेलाडी झुक्किएको पत्ता लागेको थियो । 

ओलम्पिक भिलेजभित्र प्रवेश गरेका ‘ब्ल्याक सेप्टेम्बर’ का सदस्यले राइफल, पेस्तोल र झोलमा ग्रेनेडहरु बोकेका थिए । ओलम्पिक भिलेजमा प्रवेश गरेपछि उनीहरुले नक्कली साँचोको प्रयोग गरी इजरायली खेलाडी बसेको दुईवटा अपार्टमेन्टमा प्रवेश गर्ने गेटको ताल्चा खोलेका थिए । 

3

त्यतिबेला इजरायलका खेलाडीहरु मस्त निद्रामा थिए । आतंकारीहरु कोठमा प्रवेश गरेपछि इजरायलका कुस्ती रेफ्री योसेफ गुटफ्रेउन्डको अस्वाभाविक आवाजका कारण अचानक निन्द्रा खुलेको थियो । निद्राबाट ब्युँझँदा बन्दुकसहितका नकाबधारीलाई देखेपछि उनी स्तब्ध: बनेका थिए । उनले आफ्नो कोठाको ढोका पनि खुल्लै देखे । 

त्यसपछि उनले चिच्याएर सुतिरहेका आफ्ना अन्य साथीहरूलाई पनि उठाउने प्रयास गरे । यो देखेर आतङ्ककारीहरूले उनलाई मार्ने प्रयास गरे । तर,उनी आफ्नो बचाउमा आतंककारीसँग भिडन्त गर्न थाले । अन्ततः उनको केही लागेन र आतङ्ककारीहरूले उनको हत्या गरे । त्यसपछि इजरायली टोलीका अन्य खेलाडी र प्रशिक्षकलाई पनि बन्दी बनाइएको थियो ।

आतङ्ककारीले राखेका माग 

नौजना खेलाडी र प्रशिक्षकलाई बन्धक बनाएपछि ‘ब्ल्याक सेप्टेम्बर’ का कमान्डरले इजरायलको कारागारमा रहेका दुई सय ३४ जना प्यालेस्टिनी कैदीलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका थिए । यसका अतिरिक्त त्यो समयमा जर्मनीमै बन्दी रहेका थप दुईजनाको पनि रिहाइको माग गरिएको थियो ।

तर, इजरायल सकारले आफ्नो कारागारमा रहेका दुई सय ३४ जना बन्दीलाई छोड्न सिधै अस्वीकार गरेको थियो । बरु, इजरायल सरकारले जर्मन सरकारसँग ओलम्भिक भिलेजमा आफ्ना सुरक्षाकर्मीलाई प्रवेश दिन माग राखेको थियो । 

आफ्ना सुरक्षाकर्मीलाई ओलम्पिक भिलेजभित्र प्रवेश गर्न दिइएमा उनीहरुले बन्धक बनाइएका खेलाडी र प्रशिक्षकलाई सकुशल रिहा गराउने दाबी पनि गरेको थियो । तर, जर्मन सरकारले इजरायल सरकारको त्यो माग पुरा गरेन । 

इजरायल सरकारले आफ्नो कारागारमा रहेका बन्दीलाई रिहा नगर्ने अडान लिएपछि ‘ब्ल्याक सेप्टेम्बर’ का सदस्यले बाध्य भएर अर्को माग अघि सारेका थिए । त्यसपछि उनीहरुले आफूहरूलाई सकुशल ओलम्पिक भिलेजबाट बाहिर निस्कने वातावरण बनाउन र एउटा हेलिकोप्टर उपलब्ध गराउन जर्मन सरकारसँग माग गरेका थिए । 

उनीहरुले ओलम्पिक भिलेजबाट बाहिर निस्कँदा पनि बन्धक बनाइएका खेलाडीलाई आफूसँगै लिएर जाने माग पनि राखेका थिए । जर्मन सरकार पनि ‘ब्ल्याक सेप्टेम्बर’ का सदस्यहरूको उक्त मागमा सहमत भएको थियो ।

जर्मन सकारको बाध्यता र घटनाको दुःखद अन्त्य  

आफ्नो राष्ट्रमा आयोजित ओलम्पिकजस्तो वृहत् प्रतियोगितामा यस्तो आतङ्ककारी आक्रमण भएपछि जर्मन सरकार अप्ठ्यारोमा पर्नु स्वाभाविक थियो । जर्मन सरकार कुनै पनि हालतमा ओलम्पिक भिलेजभित्र थप घटना नहोस् भन्ने चाहन्थ्यो ।

उक्त घटनापछि विश्वभर जर्मन सरकारको सुरक्षा व्यवस्थालाई लिएर आलोचना पनि भइरहेको थियो । ओलम्पिक भिलेजभित्र थप गम्भीर घटना हुन नदिन नै जर्मन सरकारले ओलम्पिक भिलेजभित्र इजरायली सुरक्षाकर्मीलाई प्रवेश दिन प्रस्ताव पनि अस्वीकार गरेको थियो ।

इजरायलका सुरक्षाकर्मी आफ्ना खेलाडीलाई मुक्त गराउन ओलम्पिक भिलेजभित्र प्रवेश गरेको भए थप अप्रिय घटना हुनसक्थ्यो । त्यसमाथि आफ्नो माग पुरा नभएको भन्दै आतङ्ककारीले चेतावनी स्वरूप थप दुई खेलाडीको पनि हत्या गरिसकेको थियो ।

1

तीव्र गतिमा भइरहेका यी सबै घटनाबाट जर्मन सरकार दबाबमा परेको थियो । यस्तो स्थितिमा आतङ्ककारी समूहले आफूहरूलाई ओलम्पिक भिलेजबाट बाहिर निस्कने वातावरण बनाउन प्रस्ताव राखेपछि जर्मन सरकार त्यसमा सहमत भएको थियो ।

यसका अतिरिक्त जर्मन सकारले ‘ब्ल्याक सेप्टेम्बर’ का सदस्य ओलम्पिक भिलेजबाट बाहिर निस्किएर विमानस्थलतर्फ लाग्दा बिच बाटोमै खेलाडीलाई मुक्त गराउन सकिने योजना पनि जर्मन सुरक्षाकर्मीले जनाएका थिए । 

सोही अनुरूप आतङ्ककारीहरू बन्धक बनाइएका खेलाडीसहित हेलिकोप्टरनजिक पुगेपछि जर्मन सुरक्षाकर्मीले उनीहरूमाथि आक्रमण सुरु गरेका थिए । त्यस क्रममा ‘ब्ल्याक सेप्टेम्बर’ का पाँचजना सदस्यको मृत्यु भएको थियो । त्यस क्रममा एकजना जर्मन सुरक्षाकर्मीको पनि मृत्यु भएको थियो । 

जर्मन सुरक्षाकर्मीले आफूहरूमाथि अप्रत्याशित रूपमा आक्रमण गरेपछि आतंकारीहरुले बन्धक बनाइएका बाँकी सबै इजरायली खेलाडी र प्रशिक्षकको पनि हत्या गरेका थिए । त्यसपछि तीनजना आतङ्ककारीलाई जर्मन सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको थियो । 

समग्रमा प्रहरीको ‘विशेष अपरेसन’ असफल भएको थियो । खेलाडी र प्रशिक्षकलाई सकुशल मुक्त गराउने ‘विशेष अपरेसन’ असफल भएपछि जर्मन सकारले विश्वव्यापी रूपमा चर्को आलोचनाको सामना गर्नु परेको थियो ।

‘ब्ल्याक सेप्टेम्बर’ का तीन सदस्यलाई भने प्रहरीले जीवितै पक्राउ गरेको थियो । तर, उनीहरुले पनि लामो समय कारागारमा बस्नु परेन । त्यो घटनाको एक महिनापछि लुफथान्सा एयरलाइन्सको ६१५ विमान अपहरणमा परेको थियो । विमान अपहरणकारीले म्युनिख ओलम्पिक घटनामा पक्राउ परेका तीनजनलाई रिहा गर्नुपर्ने माग राखेका थिए । 

मोसादको यस्तो डरलाग्दो बदला

इजरायल सरकारले आफ्ना खेलाडीको निर्मम हत्याको बदला लिन विशेष अभियान सञ्चालन गरेको थियो । इजरायल सकारले यसको जिम्मा ‘मोसाद’ लाई दिएको थियो । ‘मोसाद’ को इन्टेलिजेन्स संस्था हो । मोसादलाई विश्वकै सबैभन्दा खतरनाक इन्टेलिजेन्स संस्था मानिन्छ । 

मोसादले आफ्ना खेलाडीको निर्मम हत्याको बदला लिन सञ्चालन गरेको अपरेसनको नाम ‘अपरेसन वार्थ अफ गड’ अर्थात, ‘भगवानको अपरेसन क्रोध’ राखिएको थियो । इजरायल सरकारले मोसादलाई दुईवटा जिम्मेवारी दिएको थियो । 

पहिलो जिम्मेवारी म्युनिख घटनाका सम्पूर्ण योजनाकारको पत्ता लगाउने र दोस्रो जिम्मेवारी दोषीहरु विश्वको जुनसुकै कुनामा लुकेको भए पनि उनीहरुको निर्मम हत्या गर्ने । यसका लागि इजरायल सरकारले मोसादलाई जस्तोसुकै कदम उठाउन पनि छुट दिएको थियो । 

त्यसपछि, मोसादका सदस्यहरुले उक्त घटनाका दोषीको बारेमा जानकारी बटुल्न थाल्यो । अन्ततः उक्त घटनामा करिब ३० जनाको संलग्नता पुष्टि भयो । उनीहरू विश्वका विभिन्न कुनामा आफ्नो परिचय लुकाएर बसिरहेको रहस्य पनि मोसादले पत्ता लगायो । 

मोसादको अपरेसनका क्रममा केही निर्दोष व्यक्तिको पनि हत्या भएको आरोप लाग्ने गरेको छ । मोसादका सदस्यले केही दोषीलाई बमको प्रयोग गरेर मारेको थियो भने केहीलाई गोली हानी हत्या गरेको थियो । अधिकांश दोषीको शरीरमा १२ वटा गोली प्रहार गरिएको थियो ।

मोसाद त्यसपछि आफूलाई दिइएको दोस्रो जिम्मेवारी पुरा गर्नतर्फ लाग्यो । म्युनिख घटनाका दोषीमध्ये अधिकांश युरोपेली राष्ट्रहरूमा लुकेर बसेका थिए । दोषीमध्ये कोही फ्रान्समा, कोही बेरुतमा, कोही लेबनानमा र कोही नर्वेमा लुकेर बसेका थिए । 

मोसादका सदस्यले हरेक उपाय लगाएर ती सबैको हत्या गरेको थियो । मोसादले सन् १९७२ देखि आफ्नो ‘अपरेसन’ अगाडि बढाएको थियो । त्यसको करिब १८ वर्षपछि मोसादले अन्तिम दोषीको हत्या गरेर आफ्नो ‘अपरेसन’ टुंग्याएको थियो । 

मोसादको अपरेसनका क्रममा केही निर्दोष व्यक्तिको पनि हत्या भएको आरोप लाग्ने गरेको छ । मोसादका सदस्यले केही दोषीलाई बमको प्रयोग गरेर मारेको थियो भने केहीलाई गोली हानी हत्या गरेको थियो । अधिकांश दोषीको शरीरमा १२ वटा गोली प्रहार गरिएको थियो ।

११ वटा गोल म्युनिख ओलम्पिकका क्रममा मारिएका आफ्ना ११ जना खेलाडीको बदला लिन थियो भने १२औँ गोली इजरायल सरकारको तर्फबाट ती खेलाडीप्रति सम्मान प्रदान गर्न प्रहार गरिएको थियो । आफ्नो ‘अपरेसन’ पुरा गर्न त्यतिबेला मोसादले अधिकांश महिला अधिकारीलाई प्रयोग गरेको थियो । आफ्नो ‘अपरेसन’ लाई सफल तुल्याउन मोसादले केही घटनामा त ‘हनी ट्र्यापिङ’ को प्रयोग समेत गरेको थियो ।  

घटनापछि म्युनिख ओलम्पिक रोकियो त ?

अहँ, रोकिएन । उक्त दुःखद घटना भएको तीन दिनपछि पुनः ओलम्पिक खेलकुद सुरु भयो । सहभागी खेलाडीले आ–आफ्नो स्पर्धामा भाग लिए । इजरायलकै बाँकी खेलाडीले पनि धमिलो आँखा र भारी मन लिएर प्रतियोगितामा सहभागिता जनाए । 

सन् १९७२ मा पश्चिम जर्मनीको म्युनिखमा आयोजित ओलम्पिकमा चर्चित नेपाली धावक जितबहादुर केसी पनि सहभागी थिए । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीको परिचय बोकेका जितबहादुर म्युनिख ओलम्पिक घटनाका प्रत्यक्षदर्शी हुन् । 

खासमा, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका तत्कालीन अधिकारीहरू जस्तोसुकै क्रूर आतङ्ककारी गतिविधिले पनि आपसी सद्भाव, भ्रातृत्व, प्रेम र विश्व शान्तिको पवित्र उद्देश्य बोकेको खेलकुद क्षेत्रलाई आफ्नो लक्ष्यबाट विचलित बनाउन नसक्ने सन्देश दिन चाहन्थे । त्यसैले पनि यति दुःखद घटनापछि पनि म्युनिख ओलम्पिकलाई निरन्तरता दिइएको थियो । 

यसरी सन् १९७२ मा म्युनिख ओलम्पिकमा भएको एउटा हृदयबिदारक घटनाको अन्त्य हुन १८ वर्ष समय लागेको थियो । त्यसयता आयोजना हुने ओलम्पिक खेलकुदका क्रममा उक्त घटनाको स्मरण गरिन्छ र त्यो घटनामा मारिने ११ जना इजरायली खेलाडी र प्रशिक्षक तथा एकजना जर्मन सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली पनि अर्पण गरिन्छ । 

विश्व हल्लाउने दुःखद घटनाका नेपाली साक्षी

सन् १९७२ मा पश्चिम जर्मनीको म्युनिखमा आयोजित ओलम्पिकमा चर्चित नेपाली धावक जितबहादुर केसी पनि सहभागी थिए । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीको परिचय बोकेका जितबहादुर म्युनिख ओलम्पिक घटनाका प्रत्यक्षदर्शी हुन् । 

एसियाली महादेशको छनोट प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै जितबहादुरले म्युनिख ओलम्पिकमा स्थान पक्का गरेका थिए । ओलम्पिक भिलेजमा आतङ्ककारी आक्रमण हुँदा उनी नजिकैको कोठामा निदाइरहेका थिए । उनको स्मरणमा अहिले पनि त्यो घटना दुःखद सपना बनेर बसेको छ ।

उनले पटक–पटक उक्त घटनाको बारेमा बताउने गरेका छन् । उनले अत्यन्तै नजिकबाट त्यो दुःखद घटना भोगेका थिए । जितबहादुरले त्यतिबेला त्यहाँ जताततै रगत देखेका थिए । ओलम्पिक भिलेजमा जितबहादुरको कोठा घटनास्थलसँग जोडिएको थियो । ओलम्पिक भिलेजमा रहँदा खेलाडीहरुले त्यसपछिका दिनहरू भयमा बिताउनु परेको उनी बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप