आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठक

जहाज दुर्घटनाको छानबिन पुरा नहुँदासम्म क्यानका महानिर्देशकलाई निलम्बन गर्न माग

बिहीबार, १० साउन २०८१, २३ : ५१
बिहीबार, १० साउन २०८१

काठमाडौँ । नेपाली आकाश सुरक्षित छैन भन्ने भाष्य विश्व उड्डयन क्षेत्रमा चलिरहेका बेला बुधवार एकाएक सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेसँगै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को भूमिकामाथि चौतर्फी प्रश्न उठेको छ । नियमित सुरक्षा जाँच र  सी–चेकका लागि पोखरा जान लागिएको बताइएको जहाजमा बाहिरका व्यक्तिहरूको समेत सहभागिता देखिएपछि थप प्रश्न क्यानमाथि उठेको हो । 

सौर्य एयरलाइन्स दुर्घटना लगत्तै बिहीबार सिंहदरबारमा बसेको संसदीय समिति अन्तर्गतको पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा क्यानका डीजी (महानिर्देशक) इन्जिनियर प्रदीप अधिकारीको क्षमतामाथि नै प्रश्न गर्दै सांसदहरूले सरकारसँग अधिकारीको निलम्बनको माग राखेका हुन् । 

समितिमा बोल्दै नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले अधिकारीमाथि सरकारले कारबाही गर्नुपर्ने माग राखे । लामो समयदेखि नेपाललाई ईयूको कालो सूचीबाट हटाउन नसकेको र पटक–पटक नेपाली आकाशमा हवाई दुर्घटना हुँदा त्यसलाई रोक्न नसकेको भन्दै सांसद जबराले डीजी अधिकारीको क्षमतामाथि नै प्रश्न राख्दै हटाउनुपर्ने बताए ।

‘सन् १९९६ यता नेपाली आकाशमा ६१ वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसमा विदेशी जहाज समेत ८ वटा परे । आन्तरिक त सबै जसो एयरलाइन्स कम्पनीहरूका जहाज दुर्घटनामा परेका छन् । दुर्घटनापिछे नै यस्ता कति आयोग अध्ययन समिति बने । तर खै सुधार ?’ अधिकारीकै नेतृत्व पछि पनि साना ठुला गरी ७ वटा जहाज दुर्घटनामा परिसकेको तथ्य पेस गर्दै सांसद जबराले अधिकारीको क्षमता र कार्यदक्षता माथि प्रश्न गरे । 

‘तपाईंकै नेतृत्व पछि पनि ७ वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैँ अरूलाई नै लगाउने ?’ उनले थप प्रश्न गरे । अन्य देशमा यस्तो हुन्थ्यो भने कि त नेतृत्वले आफै राजीनामा दिनुपर्थ्यो कि त सरकारले हटाउँथ्यो । प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको कुरा सांसद जबराले संसदीय समिति बैठकमा राखे ।

सौर्य एयरलाइन्स दुर्घटनाको सन्दर्भमा छानबिन आयोग बनिसकेको अवस्थामा स्वार्थ जोडिने हुँदा प्राधिकरणका महानिर्देशकलाई सरकारले निलम्बन गर्नुपर्ने माग समेत जबराले राखे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले पनि डीजी अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । सन् २०१७ यता २०२१ सम्म खासै हवाई दुर्घटना नभएकोमा २०२१–२२ यता मात्र ७–८ वटा हवाई दुर्घटना भएको र यसलाई रोक्न प्राधिकरणले खास भूमिका खेल्न नसकेको बताउँदै सांसद खनालले नैतिकताको आधारमा अधिकारीले राजीनामा दिनुपर्ने बताए ।

तथापि, अधिकारीले यसको प्रतिवाद गर्दै सन् २०१९ देखि २०२२ सम्म कोभिड–१९ को प्रभाव रहँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान नभएकाले दुर्घटना नभएको तर त्यसपछि नेपालमा मात्र नभई विश्वमा नै दुर्घटना भएको तर्क पेस गरेका थिए । 

छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नमा अधिकारीले मर्यादा भुलेर असंयमित भएर जवाफ फर्काएको भन्दै सभापति राजकिशोर यादवले सीमा ननाघ्न अधिकारीलाई निर्देशन गरे । डीजी अधिकारीले नामै लिएर सांसद खनालको प्रश्नको प्रतिवाद गरेका थिए । 

थप बैठकमा सभापति यादवले फेरि (प्रविधि चेकजाँच) का लागि पोखरा जाँदै गरेको भनिएको सौर्य एयरलाइन्समा बाहिरका व्यक्तिहरू कसरी यात्रु बने ? भन्ने प्रश्नमा समेत अधिकारीले जवाफ दिन मानेनन् । सौर्य एयरलाइन्स दुर्घटनाको सन्दर्भमा सरकारले छानबिन आयोग गठन गरिसकेको अवस्थामा आफूले केही पनि बोल्न नहुने भन्दै डीजी अधिकारी पन्छिए । 

‘दुर्घटनाको प्राविधिक पक्ष के थियो ? कमी कमजोरी क–कसको थियो ? यो त छानबिन आयोगले स्पष्ट सत्य तथ्य छानबिन गर्ला । हामी सबै अनुसन्धानको दायरामा छौँ’ अधिकारीले भने, ‘छानबिन आयोग नै बनिसकेको अवस्थामा यो वा त्यो भनेर बोल्न उचित हुँदैन ।’ यसो भन्दै अधिकारी प्रश्नबाट उम्किए ।

पूर्वमन्त्री किराँती र सभापति यादवबिच सवाल जवाफ

यस्तै बिहीबारको संसदीय समितिको बैठकमा अर्को रोचक घटना समेत घट्न पुगेको छ । समितिको बैठक चल्दै गर्दा पूर्व मन्त्री सुदन किराँती र समितिका सभापति राजकिशोर यादबिच भनाभन हुँदा किराँतीले बिचैमा छलफल बहिष्कार गरेर हिँडे । बैठकको एजेन्डा (मुद्दा) मा केन्द्रित हुँदै बोल्दै गर्दा सभापति यादवले रोकेपछि किराँती आक्रोशित बनेका हुन् ।

पूर्व मन्त्री किराँती नेपालको हवाई सुरक्षा र कोरिया जाने नेपाली कामदारको विषयमा फ्लाइटको एकाधिकारको मुद्दामा केन्द्रित भएर बोल्दै थिए । त्यतिबेला सभापतिले टेक्निकलमा केन्द्रित हुन आग्रह गर्दै भनाइ छोट्याउन आग्रह गरे । ’माननीयज्यू विषयवस्तुमा केन्द्रित हुँदै टेक्निकल पक्षमा विचार राख्न र समय छोट्याउन आग्रह गर्दछु,’ सभापति यादवले आग्रह गरेका थिए ।

यसलगत्तै आक्रोशित भएका पूर्व मन्त्री किराँतीले आफू विषयवस्तुमा नै केन्द्रित भएर भनाइ राख्दै गरेको बताए । ‘सभापतिज्यू म त कुनै टेक्निसियन होइन नि, कुनै जहाज चलाउने पाइलट पनि होइन नि । फेरि म कसरी टेक्निकल विषयमा बोल्न सक्छु ?,’ उनले प्रश्न गर्दै भने, ‘म त राजनीतिक मान्छे नीतिगत पक्षमा बोल्ने हो ।’ 

थप बोल्न नदिएपछि किराँतीले समितिको बैठक नै बहिष्कार गरेर हिँडेका छन् । सभापतिले चार चार वटा मुद्दा छलफलमा राखे पनि सम्बन्धित मुद्दामा बोल्न नदिएर अत्याचार गरेको किराँतीको आरोप छ ।

एक हप्ताभित्र आईकाओको रिपोर्ट बुझाउन निर्देशन

बिहीबारको छलफलका लागि समितिले मुख्य ५ वटा मुद्दा राखेको थियो । ईयूको कालो सूचीको विषय, नेपाल वायुसेवा निगमको जहाज मर्मत र क्यानसँगको विवादको विषय, पोखरा, भैरहवा विमानस्थल सञ्चालनको विषय, नेपाली कामदार कोरिया लैजाने ल्याउने एयरलाइन्सको एकाधिकार तोड्ने विषय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पसल, रेस्टुरेन्ट तथा अन्य टेन्डर र सटर भाडाको विषय थियो । तर, सोलोडोलो एकै दिन ५ वटा मुद्दामा छलफल चलाइदा छलफल पनि यस्तै भयो । जसको कारण सांसद र सभापतिबिच नै भनाभन र गर्मागरमको स्थिति पैदा भयो । 

अन्ततः सभापति यादवले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेलाई ५ वटा निर्देशन दिएका छन् । नेपालको हवाई सुरक्षा र कमजोरीको सन्दर्भमा अन्तर्राष्ट्रिय हवाई सुरक्षा नियोग (आईकाओ) को २०२२ को रिपोर्टले के भनेको छ ? सो रिपोर्ट एक हप्ताभित्र समितिमा उपलब्ध गराउन यादवले मन्त्री पाण्डेलाई निर्देशन दिए । 

यसैगरी नेपाल नागरिक उड्ययन प्राधिकरणलाई सेवा सञ्चालन र नियमनको छुट्टाछुट्टै जिम्मेवारी रहने गरी टुक्राउने विधेयकको सन्दर्भमा के कसो भइरहेको छ ? कहाँ अड्किएको हो ? सो सम्बन्धमा लिखित जानकारी दिन पनि सभापति यादवले मन्त्री पाण्डेलाई निर्देशन दिएका छन् । 

पोखरा र भैरहवा विमानस्थल सञ्चालनको सन्दर्भमा, नेपाल–कोरिया उडानका लागि नेपाली हवाई कम्पनीहरूको सहभागिता पनि सुनिश्चित गर्ने सन्दर्भमा समेत स्पष्ट नीति ल्याउन सभापति यादवले मन्त्री पाण्डेलाई निर्देशन गरेका छन् । 

यो पनि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप