शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, १० साउन २०८१, २१ : ४८
बिहीबार, १० साउन २०८१

आज मिति २०८१ साल साउन महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. गड्तौला मुख्यसचिव नियुक्त

मन्त्रिपरिषद्को बैठकले रिक्त मुख्यसचिवमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठतम सचिव लीलादेवी गड्तौलालाई नियुक्ति गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई  मुख्यसचिवमा नियुक्ति गरेको हो ।

यसअघि उनी कायममुकायम मुख्यसचिवको रूपमा काम गर्दै आएकी थिइन् । सरकारको यो निर्णयसँगै देशले पहिलो महिला मुख्यसचिव पाएको छ ।

 

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पाल्पाका अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

२. समितिको निर्देशन

संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले योसहित ५ वटा निर्देशन दिएको हो ।

नेपालको हवाई सुरक्षा, आईकाओको रिपोर्ट, कोरियन एयरलाइन्सको एकाधिकार तथा पोखरा र भैरहवा विमानस्थलको सञ्चालनको सन्दर्भमा भएको छलफलमा सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिएका छन् । अन्य मुद्दामा दिएको निर्देशन भने अर्को बैठकमा उपस्थित हुँदा लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए ।

३. निर्मला प्रकरण

निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । तर, अनुसन्धान अधिकृतहरूले अहिलेसम्म नतिजा हात पार्न सकेका छैनन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला २०७५ साउन १० मा मृत फेला परेकी थिइन् । बलात्कारपछि उनको हत्या भएको अनुसन्धान निष्कर्ष छ ।

२०८१ असार ३० मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भनेका थिए–‘निर्मला पन्तको हत्यारा नजिक पुगेका छौँ ।’ अनुसन्धानमा संलग्न अधिकृतहरूले लामिछानेको दाबी ठिक रहेको बताएका छन् ।

कञ्चनपुर घर भएका तर, विदेशमा बस्ने दुई जनालाई शङ्काको घेरामा राखेर अनुसन्धान गरिरहेको प्रहरी स्रोतको भनाइ छ ।

४. हैजा

काठमाडौँ उपत्यकाका तीन जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका तीन जनामध्ये एक जना सम्पर्कविहीन भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधी बसौलाले बताएका छन् ।

५. दुर्घटनामा घाइते क्याप्टेनको अवस्थामा सामान्य

बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा डा मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।

 

६. थुनामा बेचन झा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका बेचन झालाई रिहा गर्ने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।  न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो।

सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका गणेशदत्त बडूविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । सरकारी वकिलसँग राय लिएर बडू सहितका आरोपीहरू विरुद्ध मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।

सम्पत्ति शुद्धीकरणका मुद्दाहरू धमाधम जिल्ला अदालतमा दर्ता हुन थालेका छन् । देशका ७७ वटै जिल्लामा जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण मुद्दा अन्य फौजदारी अपराधसँगै अनुसन्धान अघि बढाउँदै जिल्ला अदालतमा अभियोगपत्र पेस गर्न थालेको हो ।

७. विपद्का घटना

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३४ जनाको मृत्यु भएको हो ।

८. फिल्म सेन्सर

चलचित्र सेन्सर बोर्डले नेपालमा प्रदर्शन हुने फिल्मलाई ती वर्गमा वर्गीकरण गरी सर्टिफिकेट दिने गर्छ । सोही सर्टिफिकेटका आधारमा ती चलचित्रका लागि दर्शकको दायरा निर्धारण हुन्छ ।

चलचित्र सेन्सर बोर्डको तथ्याङ्क अनुसार वर्षमा प्रदर्शन हुने कुल नेपाली फिल्मको ६५ प्रतिशतले युनिभर्सल (यु) सर्टिफिकेट प्राप्त गरेका छन् । यस्ता चलचित्र बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्छ ।

९. लगानी बोर्ड

लगानी बोर्डको कार्यालयले गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा बोर्डले ९ वटा परियोजनाका लागि २ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गरेको हो ।

१०. बागमतीमा किचलो

बागमती प्रदेशमा मन्त्री नियुक्तिका विषयमा कांग्रेसमा किचलो चर्किएको छ । प्रदेशको १३ मन्त्रालयमध्ये ६ मन्त्रालयको भाग पाएको कांग्रेसले बिहीबार थप ४ मन्त्रीको शपथग्रहण गर्ने तयारी गरेको थियो । तर, अन्तिम समयमा शपथग्रहण रोकिएको हो ।

यो पनि...

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप