आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सौर्य एयरलाइन्सको जहाज दुर्घटना र सरकारी उदासीनता

बिहीबार, १० साउन २०८१, २१ : ३३
बिहीबार, १० साउन २०८१

बुधवार बिहान करिब ११ : ११ बजेतिर सौर्य एअरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित मर्मतका लागि पोखरा तर्फ उड्ने क्रममा जमिन छोडेको एक मिनेट नपुग्दै भयावह रूपमा दुर्घटनामा पर्‍यो ।

जहाजको मर्मत कार्यका लागि खटिएका कर्मचारी ,पाइलट र कोपाइलट सहित १९ जना सवार रहेकोमा १८ जनाको घटना स्थलमै ज्यान गयो र जहाजको ककपिट कन्टेनरमा ठोकिँदा जहाजको बडीसँग टुक्रिएर कन्टेनर भित्रै रह्यो। जहाजको बडी उछिट्टिएर अर्को ठाउँमा पुग्यो। संयोगले पाईलटको जीवितै  उद्धार भयो।

प्रत्यक्षदर्शीहरूका अनुसार केही मान्छे जहाजबाट उछिट्टिएर बाहिर निस्केका थिए ।उनीहरू अङ्गभङ्ग भएर यताउति सर्न नसक्ने अवस्थामा जहाज नजिकै छरपस्ट अवस्थामा थिए।नजिकै रहेका प्रत्यक्षदर्शीहरू उनीहरूको ज्यान बचाउन चाहेर मानवीय भावनाले व्याकुल थिए।कसै गरी कसैको ज्यान बचाउन सके हुन्थ्यो भनेर छटपटी भएका थिए।

अपसोच निहत्था उनीहरूका अगाडि तारबार, बन्द गेट र भित्रबाट राखिएको ठुलो ढुङ्गा बाधक बनिदिए।उनीहरू बाहिर मानवीय संवेदनाले व्याकुल भैरहे। भित्र आगो दन्किरह्यो । जहाजभित्रका मात्र हैन, जहाजबाट उछिट्टिएर जमिनमा अलपत्र नागरिक पनि त्यसै आगोको रापमा हेर्दाहेर्दै भस्म भए।

उद्धार टोली दमकल लिएर करिब दस पन्ध्र मिनेटमा पुग्यो। दुर्भाग्य त्यो दमकल नजिक जान सकेन।उद्धारमा खटिएका केही मान्छेको भनाइ सुन्दा दमकलले धोका दियो रे। दमकलले पानी टाढासम्म हान्न सकेन रे !?

दुर्घटना बाजा बजाएर आउँदैन।गल्ती मान्छेबाट हुन्छ ।कहिले अनजान बस त कहिले प्राविधिक कारण ।अहिले सम्मका अधिकांश दुर्घटनामा पाइलट बाँचेको अवस्था छैन। यस दुर्घटनामा पनि पाइलट कुनै बुद्धिमत्ताले बाँचेको नभएर ठुलो भाग्यशाली संयोगले मात्र बाँचेको देखिन्छ।अबको उनको जीवन ब्याजमा मिलेको सरह हुनेछ। यस दुर्घटनामा पाइलटको के कति कमजोरी छरुअध्ययन अनुसन्धान र स्वयं पाइलटको सत्य वचनले बताउला।

तर सबै भन्दा दुःखको कुरा यो छ कि जति मान्छे मरे पनि,जति दुर्घटना परे पनि,जति आयोग बने पनि, जति अध्ययन अनुसन्धान भए पनि हामी नेपालीले कहिल्यै सिकेनौँ। कहिल्यै महसुस गरेनौँ।कहिल्यै शिक्षा लिएनौँ।

किन ? किन म यसो भन्दै छु भने केही महिना अघि ठिक त्यसै ठाउँमा यस्तै प्रकृतिको दुर्घटना सम्बन्धी प्रयोगात्मक अभ्यास गरिएको थियो। अथवा डेमो देखाइएको थियो। त्यसको पनि भिडियो सामाजिक सञ्जाल भरी भाइरल भएको थियो। उक्त अभ्यासका क्रममा विमानमा आगो लागेको पाँच मिनेट भित्र घटनास्थलमा उद्धार टोली दमकल  सहित पुगेर आगो समेत निभाइसकेको थियो।

तर आज यथार्थमा दुरुस्तै घटना  सोही ठाउँमा घट्दा पाँच मिनेटमा आगो निभाउने भन्नु त परको कुरा दस पन्ध्र मिनेट सम्म पनि त्यहाँ कोही पुगेन। ढिला गरी पुगेको दमकलले आगो निभाउने कुरा छोडौँ पानीको फोहोरा समेत फाल्न सकेन रे। जब कि त्यस्तो अवस्थामा एक सेकेन्ड पनि कसैको लामो जीवनको लागि महत्त्वपूर्ण क्षण बन्न सक्थ्यो।

‘दमकलले धोका दियो। धोका दियो त ! दियो कसको के लाग्छ ? कसैले प्रश्न उठाउन सक्छ रसमयमा उद्धार टोली पुगेन त पुगेन। ठ्याक्कै भनेको जस्तो हुन्छ ररुमान्छे हो मेसिन हो र ? दुई चार मिनेट ,पाँच दस मिनेट तल माथि त भइहाल्छ नि !’ 

यति भनेपछि सबैका प्रश्न,सबैका आक्रोश,सबैका समवेदना सामसुम थामथुम भइहाल्छन्। यहाँ जबाफदेही कोही बन्नु पर्दैन। घटनाको छानबिन गर्न आयोग त बन्छन्।सरकारले काम गरेको छ नि भन्नलाई।तर,न त तिनले दिएका प्रतिवेदन कार्यान्वयन हुन्छन्।न त त्यसबाट कसैले पाठ सिक्छन्।

 इमर्जेन्सी उद्धारका साधनहरू प्रत्येक दिन ,प्रत्येक क्षण अलर्ट हुनु पर्ने हो।अलर्ट भनेको के होरुतयारी अवस्था भनेको हो।खबर आउने बित्तिकै एक सेकेन्ड पनि ढिला नगरी गन्तव्य तताउनु पर्छ।बाटोमा प्राकृतिक प्रकोपका कारण बाटो बन्द भए बाहेक कुनै पनि कारणले ढिला गर्न पाइँदैन।इमर्जेन्सी साधनको बाटो छेक्न पनि पाइँदैन। एम्बुलेन्स ,दमकल,सुरक्षाकर्मी आदि इमर्जेन्सीका साइरन बजेको सुन्ने बित्तिकै अन्य सवारी साधनले  अनिवार्य बाटो छोडिदिनु पर्छ।

तर भर्खर  केही समय अघि प्रयोगात्मक अभ्यास (डेमो) गरेकै ठाउँमा सो अभ्यास गर्नेबेला पाँच मिनेटमा घटनास्थलमा पुगेर आगो समेत निभाउन सक्ने दमकल यस पाली किन पाँच मिनेट भित्र पुग्न सकेन ? दस बिस  मिनेट त परको कुरा । अभ्यासको बेला पुगेकै समयावधिमा पुग्न नसक्नु नै गम्भीर लापरबाही हो। तर यहाँ यति धेरै लापरबाही र गैरजिम्मेवारी गर्दा पनि दोष दमकललाई दिएर कर्मचारी चोखिई हाल्छन्।

दमकलले पानी फाल्छ कि फाल्दैन ? दमकलमा फुल ट्याङ्की पानी छ कि छैन। त्यो अफिसमा कति वटा दमकल छन्। दबढी आवश्यक परे कुन अफिस वा कुन निकायसँग सहकार्य गर्ने ? दमकल जान नसक्ने ठाउँमा कुन निकायबाट हेलिकप्टर पठाउनेरुयस्ता कुराको पूर्व तयारी गरिँदैन भने सकिनसकी जनताले तिरेको करबाट जागिर खाएर घाम ताप्ने अनि लापरबाहीमा नागरिकको ज्यान गइरहने ? बचाउन सकिने अवस्थामा पनि मानवीय समवेदना नजाग्ने१यो कस्तो अलर्ट हो ? यो कुन खालको पूर्व तयारी हो ?

यस्ता गम्भीर अवस्थामा तत्काल तदारुकता लिनु पर्छ। एक पल एक सेकेन्ड पनि लापरबाही गर्न पाइँदैन।नत्र के को इमर्जेन्सी ? आपत्कालीन भनेको के हो ? दिनभरि ऐस आराम गरेर बस्ने खबर आए पछि साधन ठिक छ छैन भनेर खोज्ने हो र ?

यस्तो कुरा  हाम्रो देशमा हुँदा सामान्य कमजोरी हो।तर मानवता भएका देशहरूमा गम्भीर गल्ती हो।त्यस्तो कमजोरी गर्ने कर्मचारी तत्काल बर्खास्त गरिनछन् र तत्काल कुन कुन गल्ती कमजोरी भएका थिए अध्ययन अनुसन्धान गरिन्छ। मानवीय कमजोरीलाई कानुनी कारबाही हुन्छ ।

प्राविधिक  कमजोरीलाई तत्काल समाधान गरिन्छ र सम्बन्धित सबैमा प्रशिक्षण गरिन्छ।अपसोच हाम्रो देशमा एउटा प्लेन ध्वस्त भयो।त्यसमा सवार लगभग सबै जना सखाप भए। सरकारी मान्छेहरू जम्मा भए, भिडभाड गरे, हात हल्लाए, फोटा खिचे तर सुधार गर्नुपर्ने कुरा सायद अर्को जहाजको अर्को पाइलटले  पनि थाहा पाउँदैन होला ।

यसपाली जहाज दुर्घटना भयो।भर्खर अस्ति दुई दुई वटा बस यात्रु सहित त्रिसूलीमा गायब भए ।सम्बन्धित परिवार चितवनका नदी तटमा छाती पिटीपिटी ओहोर दोहोर गरिरहेका छन्। भन्नै पनि लाज लाग्ने विवेकहीन कुनै नेता हाम्रो पार्टीको सरकार नभएकोले यस्तो दुर्घटना भयो भन्दै थियो।यस्ता समवेदनहीन मान्छेलाई हामीले नेता बनाएका छौँ अनि देशको हालत यस्तो नभएर के हुन्छ ? कमसेकम मान्छेको जीवन जाँदा,देशलाई सङ्कट पर्दा, नागरिकलाई विपत्ति आइलाग्दा पनि बदला भाव बोकेर हिँड्छन् भने यिनले कसरी देश सुधार गर्छन् ?

सुधार सामान्यबाट हुन्छ। हेर्दा सामान्य लागे पनि त्यसको महत्त्व ठुलो हुनसक्छ। जस्तो दमकलले धोका दियो। यो वाक्य हेर्दा सामान्य लाग्छ। प्राविधिक  कुरा हो कहिलेकाहीँ मिस्टेक हुन सक्छ। तर यो सामान्य कुरै हैन।

त्यसकै लागि इमर्जेन्सी निकाय बनाइएका छन् र कर्मचारी खटाइएका छन्।नागरिकले आफ्नो छाक काटेर तिरेको करबाट तलब खाएर नागरिकको सुरक्षाको लागि भनेर खटेकाहरूले आफूलाई दिइएको जिम्मेवारी पूरा गर्दैनन् र त्यसकै कारण मान्छेको ज्यान जान्छ।

साँच्चै जहाज बाहिर उछिट्टिएर तड्पिरहेका मान्छेहरूको कथा सुन्दा छाती उर्लेर आउँछ। आँसु भेल बनेर आउँछ। यदि दमकल वा हेलिकप्टरले समयमा आगो निभाई दिएको भए सायद अरू केही मान्छेको ज्यान बाँच्न  सक्थ्यो। यसर्थ दमकलले हैन धोका दिएको।धोका त्यसको जिम्मा लिएको कर्मचारीले दिएको हो।\

दुर्घटनाको बाँकी कारणबारे त सम्बन्धित विज्ञहरूले अध्ययन गर्लान् र बाहिर आउला। यद्यपि त्यो पनि हाम्रो देशमा सिकाई र सुधारका लागि अपनाइँदैन। यस्तो अवस्थाको सुधार गर्न अझै कति र कत्रा दुर्घटना बेहोर्नु पर्ने हो ? आकाश हेर्‍यो आकाश असुरक्षित, जमिन हेर्‍यो जमिन नै असुरक्षित ।कहाँ गएर हुन्छन् नागरिक सुरक्षित ? जवाफ  कसले देला ? कहाँ गएर पाइएलारुअथवा यस्तो गैर जिम्मेवारी अवस्थाको अन्त्य कहिले होला ? 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हर्क सिंह के.सी.
हर्क सिंह के.सी.
लेखकबाट थप