बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सरकारप्रति आक्रोश पोख्दै बोर्डबाट बिदा भए भुवन

‘सरकारले सुन्छ मात्र, कार्यान्वयन गर्दैन’
बिहीबार, १० साउन २०८१, २० : ५४
बिहीबार, १० साउन २०८१

काठमाडौँ । चलचित्र विकास बोर्डको दुई वर्षे कार्यकालमा अधिकांश समय विवादित बनेका अभिनेता भुवन केसीले  चलचित्र विकास बोर्डबाट बिदा भएका छन् । बोर्डबाट बिदा हुँदै गर्दा केसीले सरकार प्रति आक्रोशसमेत व्यक्त गरेका हुन् । 

बिहीबार चलचित्र विकास बोर्डमा आयोजित बिदाइ कार्यक्रममा केसीले सरकारबाट फिल्म क्षेत्रका लागि कुनै पनि लगानी नभएको बताए । ‘निर्माता–निर्देशकहरूले जग्गा जमिन बेचेर यो क्षेत्रलाई यो स्थानसम्म ल्याएका छन् । सरकारले यो क्षेत्रका लागि यो गर्‍यौँ भनेर भाषण गर्ने ठाउँ छैन । एउटा फिल्म स्टुडियो समेत सरकारले बनाउन सकेको छैन’, केसीले भने ‘राष्ट्रिय चलचित्र उद्योगलाई प्राथमिकतामा राखेर हामीले काम गर्ने कोसिस गर्‍यौँ । तर, सरकारले सुन्छ मात्र कार्यान्वयन गर्दैन ।’ 

केसीले सरकारले नसुनेपछि विकास बोर्डबाटै केही गर्न सकिन्छ कि भनेर आफू अध्यक्ष पदमा आएको धारणा राखे । ‘कति साथीहरूले मबाट उल्लेखनीय काम भएन भन्नुहुन्छ । ममाथि अपेक्षा पनि धेरै थियो । तर, विकास बोर्डमा आएपछि थाहा भयो कि चलचित्र विकास बोर्डमा थोरै मात्र अधिकार छन् । अझै पनि वि.सं २०२६ सालको ऐनमा चलचित्र क्षेत्र चलिरहेको छ । यो ऐनलाई परिवर्तन गरेर नयाँ ऐन पास गर्नुपर्छ भनेर म लागिपरेँ । तर, जति गर्दा पनि मन्त्रालयमा नै ऐन रोकिन्छ’, केसीले थपे ‘हामीले गर्ने त प्रयास नै हो । मैले, यहाँ आएर ऐन पास गर्ने कोसिस गरे । अहिले सञ्चार मन्त्रालयबाट अर्थ मन्त्रालयसम्म ऐन पुगेको छ । यतिसम्म हामीले प्रयास गर्‍यौँ ।’ केसीले विकास बोर्डबाट आफू बाहिरिए पनि नेपाली फिल्म क्षेत्रको विकास र विस्तारमा सधैँ लागिपर्ने बाचा समेत गरे ।

कार्यक्रममा केसीको दुई वर्षे कार्यकालका उपलब्धिहरूका समावेश गरिएको पुस्तक समेत सार्वजनिक गरिएको थियो । जसमा केसीले आफ्नो दुई वर्षे कार्यकालमा ‘काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण प्रक्रिया आरम्भ गरेको, बक्स अफिस प्रणालीको कार्यान्वयन गरेको, दोलखा फिल्म सिटीको अवधारणा अघि सारेको, स्टोरी बैंकमार्फत मौलिक फिल्म निर्माणमा प्रोत्साहन गरेको, फिल्मीकर्मीहरुलाई सम्मान, विशेष चलचित्र पुरस्कारको घोषणा, चलचित्र सम्बन्धी विषयमा अध्ययन अनुसन्धान एवं विद्वद्वृत्तिमा प्रोत्साहन गरेको, चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि कार्यक्रम आयोजना गरेको, चलचित्रकर्मी कल्याण कोष सञ्चालन अघि बढाएको, चलचित्रकर्मीहरूको छायाङ्कन अवधिको दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता लगायत समावेश गरेका छन् ।

केसी वि.सं २०७९ साल साउनको ९ गते विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप