हातमा ६ मन्त्रालय, मन्त्री भने ७– बागमती कांग्रेसमा अझै मिलेन भाग
मकवानपुर । बागमती प्रदेशमा मन्त्री नियुक्तिका विषयमा कांग्रेसमा किचलो चर्किएको छ । प्रदेशको १३ मन्त्रालयमध्ये ६ मन्त्रालयको भाग पाएको कांग्रेसले बिहीबार थप ४ मन्त्रीको शपथग्रहण गर्ने तयारी गरेको थियो । तर, अन्तिम समयमा शपथग्रहण रोकिएको हो ।
कांग्रेसले बुधबार नै ३ मन्त्री नियुक्ति गरिसकेको छ । आज कांग्रेसले जिम्मेवारीसहित सुरजचन्द्र लामिछाने, प्रभात तामाङ, मीनकृष्ण महर्जन र विमल ठकुरीलाई मन्त्रीको शपथग्रहण गराउने गरी साँझ साढे ५ बजेको समय निर्धारण गरेको थियो ।
सोहीअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मन्त्रीको शपथका लागि प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिएको थियो । प्रदेश प्रमुख कार्यालयले मन्त्रीको शपथका लागि कार्यभार तोके अनुसार पत्रसमेत तयार गरेको थियो । पत्रसहित शपथग्रहणका लागि हलमा प्रवेश गर्ने तयारी गर्दै गर्दा विवाद भएपछि कार्यक्रम रोकिएको थियो ।
प्रदेश प्रमुख कार्यालयले तयार गरेको पत्र अनुसार बिहीबार नियुक्त भएका ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालय र महर्जनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका थिए ।
त्यस्तै, बुधबार नियुक्त भई शपथ गरेका कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का र मदु कुमार श्रेष्ठको जिम्मेवारी समेत तोकिएको थियो । जसमा काफ्लेले सामाजिक विकास मन्त्रालय, खड्काले खानपाने ऊर्जा तथा सिँचाई मन्त्रालय पाउने गरी जिम्मेवारी तोकिएको थियो भने श्रेष्ठको जिम्मेवारी पछि तोकिने गरी विना विभागीय मन्त्री बनाउने तय भएको थियो ।
उक्त निर्णयमा काफ्ले र श्रेष्ठले असहमति जनाएपछि शपथग्रहण कार्यक्रम भाँडियो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भएपछि काफ्ले मन्त्री पदमा नरहने निर्णयमा पुगेका थिए । उनले पदबाट राजीनामा दिने बताएका थिए । सरकार गठन ताका भौतिक पूर्वाधार विकास मन्त्रालयमा आकाङ्क्षा राखेका काफ्लेले भागबन्डामा सो मन्त्रालय एमालेको भागमा परेपछि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको थियो । कांग्रेस एमाले बिच भौतिक र आर्थिक मन्त्रालय साटफेर भएपछि काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने पक्कापक्की भएको थियो । तर, बिहीबार आर्थिक मामिला मन्त्रालयमा प्रभात तामाङको नाम फाइनल भएपछि उनको भागमा सामाजिक विकास मन्त्रालय पारिएको थिए ।
यता विना विभागीय मन्त्री रहने निश्चित भएका श्रेष्ठले जिम्मेवारी नतोकेसम्म अघि बढ्न नहुने अडान कायम राखे । जिम्मेवारी तोकेर अघि बढ्नु पर्ने उनको माग पछि मन्त्रीहरूको शपथग्रहण थप अन्योलमा परेको थियो ।
मन्त्री श्रेष्ठका अनुसार आकाङ्क्षी धेरै भएकाले कांग्रेसमा मन्त्री नियुक्तिमा केही असहज भएको हो । मन्त्रीहरूको कार्यक्षेत्र निर्धारणका विषयमा कसैको पनि निर्धारण नभएको उनले बताए ।
- कांग्रेसको योजनामा एमालेको अब्जेक्सन
उता सत्ता साझेदार दल एमाले भने कांग्रेसको निर्णयमा सहमत हुन सकेको छैन । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गर्ने कांग्रेसको तयारीका विषयमा एमालेले अब्जेक्सन जनाएको हो ।
मुख्यमन्त्री लामाले साझेदार दलसँग सल्लाह नै नगरी मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेको भन्दै एमालेले असहमति राखेको थियो । मन्त्रालयभन्दा बढी मन्त्री नियुक्त गर्न नहुने एमालेको भनाई छ ।
प्रदेश प्रमुख कार्यालय आएका एमाले दलका नेता जगन्नाथ थपलियाले मन्त्रालय थप गर्न नहुने भन्दै कांग्रेसले आफ्नो समस्या सल्टाएर मात्र सरकारलाई पूर्णता दिनु पर्ने बताए । सल्लाह नै नगरी मन्त्री थप्ने कांग्रेसको निर्णय स्वीकार गर्न नसक्ने भन्दै उनी प्रदेश प्रमुख कार्यालयबाट बाहिरिएका थिए ।
मन्त्रालय बढाउने निर्णयको विपक्षमा रहेको एमाले बाहरिएपछि कांग्रेस नेता तथा सांसदहरू अलमलमा परेका थिए । सो लगत्तै कांग्रेस संसदीय दलका नेतासहित एमालेका नेताहरू सहमतिका लागि छलफलमा जुटेका थिए । छलफलमा सहमति जुट्न नसकेपछि मन्त्रीहरूको शपथ ग्रहण रोकियो ।
त्यसअघि प्रदेश सरकारमा एमालेका ६ मन्त्रीले जिम्मेवारी सहित शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् । एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन र सुकमाया तामाङ नियुक्त भइसकेका छन् ।
- मन्त्री लिन आएका गाडी र सचिव रित्तै फर्किए
जिम्मेवारीसहित मन्त्रीको स्वागतका लागि विभागीय मन्त्रालयका सचिवहरु गाडी सहित प्रदेश प्मुख कायार्रलय पुगेका थिए । कर्मचारीको टोली सहित स्वागतका लागि पुगेका सचिव र गाडीहरु रित्तै फर्किएका थिए ।
झण्डा हालेर मन्त्री लिन पुगेका गाडीहरु झण्डामा कभर हालेर फर्किएका थिए । मन्त्री नपाएपछि कर्मचारी र सुरक्षा खटिएका पिएसओ लिएर फर्किएका थिए ।