घाँस काटेँ, गोबर सोहोरेँ तर पढ्न छोडिन : मुख्यसचिव गड्तौला
काठमाडौँ । नेपालले आज (बिहीबार)लिलादेवी गड्तौलालाई पहिलो महिला मुख्य सचिवको रूपमा पाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिव हुँदै उनले मुख्य सचिवसम्मको जिम्मेवारी पाएकी हुन् ।
बिहीबार दिउँसो २ बजे बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो एजेण्डा नै कामु मुख्यसचिव गड्तौलाई मुख्यसचिवमा नियुक्त गर्ने प्रस्तुत गरेका थिए । त्यसपछि उनी मन्त्रीपरिषदबाट मुख्यसचिवमा नियुक्त भएकी हुन् ।
मुख्यसचिवमा नियुक्त भएलगतै राष्ट्रिय महिला आयोगले गरेको कार्यक्रममा सहभागी भएकी उनले प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरिन् । उनले आफूलाई थप जिम्मेवारीको महसुस भएको बताउँदै भनिन,‘आज मन्त्रिपरिषद्ले गरेको निर्णयसँगै मलाई थप जिम्मेवारी बोध भएको महसुस भएको छ । नेपालको इतिहासमा सायद भाग्य र कर्म दुवैले हुनुपर्छ, पहिलो महिला मुख्यसचिव हुन र देशको नाम राख्न मलाई अवसर प्राप्त भयो । यसमा मेरो मात्र भूमिका छैन, मलाई कामु मुख्यसचिव बनाउन र मुख्यसचिवको लागि पनि सारा महिलाहरूले अव्यक्त भावनाहरू व्यक्त गर्नु भएको थियो । धेरैले यसपालि महिला मुख्यसचिव दिनुपर्छ भन्नुभएको थियो ।’
उनले अगाडि भनिन–‘मेरो नियुक्ति नयाँ कुरा पनि होइन, हिजोका दिनमा पनि ८ औँ नम्बरमा रहेका सचिवलाई मुख्यसचिव बनाइएको थियो भने अहिले म ८ औँ नम्बरमा छु । हिजो लिलामणी पौड्याल ८ औँ नम्बरबाट मुख्यसचिव हुनुभएको थियो भने म लिलादेवी पनि ८ औँ नम्बरबाटै भएको हो । उमेरका हिसाबले पनि अहिले भएका सबै सचिवभन्दा म वरिष्ठ नै रहेछु ।’
आफूले कानुन अधिकृतको रूपमा कानुन मन्त्रालयमा रहँदा ऐन बन्नुपूर्व विधेयकको मस्यौदा बनाउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरिन् । सहसचिव भएर निर्वाचन आयोगमा जानुपूर्व निर्वाचन कानुन बनाउन परामर्शदाताहरू हायर गर्ने क्रम रहेको र आफू गएपछि निर्वाचन कानुनको मस्यौदा बनाउन भूमिका खेलेको उनले स्मरण गरिन् । सचिव भएर कुनै मन्त्रालयको नेतृत्व गर्ने चाहना भएपनि त्यो अवसर नपाएको तर अहिले त्यसभन्दा माथि मुख्यसचिवको जिम्मेवारी पाएकोमा उनले खुसी व्यक्त गरिन् ।
आफू तेह्रथुम जिल्लाको दुर्गम ठाउँमा जन्मिएको र अहिलेसम्म त्यो ठाउँमा पक्की बाटो नपुगेको उनले उल्लेख गरिन् । गाउँमा गर्ने सबै काम गरेपनि आफूले पढ्न नछोडेका कारण आज यो सफलता हासिल गरेको उनले स्मरण गरिन् ।
उनले भनिन्, ‘घाँस काट्ने काम पनि गरेँ, गोबर सोहोर्ने काम, धान काट्ने कामपनि गरेँ, मकै रोप्ने, कोदो रोप्ने, भारी बोक्ने काम यी सबै काम गरेको हो । घर लिप्नेदेखि सबै काम गरेको हो । तर त्यति गर्दा गर्दैपनि मैले पढ्न चाहिँ कहिलेपनि छोडिन् । हामीलाई स्कुल जान आउन पनि धेरै टाढा पर्थ्यो । काठमाडौँ आउन ४ दिन लाग्थ्यो । काठमाडौँबाट घरमा चिठी पठाउँदा २२ दिनमा मात्र पुग्थ्यो । त्यति दुःख गरेर पढेर आएको, त्यस गाउँबाट त्यो बेला मैले पढ्दा कोहीपनि छोरी चेली डेरामा बसेर पढेका थिएनन् ।’
काठमाडौँ आएर उनले नेपाल ल क्याम्पसबाट आइ।एल र बिएल अध्ययन गरिन् । यस्तै काठमाडौँ स्कुल अफ लबाट एलएलएम गरिन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा एमएसम्मको उनले अध्ययन गरेकी छिन् । उनले लोकसेवा परीक्षामा शाखा अधिकृतमा १ नम्बरमा नाम निकालेकी थिइन् । उपसचिव हुँदै सहसचिव भएको ७ वर्षपछि उनी सचिव भएकी थिइन् । आफू सकारात्मक सोचाई राख्दै काम गर्दै अहिले यो स्थानमा आउन सफल भएको उनले उल्लेख गरिन् ।
उनले भनिन्,‘मलाई कहिलेपनि नेगेटिभ हुन मन लाग्दैन, हरेक कुरालाई सकारात्मक ढंगले हेर्नुपर्छ भन्ने लाग्छ । मैले धेरै पटक मन्त्रालयको सचिव हुनका लागि प्रयत्न गरेँ, एकपटक मन्त्रालयको प्रमुख कर्मचारी भएर जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो अवसर मैले प्राप्त गरेको थिइन । त्यो अवसर प्राप्त नगर्नुको कारण मलाई यो पद मिल्नका लागि रहेछ भन्ने लागेको छ । मेरो पदावधि धेरै बाँकी छैन । मैले जे जति गर्छु, म देशकै लागि गर्छु । मेरो व्यक्तिगत स्वार्थ केहीपनि छैन । मलाई खान लाउन पुगेको छ, छोराछोरी हुर्किसके, मेरो श्रीमान आफै वरिष्ठ अधिवक्ता हुनुहुन्छ, मेरो कतै केही बोझ छैन । म राजनीतिज्ञ पनि हैन, चुनाव पनि लड्नेछैन, मलाई आनन्द छ । म निस्फिक्री कानुन बमोजिम काम गर्छु । म कानुनको मान्छे भएको हुनाले पक्कैपनि कानुन बमोजिम काम गरेको छु ।’
उमेर हदका कारण आगामी भदौ १६ गतेदेखि उनले मुख्यसचिवबाट अवकाश पाउनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात