आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
सौर्य एयरलाइन्स दुर्घटना

‘सी–चेक’का लागि उडेको विमानमा जम्बो टोली, लापरबाही कसको ?

बिहीबार, १० साउन २०८१, १९ : ५०
बिहीबार, १० साउन २०८१

काठमाडौँ । बुधबार बिहान ११ बजेर १३ मिनेट आसपास भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा कम्पनीले गम्भीर लापरबाही गरेको पाइएको छ । काठमाडौँबाट मर्मतका लागि पोखरा जाँदै गर्दा दाहिनेतर्फ अत्यधिक मोडिँदा विमान भुइँमा बजारिएको थियो ।

 फलस्वरुपः विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको छ । विमानमा सवारमध्ये पाइलट मनिषरत्न शाक्य मात्रै जीवित छन् । 

यो दुर्घटना हुनुमा नागरिक उड्डयन प्राधिकरण र विमान सञ्चालक कम्पनी सौर्य एयरलाइन्सको नै लापरबाही पाइएको छ । विमानलाई निश्चित समय उडाएपछि विभिन्न तहमा मर्मत तथा परीक्षण गर्नुपर्छ । निश्चित समय उडेपछि विमानलाई अनिवार्य रूपमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ चेक गर्नुपर्ने प्रावधान छ । यीमध्ये दुर्घटनामा परेको ९–एनएमई जहाज ‘सी–चेक’का लागि पोखरा जाँदै थियो ।

‘सी–चेक’ सामान्य परीक्षण मात्रै होइन । यो करिब अन्तिम चरणको मर्मत नै हो । योभन्दा अघिल्लो चरणको मर्मत भनेको ‘डी’ मात्रै हुन्छ । त्यसैले कम्पनीले बुधबार नै पोखराको ह्याङ्गर १ महिनाका लागि भाडामा लिएपछि त्यसतर्फ उडान भर्दै थियो । उडानका लागि कम्पनीले खाली उडान भर्न प्राधिकरणसँग अनुमति लिएको थियो । 

प्राधिकरणका अनुसार विमानले उडानका लागि तीन प्रकारको अनुमति लिन्छन् । उडानका लागि कार्गो अनुमति, प्यासेन्जर अनुमति र ‘फेरी फ्लाइट’ (खाली उडान) उडानको अनुमति लिनुपर्ने हुन्छ । 

यसमध्ये सौर्यको सो विमानले ‘फेरी फ्लाईट’ (प्यासेन्जर बिना) उडानका लागि अनुमति मागेको थियो र सोही अनुसार प्राधिकरणले अनुमति दिएको थियो । तर खाली उडानका लागि लिइएको अनुमतिमा कम्पनीले १९ जना राख्यो ।

‘जुन सरासर कम्पनीको लापरबाही हो,’ प्राधिकरणका एक पूर्वमहानिर्देशकले भने, ‘खाली उडान अनुमतिमा विमान कम्पनीहरूले एयरहोस्टेज पनि राख्नुपर्दैन । यस्तै मर्मतका लागि जानुपर्ने भएकाले चालक र सह–चालकका साथै ४–५ जना इन्जिनियर भए पुग्छ ।’

तर, कम्पनीले १९ जना जम्बो टोली लिएर विमानलाई पोखरा पठाउन लागेको थियो । जसमा प्राविधिकका परिवारलाई समेत कर्मचारीको सूचीमा राखिएको थियो । ‘यसै पनि ‘सी–चेक’का लागि भरेको उडानमा बढीमा ५–६ जना (पाइलटसहित) हुनुपर्ने हो,’ ती पूर्वमहानिर्देशकले नाम नखुलाउने सर्तमा भने, ‘तर कम्पनीले १९ जनाको जम्बो टोली विमानमा राख्यो ।’

यस्तै एक जना यमनी नागरिक समेत दुर्घटनामा परेको विमानमा थिए । उनी कम्पनीको कर्मचारी भएको बताइएको छ । यद्यपि यसबारे स्वतन्त्र पुष्टि भने भइसकेको छैन । कम्पनीले प्राविधिककी श्रीमती र छोरालाई समेत कर्मचारीको सूचीमा राखेकाले आशङ्का उब्जिएको छ । 

  • के भन्छ प्राधिकरण ?

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल पनि सौर्य एयरलाइन्सले प्राधिकरणसँग ‘फेरी फ्लाइट’ अनुमति मागेको बताउँछन् । नागरिक उड्डयन प्राधिकरण नियमावली, २०५८’को नियम ५९ मा प्राधिकरणबाट जुन प्रकारको उडानका लागि अनुमति लिएको हो, त्यही अनुसार उडान भर्नुपर्ने प्रावधान छ । यसको अर्थ कार्गो, प्यासेन्जर र फेरीमध्ये जुन अनुमति लिएको हो, त्यसैमा उडान भर्नुपर्छ । तर, यो अनुमतिलाई कम्पनीले पालना गरेको पाइएन ।

भूलका अनुसार ‘सी–चेक’का लागि उडान भर्दा आवश्यक बाहेक अन्य कर्मचारी नै चढ्न मिल्दैन । ‘‘फेरी फ्लाइट’मा ‘प्यासेन्जर’ चढ्ने विषय नै उठ्दैन । ‘सी–चेक’ मर्मतका लागि उड्ने प्लेन उडाउनका लागि पाइलट जानै पर्छ । एयरहोस्टेज समेत चाहिँदैन । इन्जिनियर ४–५ जना चाहिन्छ । आकाशमा नै जहाज बिग्रयो भने बनाउन सक्ने त होइन । त्यही पनि इन्जिनियर राख्न नपाउने भन्ने हुन्न । १९ जना कसरी हाल्यो भने अनुसन्धानको विषय हो,’ उनले भने ।

कर्मचारीको सूचीमा नाम राखेपछि विमानस्थलमा बोर्डिङ पास समेत गर्न नपर्ने भएपछि सहजै १९ जना विमानसम्म पुगेका थिए । बोर्डिङ पास गर्न नपर्ने भएपछि विमानस्थलले यसबारे हेर्न पर्दैन । कम्पनीले ‘सी–चेक’का लागि जाने विमानमा चाहिने कर्मचारीको सूची निकालेपछि सोही बमोजिम कम्पनीकै गाडीमा विमानसम्म जान्छन् । बोर्डिङको हकमा पैसा तिरेर टिकट काटेका यात्रुका लागि मात्रै हुन्छ ।

विमान दुर्घटनाको विषयमा छानबिन गर्न मन्त्रीपरिषद्को बैठकले ५ सदस्यसहितको छानबिन समिति गठन गरेको छ । यो टोली विमानस्थल पुगेर कम्पनीसँगको सम्पूर्ण कागजात लिइसकेको छ । साथै आवश्यकताअनुसार प्राधिकरणसँग रहेको कागजात, सीसीटीभी फुटेज समेत लिन सक्छ । यसबाहेक विमानको ब्ल्याक बक्स (सीभीआर)माथि समेत छानबिन गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप