नियमित कार्य समय दिनको १४ घण्टा बनाउँदै आइटी कम्पनी
नयाँ दिल्ली । भारतीय आइटी कम्पनी इन्फोसिसका सह–संस्थापक नारायण मुर्तिले एक वर्ष अघि युवाहरूलाई हप्तामा ७० घण्टा काम गर्न सल्लाह दिएका थिए । अहिले कर्नाटक राज्यका आइटी कम्पनीहरूले राज्य सरकारलाई एउटा प्रस्ताव पठाएका छन् । यसमा कर्मचारीहरूको कार्य घण्टा बढाएर १४ घण्टा पुर्याउन माग गरिएको छ । इन्डिया टुडेमा छापिएको खबरका अनुसार राज्य सरकारले कर्नाटक शप्स एन्ड कमर्शियल इस्ट्याबिलशमेन्ट एक्ट, १९६१ मा संसोधन गर्ने विचार गरिरहेको छ ।
कर्मचारीहरूले कानुनी रूपमै नियमित १२ घण्टा र २ घण्टा ओभरटाइम गरेर दिनमा १४ घण्टा काम गरुन् भन्ने आइटी कम्पनीहरूको इच्छा छ । यो कुराको राज्यका आइटी/आईटीईएस कर्मचारी संघले कडा विरोध गरेका छन् । सामाजिक सञ्जालमा ८–९ घण्टाको सिफ्टमा काम गरिरहेका युवाहरूले १४ घण्टाको भार उठाउन सक्छन् भन्ने बहस छेडिएको छ । केहीले भारतमा वर्क–लाइफ ब्यालेन्स साँच्चै छ ? भन्ने प्रश्न उठाइरहेका छन् । एआइएको युगमा काम गर्ने घण्टामाथि प्रश्न उठाउनु नै अनुचित हो त भन्ने प्रश्न पनि उठेका छन् ।
मानिसहरू पहिला १४ घण्टाभन्दा बढीको सिफ्टमा काम गर्थे
सन् १७६० देखि सन् १९४० को औद्योगिक क्रान्तिको समयमा श्रमिकहरूले दिनमै १६ घण्टा काम गर्नुपर्थ्यो । यसले उनीहरूको उत्पादकत्व र स्वास्थ्य दुबैमा नराम्रो असर पार्यो । बेलायती मानव अधिकारकर्मी रोबर्ट ओवेनले दिनमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको नारा लगाएर यस प्रवृत्तिमा परिवर्तनको पहल गरे । सन् १९१४ मा मोटर बनाउने कम्पनी फोर्डले ८ घण्टाको कार्य दिन अपनायो । यो नीति अपनाउँदा कर्मचारीको उत्पादकत्व र मुनाफा दुवै बढ्यो । यो देखेर अन्य कम्पनीले पनि ८/९ घण्टाको सिफ्टमा काम गर्ने चलन चलाए ।
पुरानो जमानामा कामकाजको तरिका निकै फरक थियो । तर आधुनिक जागिरमा मानिसहरूले दैनिक जीवनशैलीमा ठुलो हेरफेर गरे । अहिलेपनि व्यस्त वर्किङ आवर भएको जागिरमा मान्छेहरू१४/१५ घण्टा अफिसमै बिताउँछन् । १९ औँ शताब्दीसम्म मान्छेका लागि वर्किङ आवर नै थिएन । तर समयसँगै खासगरी धनी देशमा काम गर्नु पर्ने घण्टा घट्दै गयो । अहिले त संसारभर ६ देखि ४ घण्टाको कार्य दिन अपनाउने प्रतिस्पर्धा पनि चलिरहेको छ ।
सन् १८७० मा अमेरिकीहरूको वार्षिक कार्य घण्टा ३ हजार घण्टासम्म थियो । यो भनेको हप्तामा ६०–७० घण्टा हो । तर अहिले यो घटेर १७ हजार घण्टामा आएको छ । हप्तामा ५ दिन काम गर्दा यो औसत ७ देखि ८ घण्टा हुन आउँछ । त्यति बेलाको तुलनामा अहिले जर्मनीमा कार्य घण्टा ६० प्रतिशत कम छ भने बेलायतमा ४० प्रतिशत कम छ ।
सम्भव छ दिनकै १४ घण्टा काम गर्न ?
दिनहुँ ९ घण्टाभन्दा धेरै समय काम गर्ने कर्मचारीहरूले जतिबेला पनि थाकेको महसुस गर्छन् । अत्यधिक काम गर्दा निद्रा घट्ने, स्ट्रोक, हृदय रोग बढ्ने जोखिम, डिप्रेसन जस्ता अनेक स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ ।