शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
सफलताको कथा

पहिलो महिला मुख्यसचिव गड्तौला : यस्तो छ तेह्रथुमदेखि सिंहदरबारसम्मको यात्रा

बिहीबार, १० साउन २०८१, १८ : ०९
बिहीबार, १० साउन २०८१

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले रिक्त मुख्यसचिवमा प्रधानमन्त्री कार्यालयकी वरिष्ठतम सचिव लीलादेवी गड्तौलालाई नियुक्ति गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई  मुख्यसचिवमा नियुक्ति गरेको हो ।

यसअघि उनी कायममुकायम मुख्यसचिवको रूपमा काम गर्दै आएकी थिइन् । सरकारको यो निर्णयसँगै देशले पहिलो महिला मुख्यसचिव पाएको छ । कर्मचारीको नेतृत्वमा एक महिनाका लागि सरकारले गड्तौलालाई नियुक्ति दिएको हो ।

नेपालको इतिहासमा उनी पहिलोपटक पूर्ण जिम्मेवारीसहितको पहिलो कामु मुख्यसचिव हुँदै मुख्यसचिव बनेकी छन् । तत्कालीन मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनले उक्त जिम्मेवारी पाएकी थिइन् ।

अख्तियारले असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गरेर गड्तौलालाई जिम्मेवारी दिएको थियो ।

उनी प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव थिइन् । गड्तौला वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाउने सूचीमा थिइन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई कामु मुख्यसचिव बनाएको थियो । तत्कालीन सरकारले आफू अनुकूलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म कायम मुकायम मुख्यसचिवको रूपमा उनलाई नियुक्त गरेको थियो । तर वर्तमान सरकारले उनलाई पूर्ण जिम्मेवारी दिएको हो ।

उनीभन्दा माथि मुख्यसचिवको लाइनमा तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई र एकनारायण अर्याल थिए । तर उनले बाजी मार्न सफल भइन् ।  

एक महिना मात्र हुनेछ गड्तौलाको कार्यकाल 

गड्तौला लामो समयसम्म कर्मचारी प्रशासनको नेतृत्वमा भने बस्ने छैनन् । उमेर हदका कारण उनले भदौ १५ गते अनिवार्य अवकाश पाउने छिन् । ५८ वर्षको उमेर हदका कारण उनी अनिवार्य अवकाशमा जानेछिन् ।

सहसचिवबाट २०७७ कात्तिक २७ गते सचिवमा बढुवा भएकी गड्तौला ३ वर्ष १० महिने सचिवको कार्यकाल पुरा गर्नेछिन् ।

२०२३ साल भदौ १५ गते जन्मिएकी गड्तौला २०८१ भदौ १५ गते ५८ वर्ष पूरा गर्ने भएका कारण सचिवको ५ वर्षे कार्यकाल पूरा गर्न नपाएरै अनिवार्य अवकाशमा जाने भएकी हुन् ।

सिंहदरबार यात्रा

तेह्रथुमको पिप्ले (हाल म्याङ्लुङ–४) मा २०२३ भदौ १५ गते जन्मेकी गड्तौला  मध्यमस्तरीय परिवारकी सदस्य हुन् । छोरीहरूलाई पढाउनुपर्छ भन्ने शैक्षिक चेतना भएको परिवारमा हुर्केकी भएकाले सानैदेखि उनमा कानुन शिक्षाप्रति रुचि रहेको थियो । सोही कारण उनले कानुन क्षेत्रलाई रोजिन् । 

उनी २०५२ पुसमा शाखा अधिकृतबाट कानुन सेवामा प्रवेश गरेकी थिइन् । सिंह वाहिनी माध्यमिक विद्यालयमा विद्यालय तहको अध्ययन पुरा गरेकी उनले त्यसपछि नेपाल ल क्याम्पसबाट आइएल  र बीएल उत्तीर्ण गरिन् ।  उनले थप अध्ययनका लागि काठमाडौँ स्कुल अफ ल पुगिन् । उनले त्यहाँबाट ह्यूमन राइट्स एन्ड जेन्डर जष्टिस (मानव अधिकार र लैगिक न्याय) मा स्नातकोत्तर (एलएलएम) गरिन् । उनले कानुनमा मात्र चित्त बुझाइनन् । अध्ययनमा मेधावी गड्तौलालाई राजनीतिशास्त्र पढ्ने रहर लाग्यो । रहर पुरा गरेरै छाड्ने हठी स्वभावकी गड्तौलाले राजनीतिशास्त्रमा समेत एमए पास गरिन् ।  

२०६३ कात्तिकमा उपसचिव हुँदै २०७० माघमा सहसचिव बनिन् । त्यसको सात वर्षपछि २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) मा बढुवा भइन् ।  २०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्यसचिव र असार ३१ गतेदेखि कायममुकायम मुख्य सचिव बनेकी गड्तौला बिहीबारबाट मुख्यसचिव भएकी छन् । उनले  देवानी संहिता मस्यौदा कार्यदल सदस्य रहेर काम गरेकी थिइन् । हाल लागू भएको देवानी संहिता निर्माणका क्रममा उनले आफ्नो क्षमता प्रदर्शन गरेकी थिइन् ।

करिब १७ वर्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम गरेकी उनले विशेषतः विधेयक मस्यौदामा दक्खल राख्छिन् । उनीसँग गृह मन्त्रालय, जलस्रोत मन्त्रालय, ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा समेत काम गरेको अनुभव रहेको छ। उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचन अधिकृत भएर काम गरेकी थिइन् ।

कर्मचारी संयन्त्रलाई चुस्त  बनाउने वाचा

मुख्यसचिव नियुक्त भएलगत्तै रातोपाटीसँग कुरा गर्दै उनले आफू छोटो अवधिका लागि मुख्यसचिव हुने भएपनि विवादरहित रूपमा काम गर्ने वाचा गरिन् । उनले आफ्नो कार्यकालमा कर्मचारी प्रशासनलाई चुस्त बनाउनुका साथै सबै कर्मचारीलाई हौसला प्रदान गरेर काम गराउने बताइन् । कर्मचारीहरूको मनोबल बढाउँदै सरकारलाई सहयोग गर्ने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप