लगानी बोर्डले गर्यो २ खर्ब ७१ अर्बको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डको कार्यालयले गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा बोर्डले ९ वटा परियोजनाका लागि २ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गरेको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट भएको प्रभावकारी समन्वय र सहजीकरणको परिणामस्वरूप उल्लेख्य लगानी भित्र्याउने गरी स्वीकृत गरिएको बताए । यस्तै २०८१ जेठ २२ मा अरुण तेस्रो जलविद्युत परियोजनाको हेडरेस टनेलको ‘ब्रेकथ्रु’ भएपछि उक्त परियोजनाको जेनेरेशनतर्फ ७५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ ।
यता ट्रान्समिशन लाइनतर्फ ३८.२१ प्रतिशत निर्माण कार्यप्रगति भएको छ । सो कार्यलाई जेनेरेसनतर्फको प्रगतिसँग तादात्म्यता हुनेगरी सहजीकरण भइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बताए । त्यसैगरी तल्लो अरुण जलविद्युत परियोजनाको जग्गा प्राप्तिको कार्य प्रारम्भ भएको छ । यस्तै माथिल्लो त्रिशूली–१ जलविद्युत परियोजनाको निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको बोर्डले बताएको छ ।
अपर मर्स्याङ्दी–२ जलविद्युत परियोजना, सौर्य ऊर्जा परियोजना (२५० मेगावाट कोहलपुर र वाणगंगा) र दमक क्लीन इन्डस्ट्रियल पार्कको सम्बन्धमा भने परियोजना विकास सम्झौताको मस्यौदा तयार गरी विकासकर्तासँग वार्ताको चरणमा छ । डाबर नेपालको क्षमता अभिवृद्धि र प्रडक्ट डाइभर्सिफिकेसन परियोजनाको लगानी सम्झौताको मस्यौदा तयार भई वार्ताको चरणमा रहेको छ ।
साथै, रासायनिक मल कारखानाको विस्तृत सम्भाव्यता अध्ययन गर्न डियाग इन्डस्ट्रिज जर्मनीसँग समझदारी भएकोमा उक्त कम्पनीबाट प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भैसकेको छ । यसका साथै वीरेठाँटी–मुक्तिनाथ केबलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन मूल्यांकन भइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरिएको छ ।
पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनाको एमओयू बमोजिम विकासकर्ताले पश्चिम सेती जलविद्युत परियोजनाको मस्यौदा विस्तृत परियोजना प्रतिवेदन बोर्डको कार्यालयमा पेस गरेको छ । उक्त मस्यौदा प्रतिवेदनको प्राविधिक समीक्षा पुनरावलोकन गरी प्रतिवेदन लगानी बोर्ड समक्ष पेस गर्नका लागि विज्ञसहितको कार्यदल गठनको प्रक्रिया अगाडि बढेको छ ।
यसबाहेक तेस्रो नेपाल लगानी सम्मेलनको आयोजना समेत बोर्डले गरेको थियो । जसमा १५२ वटा आयोजनाको प्रस्तुत गरिएको थियो । साथ, लगानी बोर्डको कार्यक्षेत्र भित्र पर्ने १२ वटा परियोजना (४ ऊर्जा परियोजना समेत) सहित कुल १९ वटा परियोजनाहरूमा आशयपत्र आह्वान गरिएको थियो । त्यस मध्ये दुईवटा परियोजनामा आशयपत्र प्राप्त भई मूल्याङ्कनको कार्य अगाडि बढेको छ ।
लगानी बोर्डको कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा सम्पन्न गरेको कामको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदै यस्तो जनाएको हो । सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को नियम बमोजिम प्रधानमन्त्री र प्रमुख कार्यकारी अधिकृतबिच २०८० साउन १९ मा कार्यसम्पादन करार गरिएको थियो । बोर्डको रणनीतिक योजनाका चार वटा स्तम्भअन्तर्गत चयन गरिएका ६० वटा क्रियाकलापहरूको समयसारिणीसहितको मापनयोग्य सूचकका आधारमा सो करार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ
अमेरिकामा नेतन्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
अर्घाखाँचीमा आजदेखि दुई दिने पाणिनी तपोभूमि सम्मेलन हुँदै
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला