गणेश बडूले दैनिक ३ करोडको सुन कारोबार गरेको अनुसन्धान निष्कर्ष
काठमाडौँ । सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका गणेशदत्त बडूविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । सरकारी वकिलसँग राय लिएर बडू सहितका आरोपीहरू विरुद्ध मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।
४७ वर्षका बडू दार्चुलाको महाकाली नगरपालिका–३ का स्थानीय हुन् । न्यूरोडस्थित इन्द्रचोकमा बसेर बडूले दैनिक ३ करोडसम्मको सुन कारोबार गरेको विभागले गरेको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले वैशाख १३ मा न्यूरोडस्थित इन्द्रचोकबाट बडूसहित ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक जना १४ वर्षीय बालक पनि छन् ।
बडू असनमा डेरामा बस्थे । डेरामा बसेर उनले दैनिक ३ करोडसम्म सुनको कारोबार गरेको बरामद डायरीमा राखेको हिसाबबाट पुष्टि भएको अनुसन्धानमा संलग्न राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सुन दिएर पैसा लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । डेराबाट प्रहरीले करिब ३ केजी सुन र १ करोड ४३ लाख ६० हजार नगद बरामद गरेको थियो ।
विभागले यसअघि नै बडूलाई थुनामा राखेर अरुलाई हाजिर जमानीमा तारेखमा रिहा गरेको थियो । बालकलाई भक्तपुरस्थित बाल सुधार गृहमा संरक्षणमा राखिएको छ । विभागले बडूसहित भारतीय नागरिक अमोल विभूते, १८ वर्षका ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश बाल्टे, नेपाली नागरिक दिनेश खरेल, २१ वर्षका आयुष बडू र झापा बिर्तामोड घर भएका २२ वर्षीय भरतराज खरेललाई प्रतिवादी बनाएको छ ।
भरतराज खरेल बडूका सालीका छोरा हुन् । उनीहरु विरुद्ध राजस्व चुहावट छली, अवैध सुन र नगद समेतमा मुद्दा दायर गरिएको छ । बडूविरुद्ध ३ करोड ५० लाख बिगो र बिगोअनुसार जरिवाना गर्न विभागले मागदावी लिएको छ । अकुत सम्पत्ति सम्बन्धी मुद्दामा विभागले उनी विरुद्ध छुट्टै मुद्दा लैजाने भएको छ ।
यसअघि पनि तस्करीमै
गणेश दत्त बडू यसअघि सुन तस्करीमा पक्राउ परेका थिए । उनी क्षेत्रपाटीबाट २०७४ भदौ १९ मा बरामद ८८ किलो सुन प्रकरणमा जेल बसेर छुटेको अपराध रेकर्ड भेटिएको छ । उनी पुनः सुन तस्करीकै आरोपमा दोस्रो मुद्दा खेप्दै छन् ।
८८ किलो सुन प्रकरणमा उनी ३ लाख धरौटी बुझाएर छुटेका थिए । तर, उनले धन्दा छाडेनन् । चिनियाँ सुन तस्करको ‘एजेन्ट’ बनेर सुन तस्करी गरेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । अनुसन्धान कार्यालयले पक्राउ गरेर थप अनुसन्धान गर्न बडू सहितका ७ जनालाई राजस्वमा पठाएको थियो ।
चिनियाँ नागरिकले पठाउने सुन गणेशदत्तले ‘वितरण’को जिम्मा लिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बडूलाई चिनियाँ नागरिकले एक पटकमा डेढ देखी २ केजी सम्म सुन बेच्ने जिम्मा दिने गरेका थिए । अनुसन्धानमा संलग्न विभागका एक जना अधिकृत भन्छन्– ‘एक पटकमा ५ केजीसम्म वितरण गर्ने जिम्मा लिएको अनुसन्धानबाट खुलेको छ ।’
चिनियाँ सुन तस्करले पठाउने सुन न्यूरोडमा टुक्रा बनाइन्छ । २५० ग्रामको टुक्रा बनाएर भारतीय नागरिकहरूले पैदल मार्ग हुँदै भारत तर्फ लैजाने गरेको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात