शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
अपराध

अपराधको अखडा बन्दै मधेस, एक वर्षमा १२६ जनाको हत्या

बिहीबार, १० साउन २०८१, १६ : ३०
बिहीबार, १० साउन २०८१

वीरगन्ज । सर्लाहीमा साउन ७ गते सोमबार पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भयो । आफ्नै सहयोगीबाट रायको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत जेठ ३२ मा बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भयो । गोली प्रहार गरी उनको हत्या भएको थियो । मृत्युकालीन घोषणामा कुशवाहले आफूमाथि पूर्वसैनिक जवान सुरेन्द्र कुशवाहले गोली हानेको बताएका थिए ।

जेठ २९ मा पर्साको जगरनाथपुरमा झारफुकका लागि घरमा बोलाएर २ जनाको हत्या भयो । नेपाल–भारत सीमा नजिक कलैया निवासी रामएकवाल पण्डित र उनको साथी सुरेश ठाकुरको आफ्नै भतिजाबाट हत्या भयो ।

मधेसमा यस्ता घटना सामान्यजस्तै हुन थालिसकेको छ ।

  • एक वर्षमा कति हत्याका घटना ?

पछिल्लो समय मधेस प्रदेशमा हत्याका घटना शृङ्खलाबद्ध भइरहेका छन् । व्यक्तिगत रिसिइबी तथा सामान्यखाले विवादमा हत्याका घटना हुने गरेको प्रहरी विश्लेषण छ ।

मधेस प्रहरीको तथ्याङ्कमा एक वर्षमा ८ वटा जिल्लामा १२६ जनाको हत्या भएको छ । गत आर्थिक वर्ष (०८०/०८१) प्रदेशका आठ वटै जिल्लामा गरी ७८ पुरुष र ४८ जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

यो एक वर्षमा सबै भन्दा बढी धनुषामा हत्याका घटना भएका छन् । समीक्षा अवधिमा धनुषामा १४ जना पुरुष र ७ जना महिला गरी २१ जनाको हत्या भएको तथ्याङ्क छ ।

सबैभन्दा कम महोत्तरीमा हत्याका घटना भएका छन् । प्रहरीका अनुसार यहाँ ७ जना पुरुष र २ महिलाको गरी कुल ९ जनाको हत्या भएको छ ।

बढी हत्या हुने जिल्लामा दोस्रो स्थानमा सिरहा छ, जहाँ एक वर्षमा ९ पुरुष र ११ महिला गरी २० जनाको हत्या भएको छ । पर्सामा १७, बारामा १४, रौतहटमा १७, सर्लाहीमा ११, सप्तरीमा १६ जनाको हत्या भएको मधेस प्रहरीको तथ्याङ्क छ ।

ती हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १४७ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले जनाए । उनका अनुसार पक्राउ पर्नेहरूमा १२५ जना पुरुष र २२ जना महिला छन् ।

  1. अघिल्लो वर्ष कति ?

अघिल्लो आर्थिक वर्ष (०७९/०८०) मा मधेसमा कुल १११ वटा हत्याका घटना भएका थिए । प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणमा अघिल्लो वर्षमा ७० जना पुरुष र ४१ जना महिलाको हत्या भएको रेकर्ड छ । यसैगरी यो हत्याका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६९ जनालाई पक्राउ गरेको तथ्याङ्क छ ।

प्रदेश प्रहरी प्रवक्ता बोहराका अनुसार पछिल्लो समयमा मधेसमा हत्याका घटना हुनुको पछाडि जग्गा जमिनको विवाद, आर्थिक लेनदेन, व्यक्तिगत रिसिइबी, सामान्य आवेग जस्ता कारणले हत्या भइरहेका छन् । यसो हुनुको पछाडि सर्वसाधारणमा नैतिक शिक्षाको कमी हुँदै गइरहेको उनको ठम्याइ छ ।

अर्को कारणमा खुल्ला सीमा पनि रहेको प्रदेश प्रहरी प्रवक्ता बोहराको धारणा छ । उनले भारततिरबाट सजिलै प्रवेश पाउने भएको हुँदा पनि मधेसमा आपराधिक घटना बढेको बताए ।

प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल मधेसतिर काम गर्ने प्रहरी कर्मचारीले सुरक्षा सम्बन्धमा बढी ध्यान नदिएको बताउँछन् । ‘काठमाडौँमा काम गर्ने प्रहरी अधिकारीलाई आफ्नो करिअरको चिन्ता हुन्छ, त्यसैले उनीहरूले पहिलो प्राथमिकतामा जनताको सुरक्षालाई राखेका हुन्छन् । तर मधेसतिर काम गर्ने कर्मचारीहरूको पहिलो प्राथमिकतामा पैसा पर्छ । जसका कारणले उनीहरू पैसा कमाउनतर्फ ध्यान केन्द्रित गर्छन् । अनि यस्ता घटना भइरहेका हुन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप