बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई भेटेपछि स्वास्थ्यमन्त्रीले भने -'दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ'

बिहीबार, १० साउन २०८१, १२ : ५९
बिहीबार, १० साउन २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

उनले अहिले मृतकहरूको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न सङ्केतबाट पहिचान गर्ने काम भइरहेको र बुधवार नै ४ वटा शवको पहिचान भइसकेको बताए। उनले शवको पहिचान भएपनि म्याचिङ गर्न बाँकी रहेको बताए। उनले बिहीबार बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको बताए । उनले पहिचान हुन नसकेको शवहरूको भने डिएनए गर्नुपर्ने भएकाले केही समय लाग्न सक्ने बताए । 

नेपालको हवाई क्षेत्र सुरक्षित हुन नसकेको भन्दै उनले बर्सेनि ठुलो सङ्ख्यामा क्षति व्यहोर्नु परिरहेको भन्दै उनले नेपाललाई पर्यटकीय गन्तव्य बनाइराख्न यस प्रकारका असुरक्षाले क्षति पुग्ने बताए । उनले सरकारले भएका कमजोरी र लापरबाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने पनि बताए  । उनले पुराना र बिग्रिएका जहाज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने बताए । 

उनले सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने पनि बताए । विमानको ब्ल्याक बक्स सुरक्षित रहेकाले वास्तविकताक छिटै पत्ता लाग्ने पनि उनले बताए । उनले दुर्घटनाको कारण गहिराइमा नै गएर खोजिनुपर्ने बताए । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । १९ जना यात्रु सवार विमानका पाइलट शाक्य भने उपचाररत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप