बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

सम्भावना बोकेको कोदोजन्य बाली : स्वास्थ्यदेखि व्यवसायका लागि महत्त्वपूर्ण

बिहीबार, १० साउन २०८१, १२ : ०४
बिहीबार, १० साउन २०८१

काठमाडौँ । नेपालको रैथाने बालीमध्ये एक हो कोदोजन्य बाली । यसका विभिन्न प्रजाति छन् । नेपालमा कोदोजन्य बालीमा कागुनो, जुनेलो, कोदो, सामा, धान कोदो, घोगे, चिनो लगायतका प्रजाति रहेको विज्ञहरूले बताएका छन् ।

यो कोदोजन्य बाली तराईको तुलनामा पहाडी भू–भागमा बढी उत्पादन हुने गरेको पाइन्छ । यसलाई बर्खे बालीका रूपमा खेती गरिन्छ ।

विज्ञका अनुसार यो बाली स्वास्थ्य, पोषण, व्यवसाय, वातावरणीय र खाद्य सुरक्षामा महत्त्वपूर्ण मानिन्छ । वरिष्ठ कृषि वैज्ञानिक तथा राष्ट्रिय कृषि आनुवंशिक श्रोत केन्द्र (राष्ट्रिय जिन बैंक) का प्रमुख डा. बालकृष्ण जोशीका अनुसार कोदोजन्य बाली कम लगानीमा उत्पादन गर्न सक्ने, अन्य बालीको तुलनामा रोग तथा किरा प्रतिरोध क्षमता बढी भएको, सबै उमेरकाले खान मिल्ने भएकाले खाद्य, पोषण, स्वास्थ्य, व्यवसाय र वातावरण सुरक्षाका लागि राम्रो मानिन्छ ।

डा. जोशीको ‘सात–भाइ कोदे बाली (औषधीय अनाज) : खाद्य, पोषण, स्वास्थ्य, व्यवसाय र वातावरण सुरक्षाको लागि’ अध्ययन पत्रमा कोदोजन्य बालीको परिकार थोरै खाए पुग्ने, आडिलो, बिस्तारै पच्ने, छिटो पाक्ने, लगानी कम, मल–जल कम चाहिने, सबै ठाउँ र रुखो जग्गामा पनि हुने उल्लेख छ । यसमा रोग किरा कम लाग्ने, विषादी र रासायनिक मल नचाहिने, दाना र पिठोबाट बन्ने सम्पूर्ण परिकार बनाउन सकिने, पशुपक्षीको लागि पोसिलो र आडिलो आहारा हुने भएकाले खाद्यमा सुरक्षा पुर्‍याउने अध्ययन पत्रमा उल्लेख गरिएको छ ।

अध्ययन पत्रमा पोषण सुरक्षाका लागि पोषणीय अनाज, मानवलाई चाहिने सन्तुलित पोषण तत्त्व कार्बोहाइड्रेड कम र अन्य तत्त्व बढी, ग्लूटेन नहुने, लेक्टिन नहुने र सबै उमेर/अवस्थाको व्यक्तिले उपभोग गर्न मिल्ने उल्लेख गरिएको छ ।

कोदोजन्य बालीमा औषधीय अनाज, रेसा बढी हुने, ग्लूटेन नहुने, ल्याक्टिन नहुने, सबै उमेरकाले खान हुने, सबै रोगीले खान हुने, स्वास्थ्य सूचकाङ्क बढी, प्राङ्गारिक रूपमा उत्पादन लिन सकिने, मानवलाई रोग नलाग्ने तथा निको पार्न सहयोग गर्ने भएकाले स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने उल्लेख छ ।

डा. जोशीको अनुसन्धान पत्र अनुसार व्यवसाय सुरक्षामा पनि कोदोजन्य बालीले सहयोग पुग्ने देखिएको छ । पशुपन्छीको लागि आहारा र दाना बनाउन मिल्ने, पिठोबाट विभिन्न परिकार बनाउन सकिने, लगानी कम तर बढी फल्ने भएकाले व्यवसाय सुरक्षामा टेवा पुग्ने उल्लेख छ ।

यस्तै, वातावरण सुरक्षामा पनि कोदोजन्य बालीले सहयोग पुर्‍याएको छ । यो बाली उत्पादन गर्न पानी कम चाहिने, सुक्खा तथा तातो सहन सक्ने, प्राङ्गारिक रूपमा उत्पादन लिन सकिने, पारिस्थितिकीय उत्पादन बढी हावा/पानी/माटोमा सुधार ल्याउने, धेरै जीवजन्तुको आहारा कार्बन स्थिरिकरण गर्ने डा. जोशीको अध्ययनले देखाएको छ ।

डा. जोशीले विश्वभर माग भइरहेको वातावरणलाई सुधार गर्ने बालीमध्ये एक कोदोजन्य बाली रहेको दाबी गरेका छन् । उनले भने, ‘व्यवसायको दृष्टिकोणले यसबाट सबै खाले खाने परिकार बनाउन सकिन्छ । जस्तो कि कोदोको बिस्कुट, कोदो चिया, कोदो कफी, कोदोको झोल लगायत बनाउन सकिन्छ । यसलाई औषधीय अनाज पनि भनिन्छ ।’

कोदोजन्य बालीलाई अझै व्यवस्थित ढंगले प्रयोग गर्न सकेसम्म देशको स्वास्थ्य र अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. राम कृष्ण श्रेष्ठले कोदोजन्य बाली पोषणले परिपूर्ण रहेकाले यसको परिकार विविधिकरणमा जोड दिनुपर्ने सुझाए । ‘बच्चाले ढिँडो, खोले जस्ता परिकार खाँदैनन्, यसको परिकारमा विविधिकरणमा जोड दिनु पर्छ । जस्तो कि केक, मःम, पिजा, बिस्कुट लगायत परिकार बनाउन सकिन्छ,’ उनले भने ।

  • चार सय पालिकासँग सहकार्य

विगत पाँच वर्षदेखि केन्द्र सरकारले चार सय पालिकासँग कोदोजन्य बाली प्रवर्द्धनका लागि सहकार्य गर्दै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठका अनुसार केन्द्र सरकारले ४ सय पालिकासँग समन्वय गरिरहेको छ ।

‘दोहोरिएको पालिका गरी हामीले चार सय पालिकासँग कोदोजन्य बालीको महत्त्व बुझाउने, लागत घटाउने र किसानको फाइदा बढाउनको लागि उत्पादन र प्रविधि सहयोग कार्यक्रम गर्छौँ,’ उनले भने, ‘विभिन्न खालको परिकार बनाउन परिकार विविधिकरण, व्यवसायलाई दिगो बनाउन (ढुवानी, प्याकेजिङ, लेबलिङ) लगायतको कार्य, उद्यामशीलता र बजारीकरणका लागि स्थानीय स्तरमा जागरुक बनाउने कार्य गर्दै आएका छौँ ।’

स्थानीय तहमा बीउ बैंक अन्तर्गतका सामुदायिक बीउ बैंकमा कोदोजन्य बालीको बीउ संरक्षण गरिरहेको उनले बताए ।

रैथाने बालीलाई प्रोत्साहन गर्न सार्वजनिक कार्यक्रम र गोष्ठीहरूमा ती बालीबाट बन्ने परिकार प्रयोग गर्नसमेत श्रेष्ठको सुझाव छ । ‘सार्वजनिक सभा सम्मेलन, गोष्ठीहरूमा कोदोजन्य बालीको विभिन्न परिकार बनाएर प्रयोग गर्ने,’ उनले भने, ‘विद्यालयमा दिवा खाजाको रूपमा प्रयोग गर्ने गर्नुपर्छ ।’

कोदोजन्य बालीको उत्पादन कम र माग बढी भएकाले बालीबाट हुने फाइदालाई ध्यान दिँदै कृषि उपजमा मुलुकको परनिर्भरता घटाउन सकिने विज्ञहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप