सोच नकारात्मक, सकारात्मक, आलोचनात्मक कि सिर्जनात्मक ?
शब्द, चित्र वा साङ्केतिक रूपमा व्यक्त हुने मनको अनुभूति वा उपज नै विचार हो । दुई वा दुईभन्दा बढी विचार बिचको सम्बन्धको र तथ्याङ्कको विश्लेषण चिन्तन हो । चिन्तन प्रक्रियाको पहिलो चरण अवधारणा हो । जुन चरणमा विविध पक्षको फरक छुट्ट्याइन्छ र तुलना गरिन्छ ।
प्रमाणित हुन बाँकी रहेको पूर्वानुमान परिकल्पना हो । स्वतन्त्र प्रमाणहरूले प्रमाणित गरेको परिकल्पना सिद्धान्त हो । सिद्धान्तको बहुस्वीकृति र स्वीकारोक्ति फिलोसफी हो । यसरी कच्चा विचारको सामाजिक अन्तर्क्रियाद्वारा शुद्धीकरण हुँदै समयको लामो अन्तरालपछि दर्शनको निर्माण हुन पुग्छ ।
- विचारका स्रोत
विचारका स्रोत बहुआयामिक छन् । त्यसमध्ये महत्त्वपूर्ण स्रोत यस प्रकार छन् ।
अनुभव : मानिसले जीवनमा भोगेका घटना, सामना गरेका समस्या र चुनौती र उपयोग गरेका अवसरले विचारलाई प्रभावित पार्छ । अर्थात् मानिसमा अनुभवजन्य कारणले विचारको जन्म हुन्छ ।
वातावरण : विचारको एउटा महत्त्वपूर्ण स्रोत वातावरण हो । मानिस वरिपरिको समग्र अवस्था नै वातावरण हो । प्राकृतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिकजस्ता वातावरणीय पक्ष र यिनीहरूका बिचमा हुने अन्तर्क्रियाले मानिसको सोचाइमा प्रभाव पार्छ । परिणामस्वरूप मानिसमा निश्चित विचारको जन्म हुन्छ ।
शिक्षा : शिक्षा विचारको अर्को महत्त्वपूर्ण बौद्धिक स्रोत हो । अध्ययनबाट मानिसले नयाँ–नयाँ ज्ञान प्राप्त गर्दै जान्छ । विभिन्न कोणबाट सोच्छ । यसरी गहिरो अध्ययनको प्रक्रियाले पनि मानिसमा नयाँ–नयाँ विचारको जन्म हुन्छ ।
सामाजिक अन्तर्क्रिया : मानव समाज नै विचारको सबभन्दा ठुलो भण्डार, प्रयोगशाला र युद्धमैदान हो । समाजमा अनगिन्ती समुदाय, भाषा, धर्म–संस्कृति, वर्ग, क्षेत्र, लिङ्गको सम्मिश्रण रहेको हुन्छ । यिनीहरूका बिचमा हुने अन्तर्क्रिया, अन्तर्विरोध, प्रतिस्पर्धा, सहकार्य, प्रतिद्वन्द्विताजस्ता घटनाले नयाँ विचारको जन्म हुन पुग्छ । जसले मानिसमा सोच्ने, सहकार्य गर्ने, प्रतिस्पर्धा गर्ने वा समस्याको उचित व्यवस्थापन गर्ने क्षमताको विकास हुन्छ ।
सञ्चार : विगतदेखि नै मिडियालाई राज्यको चौथो अंग मानिन्थ्यो, तर एआईको विकास हुनुअगाडि मिडिया त्यति सशक्त थिएनन्, तर हाल समाचार, पत्रपत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेट, इमेलजस्ता सञ्चारका माध्यमद्वारा मानिसले विश्वका घटनाका बारेमा जानकारी प्राप्त गर्ने, सूचना आदान–प्रदान गर्ने, विश्लेषण गर्ने भएको हुँदा यसले मानिसको सोचाइमा प्रभाव पार्नुको साथै नयाँ विचारको जन्म हुन्छ ।
प्रविधिको विकास : हरेक आविष्कार मानिसको अध्ययन, अन्वेषण तथा खोजको परिणाम हो । नयाँ सोच–विचारले मात्र नयाँ प्रविधिको विकास गर्छ । नयाँ प्रविधिले पुनः नयाँ विचार उत्पन्न गर्छ । मानिसको सोचले इन्टरनेटको आविष्कार ग¥यो र इन्टरनेटको प्रयोगले मानिसमा नयाँ विचारको बीजारोपण गर्यो ।
यसरी विभिन्न स्रोतबाट उत्पन्न हुने विचारमध्ये देहाय बमोजिमका चार किसिमका विचारबाट मानिस कुनै न कुनै रूपमा प्रभावित भएको पाइन्छ ।
नकारात्मक विचार : असफलता, निराशा, डर, आत्मविश्वासको कमी, आत्मग्लानि, असुरक्षाको अनुभूति तथा समस्याजनित चिन्तनजस्ता मानसिक प्रक्रिया नै नकारात्मक सोच हुन् । नकारात्मक सोचले मानिसको मनोबल घटाउँछ । उन्नति र प्रगतिमा बाधक बन्छ । मनोबलमा कमी आउँछ । समाजमा एक्लोजस्तो हुन्छ । स्वास्थ्यमा समेत नकारात्मक असर पर्छ । यस्तो सोच हुने मानिसले सधैँ नकारात्मक सोच्छन् । चाँदीको घेरालाई पनि सेतो बादलको घेरा देख्छन् । प्रतिस्पर्धात्मक क्षमताको विकास नभएका, असफलता बेहोरेका, खराब स्वास्थ्य स्थिति भएका, कमजोर पारिवारिक स्कुलिङबाट आएका मानिसमा यस्तो सोच रहेको पाइन्छ ।
सकारात्मक सोच : अमेरिकी मनोवैज्ञानिक नर्मन भिन्सेन्ट पिलले सन् १९५२ मा प्रकाशित गरेको ‘द पावर अफ् पोजिटिभ थिङ्किङ’ नामक पुस्तकमा सकारात्मक सोचबारे उल्लेख छ । यो अवधारणाले मानिसको विश्वासमा शक्ति हुन्छ, सकारात्मक मानसिकता हुनुपर्छ । सकारात्मक सोचले मानिसमा आत्मविश्वास बढाउँछ; तनाव कम गर्छ; निराशाबाट मुक्त बल दिन्छ; संघर्ष गर्न प्रेरित गर्छ; डर, त्रास र भयबाट मुक्त हुने आधार दिन्छ; समस्यासँग जुध्न र सफलतापूर्वक सामना गर्न मद्दत गर्दछ ।
सकारात्मक सोच मानिसको ऊर्जा हो; यसले शरीर, दिमाग र आत्मविश्वासमा उत्साहको प्रवाह गर्छ । यस्तो सोच भएका मानिस सफल, स्वस्थ, सुखी र राम्रो सामाजिक सम्बन्ध भएका हुन्छन् । अतः सकारात्मक सोच आधुनिक उपचार पद्धति समेत बन्न पुगेको छ ।
आलोचनात्मक सोच : आलोचनात्मक सोचको जन्म प्राचीन ग्रिस दार्शनिक सुकरात, प्लेटो, अरस्तु आदिबाट भएको पाइन्छ । उनीहरूले आफ्ना शिष्यलाई विभिन्न तरिकाले सोच्न, प्रश्न गर्न, उत्तर दिन प्रोत्साहित गर्दथे । प्लेटोले आफ्नो पुस्तक रिपब्लिकमा विचार वा सोचलाई विशेष रूपमा वर्णन गरेका छन् । आधुनिक युगमा भने रिचर्ड पाउल, जोन डेबी र कार्ल पोपरजस्ता विद्वान्ले आलोचनात्मक सोचको विकासमा महत्त्वपूर्ण योगदान गरेका छन् ।
कुनै पनि सिद्धान्तलाई सही ठहर्याउनुभन्दा पनि त्यसलाई गलत साबित गर्न प्रयास गर्नपर्छ, अनि मात्र सिद्धान्त र दृष्टिकोण थप खारिन्छ भन्ने मान्यता अझ कार्ल पोपरले राख्थे । आलोचनात्मक सोचका आधुनिक सिद्धान्तले आलोचनाले मात्र हरेक क्षेत्रमा सुधार र परिवर्तन ल्याउन सक्छ भन्ने ठान्छन् ।
सारमा आलोचनात्मक विचार भनेको हरेक विषयवस्तु, दृष्टिकोण र घटनाहरूको विश्लेषण गर्ने र मूल्याङ्कन गर्ने प्रक्रिया हो, जस अन्तर्गत तथ्यहरूका आधारमा विश्लेषण गर्ने, जाँच गर्ने, मूल्याङ्कन गर्ने र निष्कर्षमा पुग्ने गरिन्छ । यस्तो सोचले मानिसमा निर्णय क्षमताको विकास हुनुको साथै नयाँ विचारको विकास गर्न सहयोग गर्छ ।
सिर्जनात्मक सोच : हरेक वस्तु वा विचारको जन्म सोचको प्रारम्भिक बिन्दुबाट हुन्छ । विचारका शृङ्खलामध्ये सिर्जनात्मक विचार निकै महत्त्वपूर्ण मानिन्छ । जुन मस्तिष्क मन्थनको हालसम्मको उन्नत प्रक्रिया हो । सिर्जनात्मक सोचले नयाँ–नयाँ विचारको जन्म मात्र दिँदैन, समस्याको प्रभावकारी समाधान पनि गर्छ । सिर्जनात्मक सोचको प्रतिपादन धेरै मनोवैज्ञानिक तथा विचारकहरूको साझा र क्रमबद्ध योगदानबाट भएको हो ।
जसमध्ये, ग्रामवेल वालस, प्रमुख हुन् ।
एडवर्ड डी बोनोले सिर्जनात्मक सोचलाई ‘ल्याटरल थिङ्किङ’का आधारमा परिभाषित गरेका छन् । उनले मानिसहरू परम्परागत सोचको सीमाभन्दा बाहिर गएर समस्या समाधानका नयाँ तरिका पत्ता लगाउनुपर्नेमा विशेष जोड दिएका छन् । उनले परम्परागत धारणामाथि प्रश्न गरी नयाँ सोचको निर्माण गर्न, विशिष्ट र जटिल समस्याको समाधानका लागि सिर्जनात्मक सोचको प्रयोग गर्न, पुराना विचारमाथि संश्लेषण गरी नयाँ तरिकाले पुनः संयोजन गर्न, विचारलाई चरणबद्ध रूपमा विकास गर्दै लैजान र चमत्कारी सोचको विकास गर्न जोड दिएका छन् ।
जेपी गिल्फोर्डले सिर्जनात्मक सोचलाई ‘डाइभर्जेन्ट थिङ्किङ’को अवधारणाका रूपमा प्रस्तुत गरेका छन् । जुन अवधारणाले मानिसहरूले जीवन र जगत्को विभिन्न दिशामा विभिन्न किसिमले सोच्नुपर्नेमा जोड दिएका छन् । यस अवधारणा अनुसार विचारलाई विस्तारित र परिष्कृत बनाउन लचिलो र नवीनतामा जोड दिने, मौलिकतालाई ख्याल गर्नेजस्ता विषय पर्छन् । त्यसैगरी वालसले विषयको गहिरो अध्ययन र अनुसन्धान गर्न मस्तिष्कलाई स्वतन्त्र रूपमा विचार उत्पन्न गर्ने समय र स्वतन्त्रता दिने, मस्तिष्कले समस्या समाधानका लागि पत्ता लगाएको समय र विचारलाई परीक्षण गरी अन्तिम निष्कर्षमा पुग्न जोड दिएका छन् । यसरी सिर्जनात्मक सोचले मानव मस्तिष्कको अभूतपूर्व क्षमताको विकास गर्नुको साथै वर्तमानका समस्याको समाधान खोज्न र गर्न महत्त्वपूर्ण योगदान गर्दछ ।
- सोच कसरी परिवर्तन गर्ने ?
सोच परिवर्तन गर्नु निकै चुनौतीपूर्ण प्रक्रिया हो, असम्भव भने होइन । सर्वप्रथम सोच परिवर्तनका लागि व्यक्तिलाई म कस्तो सोचबाट गुज्रिरहेको छु भन्ने आत्मानुभूति हुनुपर्छ । किनकि मानिसमा रहेको अहं उसको सबभन्दा ठुलो शत्रु र रोग हो । जसले वास्तविकतालाई स्वीकार गर्न हतपत दिँदैन ।
सोच परिवर्तनको सबैभन्दा प्रभावकारी उपाय भनेको आत्ममूल्याङ्कन तथा समीक्षा हो, जसले मानिसलाई वर्तमान सोचका बारेमा आत्मानुभूति गराउँछ । अनि मात्र सोच परिवर्तन गर्ने जटिल प्रक्रियातर्फ डोर्याउँछ । सोच परिवर्तन गर्ने दोस्रो उपाय निरन्तर अध्ययन हो । अध्ययनबाट मानिसले नयाँ ज्ञान र सूचना प्राप्त गर्छ । जसले मानिसको सोचलाई बृहत् बनाउँछ । नयाँ ठाउँमा जाने, नयाँ मानिससँग अन्तर्क्रिया गर्ने, नयाँ गतिविधिमा समावेश हुनेजस्ता कार्यले पनि मानिसको सोचलाई फराकिलो बनाउँछ र नयाँ दृष्टिकोण प्रदान गर्छ । आफ्नो हैसियत अनुसारको लक्ष्य निर्धारणद्वारा पनि सोचमा परिवर्तन ल्याउन सकिन्छ । सोच परिवर्तन गर्ने कुनै जादुको छडी छैन । जसका लागि धैर्यताका साथ निरन्तर प्रयास गर्नुपर्छ । सोच परिवर्तन गर्दा हुन सक्ने जोखिमलाई वहन गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ । किनकि सोच परिवर्तन गर्दाको प्रारम्भिक अवस्थामा निकै ठुलो प्रतिकूलताको सामना गर्नुपर्छ । जसका लागि मानसिक रूपमा तयार रहनुपर्छ । ध्यानले पनि सोच परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । सोच परिवर्तन भन्नाले नकारात्मकबाट सिर्जनात्मकतर्फको सोचको यात्रालाई जनाउँछ ।
- विचारको प्रयोग
मानवीय जीवन र राष्ट्रिय जीवनका प्रत्येक गतिविधि वा क्रियाकलापमा कुनै न कुनै रूपमा विचारको प्रयोग भएको हुन्छ । विचार व्यक्तिले बोकेको हुन्छ भने व्यवहार व्यक्त गरेको हुन्छ । असल विचारले असल व्यवहार र खराब विचारले खराब व्यवहार निर्माण र व्यक्त गर्छ । विचारले व्यक्तिको सैद्धान्तिक पक्षको प्रतिनिधित्व गरेको हुन्छ भने व्यवहारले त्यसको कार्यान्वयन पक्षको प्रतिनिधित्व गरेको हुन्छ । विचार र व्यवहार एक–अर्काका परिपूरक हुन् । विचार एउटा सिङ्गो मान्यता हो भने कुनै घटनासँग सम्बन्धित क्रियाकलाप व्यवहार हो ।
विचारको प्रयोग हरेक क्षेत्रमा हुने भए पनि मुख्य गरी सामाजिक परिवर्तन, नीति निर्माण र अनुसन्धानको क्षेत्रमा हुने विचारको प्रयोगले सर्वाधिक महत्त्व राख्छ । हरेक सामाजिक परिवर्तनमा विचार, समर्पण र त्यागको भूमिका हुन्छ । विचारको हत्या जीवनको हत्याभन्दा सायद पीडादायी हुन्छ । त्यसैले सामाजिक परिवर्तनका नायकले विचारको हत्याभन्दा गोलघरको वास र आत्म बलिदानलाई हाँसीहाँसी स्वीकार गर्छन् । अनुसन्धान नयाँ ज्ञानको खोजी र आविष्कारको जननी हो । जसअन्तर्गत परिकल्पना गर्ने, तथ्याङ्कहरूको सङ्कलन गर्ने र विश्लेषण गरी तार्किक निष्कर्षमा पुग्न विचारको प्रयोग गरिन्छ । नीति निर्माणमा प्रयोग हुने विचारले मुलुकको अर्थ–राजनीतिक, प्रशासनिक, परराष्ट्र, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, योजना, व्यवसायजस्ता क्षेत्रमा कसरी समयानुकूल तथा समसामयिक सुधार गर्ने र देश र जनताको विकास र समृद्धिका लागि उपयुक्त नीति निर्माण गर्न विचारको सर्वोत्तम प्रयोग अपरिहार्य छ, तर सिर्जनात्मक विचारले मात्र सामाजिक परिवर्तन नयाँ नीति निर्माण र अनुसन्धान सम्भव हुन्छ ।