फालिएको कटहरबाट वाइन बनाउँदै वडा
पोखरा । अहिले पनि गाउँघरतिर कटहरलाई गाडी चढाउन मान्दैनन् । त्यसै लैजानु भन्दा पनि लाने कोही हुन्नन् । सबैका घरदेखि वनमा समेत कटहर खेर गइरहेको छ । अहिलेको सिजन रुख कटहरको हो । फालिएकै कटहरबाट गोरखाको सहिद लखन गाउँपालिका ४ ताक्लुङमा चाहिँ वाइन बनाउन थालिएको छ । वडाको पहलमा विदेशबाट फर्केर आएका युवाहरूले वाइन बनाउन थालेका हुन् ।
गाउँभरिका कटहर खरिद गरेर वडामा जम्मा पारिएको छ । प्रतिकिलो वडाले किसानलाई २ रुपैयाँ दिएको छ । ‘एउटै डल्लाबाट २५ देखि ३० रुपैयाँसम्म किसानले कमाउँछन् । विदेशबाट फर्केकाको सीप पनि प्रयोग भयो । किसानको उत्पादन पनि खेर गएन,’ वडाध्यक्ष यामबहादुर थापाले भने, ‘अहिले परीक्षण गरिएको हो । अर्को वर्षदेखि अझै व्यावसायिक बनाउने योजना छ ।’
गाउँघरमा घरेलु मदिरा अहिले पनि उत्पादन भइरहेको छ । नयाँ प्रविधिको प्रयोग गरेर वाइन बनाउन लागिएको थापाले सुनाए । ‘गाउँमा बाहिरबाट रक्सी ल्याएर खाँदा रकम बिदेसिएको छ । स्थानीय रक्सी उत्पादन भए गाउँमै पैसा बस्छ,’ उनले भने, ‘गाउँमा प्रयोग गरेर बढी भएको वाइन मनकामना र गोरखा बजारसम्म लैजान्छौँ । पालिकाबाट स्वीकृति लिने प्रक्रिया पनि अघि बढाएका छौँ ।’
अघिल्लो वर्ष प्रत्येक घरमा १० वटा कटहरको रुख रोप्न वडाले नै सहयोग गरेको थियो । ‘परम्परागत खेती प्रणालीलाई प्रतिस्थापन गरी व्यावसायिक र वैकल्पिक खेतीबाट किसानको जीवनस्तर उकास्ने योजना छ,’ उनले अघि थपे, ‘अघिल्लो वर्ष हामीले रुख कटहर लगाउन प्रोत्साहन गर्यौँ । यो वर्षदेखि उत्पादित कटहर वडाले नै खरिद गरिदिएको छ ।’ अहिले १ टन कटहर खरिद गरिने वडाले जनाएको छ । त्यसबाहेक ताक्लुङ सहकारीले ५ सय किलो सुन्तला सहयोग गरेको छ । त्यसबाट पनि वाइन नै उत्पादन हुनेछ ।
‘अहिले ४ सय लिटर जति उत्पादन हुन्छ । उत्पादन भएका वाइन गाउँका पारखीलाई चखाउने हो,’ थापाले भने, ‘उत्पादन भएपछि ल्याब टेस्टमा पठाउँछौँ । यसको स्वाद र अर्गानिकपनालाई बजारमा बेच्ने योजना बनाएका हौँ ।’ वाइन उत्पादन हुन १५ दिनदेखि डेढ महिनासम्म लाग्ने जानकारहरू बताउँछन् । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै श्रम गरिरहेका तिलबहादुर थापा वडाको योजनाले खुसी छन् ।
‘कटहर टिपेर गभाउन हालेका छौँ । पाकेपछि बियाँ छुट्टाएर गुदीलाई मर्चामा मिसाएर जाँड बनाउने हो,’ उनले भने, ‘१०–१५ दिनपछि पकाएर निकाल्न मिल्छ । प्रविधि जानियो भने राम्रो हुने रहेछ ।’ सधैँ कुहिएर जाने कटहरबाट वाइन बनाउने सुन्दा गाउँले पनि अचम्मित छन् । ‘कुहिएर जान्छ सधैँ । आफन्तलाई दिने, नलगेको कुहिन्छ । अहिले वडाले किन्दा त गाउँले दङ्ग परिरहेका छन्,’ उनी भन्छन्, ‘कहिल्यै मेसै नभएको कुरा देख्दा अचम्म हुने नै भयो ।’ परीक्षण सफल भए आगामी वर्षदेखि ठुलो परिमाणमा वाइन उत्पादनको काम गरिने थापाले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना