बागमती प्रदेश : कांग्रेसले आफ्नो कोटाका सबै मन्त्रीको नाम किन टुङ्ग्याउन सकेन ?
मकवानपुर । बागमती सरकारमा मन्त्री चयनको विषयलाई लिएर कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको छ । केन्द्रबाट प्राप्त निर्देशन अनुसार मन्त्री नियुक्त नगरिएको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको हो ।
बुधबार कांग्रेसले सरकारमा ६ मन्त्री पठाउने तयारी गरेको थियो । तर, मन्त्री बन्नेको लर्को लाग्दा कांग्रेसले आफ्नो कोटाभित्रका मन्त्री पठाउन सकेन ।
भागबण्डामा पाएको ६ मन्त्रालयका लागि ३ दिनदेखि कसरत गरेको कांग्रेसले मन्त्री छान्न सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रवक्ता प्रकाशशरण महतलाई अनौपचारिक रूपमा जिम्मेवारी दिएको थियो । दुवैले केन्द्रको निर्देशन अनुसार मन्त्री छान्ने काम गरिरहेका थिए । तर, उनीहरूको काम सार्थक बनेन ।
डिना र महतले केही सांसदलाई फोन गरेर मन्त्री बन्न हेटौँडा बोलाएका थिए । यद्यपि, बोलाइएकामध्ये धेरै त्यसै फर्किनु प¥यो ।
- के के भयो शपथ ग्रहणमा ?
बुधबार बिहान ११ः११ बजे शपथ ग्रहण गर्ने समय तालिका रहेकोमा कांग्रेसबाट बिहान १० बजेसम्म पनि मन्त्रीको सूची तयार भएको थिएन । डिना र महतले तयार गरेको सूचीप्रति कांग्रेस सांसदहरूले असहमति जनाएको स्रोत बताउँछ ।
शपथ ग्रहणको समयमा समस्या हुने देखिएपछि कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सहजीकरणको काम गरिरहेका थिए ।
कांग्रेसको लाज ढाक्न मन्त्री पक्का गरिएका २ जनालाई शपथ ग्रहण गराउने तयारी बानियाँको थियो । तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रदेश प्रमुखको कार्यालयमा पत्र पुगेको थिएन ।
मुख्यमन्त्रीको शपथ सकिँदासम्म कांग्रेसका मन्त्रीको नाम तयार नहुँदा मन्त्रीहरूको शपथ रोकियो । करिब १५ मिनेटपछि कांग्रेसका ३ र एमालेका ६ मन्त्रीको शपथ हुने निश्चित भयो । विनाविभागीय २ मन्त्रीलाई शपथ गराउने तयारी गरेको कांग्रेसमा अर्का एक मन्त्री थपिए । १५ मिनेटको अवधिमा मुख्यमन्त्री कार्यालयबाट मन्त्री नियुक्तिको पत्र प्रदेश प्रमुख समक्ष पुर्याएर कांग्रेसका कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का र मदुकुमार श्रेष्ठले विभागीय जिम्मेवारीविहीन भएर मन्त्रीको शपथ लिए ।
उनीहरूसँगै एमालेका प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ लिएका थिए ।
- देउवाको लिस्टमा डिना र महतको कैँची
मन्त्री छनोटका लागि सक्रिय बनेका सहमहामन्त्री डिना र प्रवक्ता महतले पार्टी सभापति शेरबहादुर देउवाले सिफारिस गरेका सांसदकै नाम काटेका थिए ।
मुख्यमन्त्री लामासँगै प्रदेशका १२ मन्त्रीकै शपथको तयारी गरिए पनि डिना र महतले आफ्ना सांसदलाई प्राथमिकता दिँदा समस्या भएको हो ।
कांग्रेसबाट मन्त्री छान्न सहमहामन्त्री डिना र प्रवक्ता महतले मंगलबार राति एक होटलमा बसेर काम गरेका थिए । मंगलबार राति अबेरसम्म छलफल गरेर मन्त्रीको सूची तयार पारिएको थियो । राति १० बजे मुख्यमन्त्री लामालाई मन्त्री बन्नेहरूको सूची तयार भएको जानकारी दिइएको थियो । बुधबार बिहानै काठमाडौँ फर्केका महतको सहमतिमा तयार गरेको सूचीमा पुनः डिनाले चलखेल गरेको कांग्रेस संसदीय दलका एक सदस्यले बताए ।
मंगलबार राति कुन्दनराज काफ्ले, सुरेश श्रेष्ठ, श्याम खड्का, विमल ठकुरी, मीनकृष्ण महर्जनको नाम मन्त्रीका लागि छनोट गरिएको थियो । समिता खड्गी, उर्मिला नेपाल, बिनु रायमाझी र हरिप्रभा खड्गीका विषयमा भने केही समस्या देखिएको थियो ।
बुधबार बिहान पुनः मन्त्रीको सूचीमा केही फेरबदल भएको एक सांसदले बताए । बिहान मीनकृष्ण महर्जनको नाम हटाएर एकाएक मदुकुमार श्रेष्ठको नाम प्रवेश गराइएको थियो भने सुरेश श्रेष्ठको नाम हटाएर प्रभात तामाङलाई मन्त्री बनाउने तयारी थियो ।
समिता खड्गी र उर्मिला नेपालबिच भने दुई नेताले सहमति जुटाएका थिएनन् । यद्यपि डिनाको जोडबलमा समिता मन्त्री बन्ने पक्का थियो । ६ मन्त्रीमध्ये महतले आफ्नो कोटामा २ र डिनाले २ मन्त्री बनाउने तयारी गरेका थिए । महतले उर्मिला नेपाल, श्याम खड्कालाई मन्त्री बनाउने कसरत गरेका थिए भने डिनाले समिता खड्गी र मदुकुमार श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेकी थिइन् ।
दुई नेताले आफू अनुकूल मन्त्री छनोट गर्दा सभापति देउवाको सिफारिसमा परेका विमल ठकुरी, आरजु देउवाको सिफारिसमा परेकी बिनु रायमाझी र गगन थापाको सिफारिसमा परेका सुरेश श्रेष्ठ मन्त्री बन्न पाएनन् । सभापति बानियाँको कोटामा मन्त्री बन्न दौरा सुरुवालमा सजिएका मीनकृष्ण महर्जन पनि मन्त्री बन्न पाएनन् ।
- दलितलाई उपेक्षा
तामाङ समुदायबाट पहिलो मन्त्री बनेका कांग्रेसका नेता लामाको क्याबिनेटमा दलित र पिछडिएको वर्गले मन्त्री नपाउने भएको छ । दुवै दलले जनजाति समुदायबाट मन्त्री समेटे पनि दलित र पिछडिएको वर्ग भने मन्त्रीपरिषद्मा समेट्न सकेनन् ।
केन्द्रीय सरकारमा पनि दलित समुदाय मन्त्रीमा नसमेटिएको अवस्थामा प्रदेशमा भने मन्त्री बनाउने चर्चा चुलिएको थियो । यद्यपि कांग्रेस–एमालेबाट एक जना दलित र पिछडिएको क्षेत्रबाट मन्त्री बनाइएन ।
मुख्यमन्त्री लामाले मन्त्री छनोटमा सन्तुलन कायम गर्न नसकेको स्वीकार गरेका छन् । केही प्राविधिक समस्या र असमझदारीका कारण बुधबार नै मन्त्री छनोट गरेर सरकारलाई पूर्णता दिन नसकेको उनले बताए ।
केही दिनमै मन्त्रीपरिषदलाई पूर्णता दिने बताउँदै मुख्यमन्त्री लामाले सबै क्षेत्रलाई समेट््ने प्रयत्न हुने बताए । कांग्रेसले हरेक समुदाय र वर्गको सम्मान हुनेगरी सरकारमा मन्त्री पठाउने उनको भनाइ छ ।
‘निर्णयमा कुनै प्रकारको कमी कमजोरी नहोस् भन्ने हाम्रो चाहना हो । यो एउटा बाध्यातमक परिस्थितिका कारण आजको घटना भयो । हामी ढिलै भए पनि राम्रो हुनुपर्छ भन्ने पक्षमा छौँ,’ उनले भने, ‘कांग्रेसभित्र मन्त्रीहरू टुङ्ग्याउन समस्या छैन । हामीले समन्वय गर्नुपर्ने भएकाले अलिकति समय लागेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसरी बन्यो नेपाली ‘हरर’ फिल्म ‘मम्मी’ ?
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीको चीन भ्रमणदेखि दुर्गा प्रसाईंलाई थप हिरासतमा राख्न अनुमतिसम्म
-
सामाजिक सञ्जाल प्रयोगबारे टिकटकले चलायो छलफल
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो