मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

चार वर्ष यता लगातार घट्दै विराटनगर भन्सारको राजस्व

दुई वर्ष अघि ६० अर्बको लक्ष्य, चालु आर्थिक वर्षका लागि १९ अर्ब घटाइयो
बिहीबार, १० साउन २०८१, ०६ : २३
बिहीबार, १० साउन २०८१

विराटनगर । विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व असुली निरन्तर घट्दो क्रममा देखिएको छ । विगत चार आर्थिक वर्ष यता विराटनगर भन्सार कार्यालयले राजस्व असुली झन्–झन् घट्दै गएको हो ।

यो कार्यालय भन्सार राजस्व असुलीको दृष्टिकोणले वीरगञ्ज र भैरहवा भन्सार कार्यालयपछि तेस्रो ठुलो कार्यालय हो । यो कार्यालयले आर्थिक वर्ष २०७७-०७८ मा ४० अर्ब ८१ करोड ९० लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

उक्त राजस्व असुली निर्धारित लक्ष्यको ८८ दशमलव ४५ प्रतिशत थियो । त्यस यता भने राजस्व सङ्कलनको अवस्था झनै खस्किरहेको छ । आर्थिक वर्ष २०७८-०७९ मा राजस्व असुली झण्डै ४० करोडले कमी आयो । सो वर्ष ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार अर्थात् लक्ष्यको ८१ दशमलव ४१ प्रतिशतमात्रै असुली भयो ।

भन्सार राजस्व सङ्कलन आर्थिक वर्ष २०७९-०८० मा ७ अर्बभन्दा बढीले कमी आयो । सो आर्थिक वर्षमा ६० अर्ब ३ करोड ५२ लाख २४ हजार राजस्व सङ्कलन हुने लक्ष्य राखिए पनि ३३ अर्ब १३ करोड ६६ लाख ६० हजार अर्थात् ५५ दशमलव २० प्रतिशतमात्रै सङ्कलन हुन सक्यो ।

गत आर्थिक वर्ष २०८०-०८१ मा विराटनगर भन्सार कार्यालयले ५० अर्ब ८१ करोड रुपैयाँको लक्ष्य राखेको थियो । तर राजस्व सङ्कलन भने अघिल्लो आर्थिक वर्षको भन्दा ३ अर्ब बढीले कमी आउँदै ३० अर्ब ३५ करोड रुपैयाँ अर्थात् लक्ष्यको ६० प्रतिशतमात्रै सङ्कलन भयो । जबकि, लक्ष्य नै अघिल्लो आर्थिक वर्षको भन्दा १० अर्बले कम गरिएको थियो । उक्त टार्गेट पनि पूरा हुन सकेन ।

Biratnagar Vansar (1)

लक्ष्य अनुसार राजस्व सङ्कलन नहुनुमा आयात व्यापारमा आएको उल्लेख्य कमी मुख्य कारण हो । सरकारले चालु आर्थिक वर्ष (२०८१–०८२) का लागि अघिल्लो आर्थिक वर्षको भन्दा ९ अर्बभन्दा बढीले राजस्वको लक्ष्य घटाएको छ । यस आर्थिक वर्षमा विराटनगर भन्सार कार्यालयले ४१ अर्ब ५५ करोड १६ लाख ३० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य पनि पूरा हुनेमा धेरैले शङ्का गरेका छन् ।

यद्यपि आर्थिक वर्ष २०७७–०७८ मा झण्डै ४१ अर्ब राजस्व सङ्कलन भएको रेकर्ड छ । जुन रेकर्ड चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्यकै हाराहारी हो ।

Biratnagar Vansar (4)विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले चालु आर्थिक वर्षका लागि राजस्व सङ्कलनमा लिएको लक्ष्य प्राप्त गर्नका लागि समग्र अर्थतन्त्र चलायमान हुनुपर्ने बताउँछन् ।

‘समग्र अर्थतन्त्र चलायमान भयो भने सुधार आउँछ’, उनले भने, ‘त्यस्तै स्थानीय उद्योगको क्षमतामा पनि सुधार आउने र कच्चा पदार्थको आयातमा पनि सुधार आउने भएमा राजस्व सङ्कलन हुन सक्ने हामीले विश्वास लिएका छौँ ।’

टार्गेट करेक्सन भएर आएको कारण सोही अनुसार राजस्व सङ्कलन हुने उनको विश्वास छ । ‘अहिले गत वर्षको लक्ष्यको तुलनामा केही करेक्सन भएर आएको हुँदा टार्गेट पूरा गर्न सकिन्छ जस्तो लागेको छ,’ उनले भने ।

यद्यपि २०७२ सालको भूकम्प र कोभिडको समयमा बन्द भएका चीनतिरका नाका खुलेपछि विराटनगरको भन्सार राजस्व असुलीमा केही असर गर्ने उनले बताए । उत्तरी नाका बन्द हुँदा विराटनगर भन्सार हुँदै चीनबाट आउने तयारी कपडा, जुत्ता चप्पल, इलेक्ट्रिक सामानहरू आयात हुने गरेको थियो । पछिल्लो समय उत्तरी नाकाहरू सुचारु भएसँगै ती सामान उतैबाट आयात हुने ढकाल बताउँछन् । त्यसले केही असर गर्नसक्ने उनको आशङ्का छ ।

‘अहिले उत्तरी नाका खुलेपछि भने चीनबाट आउने वस्तुहरू उत्तरी नाकाबाटै आयात हुन थालेको कारण त्यसबाट सङ्कलन हुने राजस्वको अंश स्वाभाविक हिसाबले घट्ने देखिएको छ,’ उनले भने, ‘गत आर्थिक वर्षसम्म यसखालका सामानहरू आयात हुन्थ्यो । तर, तातोपानी नाका सञ्चालनमा आएपछि ती बस्तु आयात त्यही नाकाबाट हुन थाल्यो ।’

Biratnagar Vansar (8)

विगत १३ वर्षमध्ये ६ वटा आर्थिक वर्षमा भने विराटनगर भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०६८-०६९ मा १०१ दशमलव ९२ प्रतिशत, आर्थिक वर्ष २०६९-०७० मा १०४ दशमलव ३८ प्रतिशत, आर्थिक वर्ष २०७०-०७१ मा १०१ दशमलव २५ प्रतिशत, आर्थिक वर्ष २०७२-०७३ मा १०६ दशमलव ०८ प्रतिशत, आर्थिक वर्ष २०७३-०७४ मा १०० दशमलव २० प्रतिशत, आर्थिक वर्ष २०७४-०७५ मा १०५ दशमलव ०२ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

Biratnagar Vansar (12)

१३ वर्ष अगाडि आर्थिक वर्ष २०६८-०६९ मा विराटनगर भन्सार कार्यालयको राजस्व सङ्कलन ११ अर्ब ७ करोड ५० लाख ९१ हजार थियो । १३ वर्षपछि भने राजस्व सङ्कलनको दर बढेर ४० अर्ब हुँदा गत आर्थिक वर्ष ३० अर्बमा झरेको छ ।

bhansar dataBiratnagar Vansar (3)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप