सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, ०९ साउन २०८१, २१ : ४४
बुधबार, ०९ साउन २०८१

आज २०८१ साउन ९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • सौर्य एयरलाइन्स दुर्घटना

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरलाइन्स दुर्घटना भएको छ । यसअघि २०७९ माघ १ गते काठमाडौँबाट उडेको विमान पोखरामा दुर्घटना भएको थियो । त्यसपछि मानवीय क्षति हुने गरी आज दुर्घटना भएको हो ।

  • बिचौलियाको बिगबिगी

निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको बुधबार संसदीय समितिमा सुनुवाइ गरिएको छ । सिंहदरबारस्थित सुनुवाइ समितिको बैठकमा सांसदहरूले प्रधानमाथि उजुरीमा आएका नैतिकता सम्बन्धी प्रश्नहरू गरेका छन् । ती प्रश्नहरूको उनले खुलेर प्रतिवाद गर्न सकेनन् । 

  • लुम्बिनी प्रदेश

 एकल महिलालाई अपहरण र बेपत्ता पारेको आरोप लागेका सांसद बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको मन्त्रिपरिषद्मा बादशाह नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेका हुन् । उनको जिम्मेवारी भने तोकिएको छैन ।

  • प्रदेश सरकार

 केन्द्रमा नयाँ सत्ता समीकरण बनेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै बागमती र लुम्बिनीमा पनि नयाँ समीकरण अनुसार सरकार गठन भएका छन् । बागमती प्रदेशमा कांग्रेस नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ भने लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ ।

  • रुसी सेना

रुस-युक्रेन युद्धमा परेका ३ सय २३ जना नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ । सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको सङ्ख्या ११६ जना रहेको परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिएकी हुन् ।

  • भारतको सहयोग

भारतले साउन ८ गते आर्थिक वर्ष २०२४/०२५ को बजेट सार्वजनिक गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको बजेटमा नेपाललाई सात अर्ब भारु (नेपाली ११ अर्ब २० करोड) विनियोजन गरिएको छ ।

  • किन एक्लिए उपेन्द्र यादव ?

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको प्रेस सल्लाहकार रही सकेका वरिष्ठ पत्रकार सीताराम आग्रहरीले मंगलबार आफ्नो फेसबुकमा लेखेका छन्, ‘जसपा नेपाल र उपेन्द्रजी समक्ष एउटा ठुलो अवसर आएको थियो । कुनै कुनै दुःख पनि केही दिन आउँछ । विपत्ति पनि एउटा अवसर हो । मलाई लाग्दछ उपेन्द्रजी यो अवसरमा नराम्ररी चुक्दै हुनुहुन्छ ।’

  • राजश्व असुली

पर्यटन विभागका अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्य (गत असार मसान्त)सम्म २१ वटा क्यासिनोले राजस्व बुझाएर दर्ता नवीकरणपत्र लिएका छन् । ती क्यासिनोबाट एक अर्ब ३३ करोड ७८ लाख ९२ हजार २०० रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

  • नरबहादुर कर्माचार्य

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज ११औँ स्मृति दिवस । आजकै दिन अर्थात् २०७० साउन ९ गते कर्माचार्यको निधन भएको थियो ।  १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मेका कर्माचार्य २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलन लागेका थिए ।

  • सर्वोच्चको फैसला

सर्वोच्च अदालतले कर्मचारी समायोजन प्रक्रियाबारे कानुनी व्याख्या गर्दै सरकारद्वारा तोकिएको स्थानमा काम गर्नु राष्ट्रसेवक कर्मचारीको मूलभूत कर्तव्य हुने जनाएको छ । राजपत्राङ्कित द्वितीय श्रेणीका रुद्रप्रसाद पौडेल र यादव पद्धयोतीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप