आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरु

बुधबार, ०९ साउन २०८१, २१ : २१
बुधबार, ०९ साउन २०८१

काठमाडौँ । सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ । 

बुधबार बिहान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूमध्ये चार जनाको पोस्टमार्टस सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । 

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले साँझ ५ बजेदेखि सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरु गरिएको बताए । उनले पोस्टमार्टस सुरु गरेका चार जनाको आज नै सक्ने गरी परीक्षण भएको बताए । उनले मृतकहरूको जतिसक्दो छिटो पोस्टमार्टम सक्नेगरी निरन्तरता दिइने बताए । उनले अस्पताले सकेसम्म ७२ घण्टाभित्र मृतकका आफन्तलाई शव बुझाउने तयारी गरिरहेको बताए । 

चौधरीलेले मृतकहरूको प्राय सबै शरीर जलेकाले पोस्टमार्टममा समय लाग्ने भन्दै परिवारले दिएको विवरण अनुसार सकेसम्म चाडै सक्ने बताए । उनले अस्पतालमा जनशक्ति थोरै भएकाले पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर र पोखराबाट समेत डाक्टरहरुलाई बोलाएको बताए । उनले एउटा शवको पोस्टमार्टम सक्नका लागि कम्तीमा ४ घण्टा समय लाग्ने बताए । उनले शव धेरै जलेकाले सकेसम्म चाँडो सक्नेगरी काम अघि बढाएको बताए ।

चौधरीले शवहरू आफन्तलाई बुझाउँदा ‘कस्मेटिक सर्जरी’ गरिने बताए । उनले पोस्टमार्टमका लागि शिक्षण अस्पतालका २५ जना चिकित्सकहरू खटिएको बताए । उनले सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका संकेतहरू (खत, ट्याटु लगायत) हेरिने बताए । उनले त्यस्ता साइनबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने उल्लेख गरे । उनले यदी कुनै शव पहिचान गर्न नसकेर डीएनएको प्रक्रियामा जान परेको खण्डमा कम्तीमा दुई हप्ता लाग्ने बताए । 

अस्पताल परिसरमा आफन्त गुमाएका आफन्तहरू भावविह्वल अवस्थामा शव कुरेर बसिरहेका छन् । विमान दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । घाइते भएका पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप