सौर्य एयरलाइन्सको विमान दुर्घटना– दिनभर के–के भयो ?
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरलाइन्स दुर्घटना भएको छ । यसअघि २०७९ माघ १ गते काठमाडौँबाट उडेको विमान पोखरामा दुर्घटना भएको थियो । त्यसपछि मानवीय क्षति हुने गरी आज दुर्घटना भएको हो ।
यस क्रममा विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु घटनास्थलमा नै भएको छ । पाइलट मनिषरत्न स्थापित भने खतरामुक्त बनेका छन् । पोखरामा प्राविधिक परीक्षणका लागि उडान भरेको विमानमा कर्मचारीमा नाम राखेर १९ जना चढेका थिए । कम्पनीको वेबसाइटमा राखिएको सूचीअनुसार ५ जना व्यवस्थापक टिममा भएको पाइएको छ ।
भएको के थियो ?
बिहान ११ बजेर ११ मिनेटमा उडान सौर्य एयरलाइन्सको ‘९एनए एमई’ विमानले उडान अनुमति पाउँछ । त्यसपछि ०२ धावनमार्गमा पुगेर उडान भर्दा ११ बजेर १३ मिनेट गइसक्छ । सीसीटीभी फुटेजअनुसार ११ बजेर १३ मिनेट ०७ सेकेन्ड जाँदा विमानले धावनमार्ग छाड्छ र लगत्तै अनियन्त्रित बन्दै दाहिने मोडिन्छ ।
१३ मिनेट गएर ८ सेकेन्ड जाँदासम्म जहाज पूर्णरुपमा नै भुईँमा ठोकिन्छ । केही सेकेन्डभित्र आगो र धुवाँको मुस्लो देखिन्छ ।
विमान लगातार घिस्रिँदै परसम्म पुग्दा १३ सेकेन्ड गइसक्छ । फुटेजमा देखिएअनुसार त्यति बेलासम्म विमानस्थलमा खटिएका कर्मचारीले राम्रोसँग भेउ नै पाइसकेका हुँदैनन् । उनीहरू अलमलमा देखिन्छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार विमान दाहिने मोडिँदा खोँचमा परेको थियो । अत्यधिक दाहिने मोडिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्राधिकरणको भनाई छ ।
मर्मतका लागि जाँदै थियो पोखरा
विमानस्थलमा दुर्घटनामा परेसँगै सौर्य एयरलाइन्सको सो विमान पोखरामा मर्मत र प्राविधिक परीक्षणका लागि उडेको तथ्य खुल्यो । विमान कम्पनीले दिएको जानकारीअनुसार मर्मतका लागि भन्दै कर्मचारीको सूचीमा यात्रुलाई समेत बोकेर हिँडेको पाइयो ।
विमानलाई प्रत्येक २ वर्षमा अनिवार्य मर्मत गर्नुपर्ने प्रावधानअनुसार पोखरा उडेको थियो । मंगलबार मात्रै एयरलाइन्स कम्पनीले जुलाई २४ देखि १ महिनाका लागि पोखरा विमानस्थलमा ‘ह्याङ्गर’ भाडामा मागेको थियो । नेपालगन्जमा पनि ह्याङ्गर भए पनि विमानले पोखरा नै रोजेको थियो ।
पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्र कुवरले नेपालगञ्ज टाढा पर्ने भएकाले सबैले पोखरा नै रोज्ने बताए । यसबाहेक अरु खर्च समेत कम हुने भएकाले पोखरामा रोज्ने गरेको उनको भनाई छ । खासगरी विमान ‘सी–चेक’का लागि पोखरा उडेको थियो । यो भन्नाले उडान भन्नै नमिल्ने भन्ने नहुने तर परीक्षणसहित मर्मतको काम हुन्छ ।
विज्ञहरूका अनुसार विमानको मर्मत ४ प्रकारका हुन्छन् । विमानमा ‘ए’देखि ‘डी’सम्म विभिन्न प्रकृतिका मर्मत गरिन्छ । यसमध्ये ‘सी–चेक’ २ वर्षको अन्तरालमा गरिन्छ । यसमा विमानको पार्टपुर्जाको सूक्ष्म मर्मत गरिने जानकारहरू बताउँछन् ।
१९ जना यात्रु सवार, १८ जनाको मृत्यु
विमान दुर्घटना भएपछि सुरुमा सवार यात्रुको सङ्ख्या नै जानकारी भएन । त्यसपछि विमानमा चालकसहित १९ जना यात्रु भएको तथ्य बाहिर आयो । लगत्तै दुर्घटनास्थलमा २ जनाको शव नै भेटियो । दुर्घटनापछिको तस्बिर हेर्दा सवार यात्रु सबैको मृत्यु भएको सहज आङ्कलन भइसके पनि उद्धार हुँदै गर्दा केही आशा थियो ।
तर दुर्घटनाको केही समयपछि नै नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीले १८ जनाको मृत्यु भएको पुष्टि गरे । यस्तै पाइलट मनिषरत्न शाक्यको उद्धार गरेर केएमसी सिनामंगलमा पठाइयो । प्लेनमा सवार १९ जनामध्ये १ जना येमनी नागरिक समेत थिए ।
मृत्यु हुने अन्यमा अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्दव पुरी, यज्ञप्रसाद पौड्याल छन् । यस्तै, सन्तोष महतो, पुण्यरत्न साही, अरिफ रेडा (यमनी नागरिक) र सुशान्त कटुवाल (को–पाइलट) को समेत मृत्यु भएको प्राधिकरणले पुष्टि गरेको छ । दुर्घटनामा मृत्यु भएका यात्रुको शव त्रिभुवन शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।
गृहमन्त्री लेखक र प्रधानमन्त्री ओली दुर्घटनास्थलमा
दुर्घटना भएको जानकारी पाउनासाथ गृहमन्त्री रमेश लेखक दुर्घटनास्थल पुगेका थिए । उनी विमानस्थल दुर्घटनास्थल पुगेको केही समय लगत्तै ओली प्रधानमन्त्री केपी शर्मा ओलीसमेत दुर्घटनास्थल पुगेका थिए । यसैगरी पर्यटनमन्त्री बद्री पाण्डेसहित उच्च अधिकारी समेत दुर्घटनास्थल पुगेका थिए ।
डेढ घण्टा विमानस्थल बन्द
बिहान ११ बजेर १३ मिनेट जाँदा भएको दुर्घटनापछि विमानस्थलको सम्पूर्ण टोली उद्धारमा खटियो । धावनमार्ग नजिक दुर्घटना भएकाले उद्धारलाई प्राथमिकता दिँदा नियमित उडान र अवतरण प्रभावित बन्यो । आन्तरिक तथा अन्तर्राष्ट्रिय अवतरण रोकिएर विमान डाइभर्ट समेत भए ।
बंगलादेशबाट काठमाडौँ आइरहेको विमान बंगलादेशको बीबीसी ३७१ विमान सिमराको आकाशमा नै होल्ड भयो । यस्तै थाई एयरवेजको विमान भारतीय आकाशमा नै होल्ड भएको थियो । सो विमान विहारको सितामढीको आकाशमा होल्ड भएको थियो । यसैगरी मलेसियाबाट काठमाडौँ आइरहेको मलेसियन एयरको विमान समेत होल्ड भएको थियो ।
विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको डेढ घण्टापछि खुलेको थियो । ११ बजेर १३ मिनेट जाँदादेखि बन्द भएको १२ बजेर ५३ मिनेट जाँदादेखि खुलेको सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
कम्पनीका ६ जना व्यवस्थापकको मृत्यु
विमान कम्पनीका ५ जना व्यवस्थापकको मृत्यु भएको छ । सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटना हुँदा कम्पनीकै व्यवस्थापन समूहका ५ जना सवार थिए । जसमा चिफ अफ सेफ्टी सागर आचार्य, सीए एमओ म्यानेजर अश्विनकुमार निरौला, म्यानेजर मेन्टेनेन्स यज्ञप्रसाद पौड्याल, चिफ अफ अपरेसन्स मनिषरत्न शाक्य र चिफ अफ क्यूए दिलीप वर्माको मृत्यु भएको हो । यस्तै को–पाइलट सुशान्त कटुवालको समेत मृत्यु भएको छ ।
पोस्टमार्टम सकिन ३ दिन लाग्ने
मृतक सबैको शव त्रिभुवन शिक्षण अस्पतालमा पुर्याइएको छ । १८ जनाकै शवको पोस्टमार्टम गर्न ३ दिन लाग्ने अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले रातोपाटीलाई बताए । शवको पहिचान ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ प्रणाली भनिने चिकित्सकको भनाई छ । दुर्घटनामा एक बालकसहित १७ जना पुरुष र एक महिलाको मृत्यु भएको थियो ।
एउटै परिवारका तीन जनाको मृत्यु
जहाजमा सवार एउटै परिवारको तीन जनाको मृत्यु भएको खुलेको छ । श्रीमान्, श्रीमती र छोरासहित एउटै परिवारको तीन जनाको मृत्यु भएको हो । कम्पनीले सबै कर्मचारी भने पनि उनीहरू सबै जना विमानको कर्मचारी नभएको पाइएको छ । मनुराज शर्मा (श्रीमान्), प्रिजा खतिवडा (श्रीमती) र अधिराज शर्मा (छोरा)को मृत्यु भएको हो ।
पाइलट खतरामुक्त
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । उनको आँखाको अप्रेसन गरिएको अस्पतालका एक अधिकारीले बताए । अस्पतालका अनुसार उनी हाल बोल्न सक्ने अवस्थामा छन् । उनको शरीरमा जलन नभएर चोटमात्र देखिएको अस्पतालको भनाइ छ ।
छानबिन गर्न आयोग गठन
सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन रहेका छन् । त्यसै गरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डङ्गोल रहेका छन् ।
आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सरकारले दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यस्तै सरकारले बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय समेत सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता