चीनसँग नेपाल थप सम्बन्ध बनाउन इच्छुक
काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्सालले चीन सरकारसँग व्यापार, पर्यटन, लगानी, शिक्षा, संस्कृति र जनता बिचको सम्बन्धलाई थप उचाइमा पुर्याउन नेपाल इच्छुक रहेको बताएकी छिन् । चीनको विदेश मन्त्रालय र युनान प्रान्तको सरकारले युनान प्रान्तको कुनमिङमा आयोजना गरेको पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चमा बुधवार आफ्नो धारणा राख्दै सो कुरा बताएकी हुन् ।
नेपाल र युनानबिच गहिरो सम्बन्ध रहेको बताउँदै उनले पोखरा र कुनमिङ बिचको भगिनी सहर सम्बन्ध, युनान विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीको ठुलो सङ्ख्या, उच्चस्तरीय भ्रमणको आदानप्रदानले यी सम्बन्धलाई थप सुमधुर बनाएको उनले बताइन् । यसबाहेक, कुनमिङ सहरबाट काठमाडौँसम्मको सिधा उडान नेपाली जनताका लागि अर्को अवसर रहेको उनले जिकिर गरिन् ।
नेपालले नेपाल लगानी शिखर सम्मेलन २०२४ सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै उनले शिखर सम्मेलनमा चिनियाँ लगानीकर्ताहरूको ठुलो सहभागिताबाट आफूहरू उत्साहित भएको बताइन् । उनले भनिन्, ‘चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एसोसिएसन (सीआईडीसीए) का अध्यक्ष र निजी क्षेत्र लगायत चीनका अन्य उच्चस्तरीय अधिकारीहरूको उपस्थितिले दुई देशबिचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।’
चीन एफडीआईको सबैभन्दा ठुलो स्रोत देश र नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार देश रहेको बताउँदै सचिव लम्सालले नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा चीनमा नेपाल भ्रमण वर्ष २०२५ संयुक्त रूपमा मनाउन गइरहेको बताइन् ।
आठ हजारभन्दा बढी नेपाली उत्पादनमा भन्सारमुक्त कोटा निःशुल्क पहुँच उपलब्ध गराएकोमा नेपालले चीन सरकारको प्रशंसा गर्दै उनले नेपाली उत्पादनलाई फराकिलो प्राथमिकताका साथ व्यापारिक सुविधा उपलब्ध गराउने विषयमा प्राथमिकताका साथ विचार गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
उनले अन्तर सरकारी र उच्च–स्तरीय नीति संवादको लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा यो फोरम रहेको बताउँदै यसले आर्थिक र व्यापारिक सहयोगको वृद्धि स्तरका साथै दक्षिण एसिया क्षेत्रमा जनता–जनताको आदानप्रदानका लागि सामूहिक तालमेल जुटाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चको विषय, क्षेत्रीय विकासका लागि व्यापक सहमति समयसापेक्ष र सान्दर्भिक रहेको बताउँदै उनले फोरमले दक्षिण एसिया क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको जिकिर गरिन् ।