मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

इजरायलले नेपाली केयरगिभरको कोटा बढाएसँगै बिचौलियाको बिगबिगी

बुधबार, ०९ साउन २०८१, १८ : ५९
बुधबार, ०९ साउन २०८१

काठमाडौँ । इजरायलले नेपाली केयरगिभरको कोटा बढाएसँगै बिचौलियाको बिगबिगी बढ्न थालेको छ । केयरगिभरका लागि आवेदन आह्वान हुनासाथ बिचौलियाहरू सक्रिय देखिएका हुन् ।

परीक्षामा पास गराइदिने भन्दै गिरोह सक्रिय भइरहेकोबारे वैदेशिक रोजगार विभागमा सूचना तथा उजुरी पर्न थालेको छ । विभागले त्यस्तो गिरोहबाट सचेत रहन सबैमा आग्रह गरेको छ ।

इजरायलमा कामदार पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिले अनधिकृत रूपमा रकम असूली गरेको भन्ने जानकारी आएको भन्दै विभागले सचेत रहन सूचित गरेको हो । विभागले त्यस्ता ठगी तथा गलत प्रचार गर्ने गिरोहबाट सचेत रहन र त्यस्ताका बारेमा विभागमा सूचना दिनसमेत अनुरोध गरेको छ ।

नेपाल र इजरायलबिच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । सोही आधारमा नेपालीलाई सरकारले नै इजरायलमा काम गर्न पठाउँदै आएको छ । त्यो बेला केयरगिभरका लागि न्यूनतम तलब ५३०० इजरायली मुद्रा (सेकेल)  तोकिएको थियो । अहिले न्यूनतम तलब ५८८० इजरायली मुद्रा (सेकेल) तोकिएको छ ।

इजरायलले दुई हजार स्वास्थ्य सहायक (केयरगिभर) लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदरबिच भएको भेटवार्तामा दुई हजार कामदार लैजाने सहमति भएको हो ।

यसअघि गत असार ११ गते सूचना निकालेर वैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन माग गरेको थियो । जसमा ५०० मुख्य र ३०० जना वैकल्पिक उम्मेदवार थिए । त्यसका लागि आवेदन दिने म्याद साउन ११ गतेसम्म छ ।

इजरायलले त्यही ८०० कोटामै थप १२०० लैजाने भएको हो । यसअघि ५०० मुख्य र ३०० वैकल्पिक मागेकोमा अब मुख्य एक हजार र वैकल्पिक पनि एक हजार नै माग गरेको हो ।

थपिएको कोटा अहिलेकै आवेदन प्रक्रिया मार्फत अगाडि बढ्छ वा के हुन्छ भन्ने धेरैको प्रश्न छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले हालकै आवेदन प्रक्रियामार्फत उनीहरू पनि जान पाउने बताए ।

‘अहिले आवेदन प्रक्रिया खुला नै छ । साउन ११ गतेसम्म म्याद छ । त्यसैले पर्याप्त मात्रामा आवेदन आउँछन्,’ महानिर्देशक घिमिरेले भने, ‘सबै मापदण्ड पूरा गरेर छनोट प्रक्रिया अगाडि बढाउँछौँ । ८०० बाट कोटा बढाएर दुई हजार पुर्‍याइएको हो । यसका लागि थप नयाँ प्रक्रियामा जानुपर्दैन ।’

आवेदन दिने समय सकिएपछि विभागले छनोट प्रक्रिया अगाडि बढाउने महानिर्देशक घिमिरेले बताए । त्यसका लागि विभागले विभिन्न मापदण्ड तोकेको छ ।

नेपालले वर्षौंदेखि इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउँदै आएको छ । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबिच युद्धका कारण इजरायलमा नेपाली कामदार पठाउनुलाई कतिपयले चिन्ताको विषय बताइरहेका छन् । तर, श्रम मन्त्रालयले भने केयरगिभरको हकमा सुरक्षा जोखिम नरहेको दाबी गर्दै आएको छ ।

इजरायलले ‘जी टु जी’ मार्फत केयरगिभर मात्र नभइ कृषि क्षेत्रका लागि समेत कामदार पठाउन अनुरोध गर्दै आएको छ । तर, नेपाल सरकारले त्यो विषयमा हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

आवश्यक कागजात पेस नभएका आवेदन रद्द हुने

केयरगिभरका लागि अनलाइन मार्फत आवेदन प्रक्रिया चलिरहेको छ । हालसम्म दुई हजार पाँच सयको हाराहारीमा आवेदन परेका छन् । तर, अनलाइन मार्फत फारम भरेका कतिपय आवेदनमा आवश्यक कागजात पेस नगरिएको विभागले जनाएको छ ।

तोकिएको समयसीमाभित्र आवश्यक कागजात पेस नहुने आवेदन अस्वीकृत हुने विभागले जनाएको छ । आवेदकहरूको आफ्नो ड्यासबोर्ड र इमेलमा प्राप्त भएका आवेदन प्रमाणीकरण र स्वीकृत गर्ने समयसीमा साउन १८ गतेसम्मका लागि तोकिएको छ । माग गरिएका आवश्यक कागजात तोकिएको समयभित्र अपलोड गर्न विभागले अनुरोध गरेको छ ।

साउन १७ गतेसम्म भूलसूधार गर्ने मौका रहेको र त्यो समयभित्र नगरिएको खण्डमा आवेदन स्वतः अस्वीकृत हुने महानिर्देशक घिमिरेले बताए ।

विभागले गत असार ११ गते सूचना निकालेर केयरगिभरका लागि आवेदन दिन आह्वान गरेको थियो । त्यसका लागि विभिन्न योग्यता तोकिएको थियो ।

यस्ता छन् योग्यताका शर्त

· २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने ।

· कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने ।

· कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने ।

· प्रवेशाज्ञाको लागि प्रक्रिया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा ३ वर्ष रहनुपर्नेछ ।

· विगतमा इजरायलमा गएर काम नगरेको हुनुपर्ने ।

· बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने ।

· मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुपर्ने ।

कति लाग्छ खर्च ?

सहायक कामदार छनोटका लागि कामदार स्वयंले बेहोर्नुपर्ने खर्चसमेत विभागले आवेदन आह्वान गर्ने बेला नै सार्वजनिक गरेको थियो । जसमा छनोट भएर इजरायल जाने भएपछि लाग्ने हवाई भाडा कामदार स्वयंले बेहोर्नुपर्ने छ । त्यस्तै स्वास्थ्य बीमाका लागि लाग्ने अनुमानित खर्च उमेर अनुसार तीन हजार ७०८ रुपैयाँदेखि चार हजार ९३१ रुपैयाँसम्म तिर्नुपर्नेछ ।

त्यस्तै पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि तोकिएको रकम दुई हजार १०० रुपैयाँ (अदालतको आदेशपछि उक्त शुल्क कायम भएको थियो) तिर्नुपर्नेछ ।

त्यस्तै स्वास्थ्य परीक्षण १० हजार, अंग्रेजी भाषा परीक्षण करिब ५ हजार, वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम १५००, सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम दुई हजार ३०८ रुपैयाँ समेत कामदार स्वयंले नै  बेहोर्नुपर्ने विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप