आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
असुरक्षित आकाश

१८ महिना नबित्दै अर्को ठुलो हवाई दुर्घटना

हवाई दुर्घटनाको शृङ्खला– १८ वर्षमा ३६ दुर्घटना, ६३६ को मृत्यु
बुधबार, ०९ साउन २०८१, १८ : ५३
बुधबार, ०९ साउन २०८१

काठमाडौँ । २०७९ माघ १ गतेको पोखरा यति एयरलाइन्स दुर्घटनाको १८ महिना नबित्दै फेरि नेपाली अकासमा अर्को ठुलो हवाई दुर्घटना भएको छ । बुधबार बिहान काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज उडान भर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो । 

विमानमा चालक दलसहित १९ जना सवार थिए । जसमध्ये १८ जनाको मृत्यु भएको छ भने क्याप्टेन मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको छ । क्याप्टेन शाक्यको अहिले काठमाडौँ शिक्षण अस्पताल (केएमसी) सिनामंगलमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

१८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरलाइन्सको यो दुर्घटना गत माघमा पोखरामा दुर्घटना भएको यती एयरलाइन्स दुर्घटनापछिकै अर्को ठुलो दुर्घटना हो । १८ महिनाअघि पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन–एएनसी जहाजमा चालक दलका चार जनासहित ७२ जनाको मृत्यु भएको थियो । 

  • सौर्य एयरलाइन्स दुर्घटनाको तथ्य

बुधबार काठमाडौँबाट पोखरा जाँदै गरेको सीआरजे २०० जहाज नियमित मर्मतका लागि पोखरा जान लागेको थियो । जहाजमा कम्पनीकै प्राविधिकसहित केही बाहिरका यात्रुहरू समेत सवार थिए । एयरलाइन्सबाट उपलब्ध जानकारी अनुसार १७ जना यात्रुहरूमध्ये एक जना बालकसहित १६ जना पुरुष र एक जना महिला छन् । दुई जना चालक दलमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट सुशान्त कटवाल थिए । जसमध्ये पाइलट शाक्य मात्र जीवित छन् ।

  • १८ जना मृतकको विवरण

१.अमितमान महर्जन

२.सागर आचार्य

३.दिलिप बर्मा

४.मनुराज शर्मा

५.आश्विन निरौंला

६.सुदिपलाल जोशी

७.सर्वेश मरासिनी

८.श्याम विन्दुकार

९.नवराज अली

१०.राजाराम आचार्य

११.प्रिजा खतिवडा

१२.अधिराज शर्मा (बालक)

१३.उद्धव पुरी

१४.योग्यप्रसाद पौड्याल

१५.सन्तोष महतो

१६.पुण्य रत्न शाही

१७.अरिफ रेडा (यमनी)

१८.सुसान्त कट्वाल (को–पाइलट) रहेका छन् । 

जहाजले बिहान ११ः११ बजेट टेकअफ (उडान) गर्दै थियो । रनवे छोडेको केही सेकेन्डमा नै जहाज अनियन्त्रित भएर जमिनमा बजारिन पुगेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । जहाज दुर्घटनामा परे लगत्तै उद्धारमा खटिए पनि क्याप्टेनबाहेक अरूलाई जीवित उद्धार गर्न नसकिएको त्रिभुवन विमानस्थलका प्रबन्ध निर्देशक जगन्नाथ निरौलाले बताए । 

घाइते क्याप्टेन शाक्यको केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने मृतक १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । 

  • सन् २००६ यता ३६ हवाई दुर्घटना ६३६ को मृत्यु

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९६० यता नेपाली आकाशमा ६० भन्दा बढी विमान दुर्घटनामा परिसकेका छन् । यसमध्ये ३६ वटा सन् २००६ यता (१८ वर्षमा) मात्र दुर्घटनामा परेका हुन् । साना ठुला हवाई दुर्घटनामा हालसम्म ६३६ जनाले ज्यान गुमाइसकेका छन् । 

पछिल्लो समय १८ महिनाअघि पोखरामा दुर्घटना परेको यती एयरलाइन्स (७२ जना) र आजको सौर्य एयरलाइन्स (१८ जना) नेपाली आकाशमा घटेका दुई ठुला दुर्घटनाहरू हुन् । 

सन् २००६ यताको दुर्घटनाको शृङ्खला

  • जुलाई २४, २०२४ –काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको विमान काठमाडौँमा दुर्घटना, १८ जनाको मृत्यु, एक जना घाइते
  • जनवरी १५, २०२३ –काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना, ७२ जनाको मृत्यु
  • मे २०२२ – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटना, २२ जनाको मृत्यु
  • अप्रिल २०१९ – सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना, ३ जनाको मृत्यु (धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोक्किँदा)
  • फेब्रुअरी २०१९ – ताप्लेजुङको पाथीभरा नजिक एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु (खराब मौसमका कारण)
  • सेप्टेम्बर २०१८ – गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटको सीमामा दुर्घटना, एक जापानीसहित ६ जनाको मृत्यु
  • मार्च २०१८ – बंगलादेशबाट नेपाल आएको युएस–बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
  • फेब्रुअरी २०१६ – पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
  • मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरिकोटनजिकै दुर्घटनाग्रस्त, ६ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र ५ जना सर्वसाधारण गरी १३ जनाको मृत्यु
  • जून २०१५ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डर्सले चार्टर गरेको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु
  • मार्च २०१५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किस एयरको विमान धावन मार्गबाट चिप्लियो, ४ दिन विमानस्थल बन्द
  • फेब्रुअरी २०१४ – पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटना, १८ जनाको मृत्यु
  • सेप्टेम्बर २०१२ – काठमाडौँबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना, १९ जनाको मृत्यु
  • मे २०१२ – भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटना, १९ जनाको मृत्यु
  • सेप्टेम्बर २०११ – हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाडौँ नजिकै कोत डाँडामा दुर्घटनाग्रस्त, नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
  • डिसेम्बर २०१० – लामीडाँडाबाट काठमाडौँ उडेको विमान ओखलढुङ्गामा दुर्घटना, २२ जनाको मृत्यु
  • अगस्ट २०१० – काठमाडौँबाट लुक्लातर्फ उडेको विमान दुर्घटना, १४ जनाको मृत्यु
  • अक्टोबर २००८ – लुक्ला विमानस्थलमा अवतरण गर्दै गरेको विमान दुर्घटना, १८ जनाको मृत्यु, एक घाइते
  • सेप्टेम्बर २००६ – सङ्खुवासभाको घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटना, २४ जनाको मृत्यु, (तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के लगायतको मृत्यु भएको)

सन् २०११ देखि हालसम्म दुर्घटनामा परेका विमानहरू

  • मल्टिइञ्जिन विमान– १५ वटा
  • हेलिकप्टर– १२ वटा
  • सिंगल इन्जिन विमान– ४ वटा
  • मनोरञ्जन प्रयोजनका हलुका विमान– ३ वटा
  • विदेशी विमान– २ वटा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप