मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

महिला एसिया कप क्रिकेट : मलेसियालाई हराउँदै बंगलादेश सेमिफाइनल नजिक

बुधबार, ०९ साउन २०८१, १७ : २४
बुधबार, ०९ साउन २०८१

काठमाडौँ । श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न खेलमा बंगलादेशले मलेसियालाई एक सय १४ रनले हराएको छ । जितसँगै बंगलादेशले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना पनि बलियो बनाएको छ ।

लगातार तेस्रो हारसँगै मलेसिया भने उपाधि होडबाट बाहिरिएको छ । दुई खेलबाट चार अंक जोडेको आयोजक श्रीलंका समूह ‘बी’ तालिकाको पहिलो स्थानमा आसिन छ । तीन खेलबाट चार अंक बटुलेको बंगलादेश दोस्रो स्थानमा छ ।

दुई खेलबाट दुई अंक हात पारेको थाइल्यान्ड तालिकाको तेस्रो स्थानमा छ । समूह ‘बी’ को अन्तिम खेल बुधबार राति श्रीलंका र थाइल्यान्डबिच खेलिने छ । त्यो खेलमा पराजित भए थाइल्यान्ड उपाधि होडबाट बाहिरिने छ भने श्रीलंका ६ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

यस्तो स्थितिमा समूह उप–विजेताका रुपमा बंगलादेश सेमिफाइनलमा प्रवेश गर्नेछ । तर, समूहगत चरणको अन्तिम खेलमा थाइल्यान्डले श्रीलंकालाई हराएमा मलेसिया वाहेक तीनवटै टोलीको चार–चार अंक हुनेछ । यस्तो स्थितिमा नेट रन रेटका आधारमा सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

अहिलेको स्थितिमा श्रीलंकाको नेट रन रेट निकै राम्रो छ । श्रीलंकाको नेट रन रेट ४.२४३ रहेको छ । समूह ‘ए’ बाट भने ६ अंकसहित विजेताका रुपमा भारत र चार अंकसहित उप–विजेताका रुपमा पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् ।

बुधबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बंगलादेशले निर्धारित २० ओभरमा केवल दुई विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ७७ रनमात्र बनाउन सक्यो ।

बंगलादेशका लागि दुई ब्याट्रले उत्कृष्ट अर्धशतकीय पाली खेले । ओपनर मुर्सिदा खातुनले टोलीका लागि ८० रनको योगदान गरिन् । उनले केवल ५९ बलको सामना गरी एक छक्का र १० वटा चौका पनि हिर्काएकी थिइन् ।

उनले अर्की ओपनर दिलारा अक्तरसँग ६५ रनको साझेदारी गरेकी थिइन् । विकेटकिपरको भूमिकामा समेत रहेकी दिलाराले भने २० बलमा एक छक्का र चार चौकाको मद्दतले ३३ रन बनाएकी थिइन् । कप्तान निगार सुल्तानाले पनि टोलीका लागि अविजित ६२ रनको योगदान गरिन् ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएकी निगारले केवल ३७ बलको सामना गरी दुई छक्का र पाँच चौका हिर्काएकी थिइन् । चौथो नम्बरकी ब्याट्र रुमाना अहमद भने ६ रनमा अविजित रहिन् । बंगलादेशले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो ।

मलेसियाका बलर माहिरा ईजाती ईस्माइल र एल्सा हन्टरले एक–एक विकेट लिए । माहिरा मलेसियाका लागि महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर पनि बनेकी छन् । उनको विकेट संख्या ५१ पुगेको छ ।

जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाका कुनै पनि ब्याट्र लामो समयसम्म क्रिजमा टिक्न सकेका थिएनन् । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक २० रन बनाइन् । वान जुलिया ११ रनमा अविजित रहिन् । कप्तान विनफ्राइड दुराइसिंगम आठ रनमै आउट भइन् भने माहिरा ईजाती ईस्माइल पनि १५ रनभन्दा अगाडि बढ्न सकिनन् । सुबिका मनिभाननले आठ रन जोडिन् ।

मलेसियाले अतिरिक्त रुपमा आठ रन पाएको थियो । बंगलादेशकी बलर नाहिदा अक्तरले दुई विकेट हात पारिन् । जाहनारा आलम, राबेया खान, रितु मोनी, सोरना अक्तर र साबिकुन नहार जस्मिनले पनि एक–एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप