आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
सौर्य एयरलाइन्स दुर्घटना

सौर्य एयरलाइन्सको विमान दुर्घटना र केही अनुत्तरित प्रश्न

बुधबार, ०९ साउन २०८१, १८ : १५
बुधबार, ०९ साउन २०८१

जेठ १५, २०७९ मा तारा एयरको जहाज पोखराबाट जोमसोम जाँदै गर्दा दुर्घटना भयो ׀ लगत्तै माघ १, २०७९ मा यति एयरलाइन्सको विमान पनि पोखरा अवतरण हुँदै गर्दा दुर्घटना भयो ׀ 

यस्तै बुधबार काठमाडौँबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । तारा एयरको विमान मध्य बाटोमा खसेको भए पनि यति र सौर्य एयरको दुर्घटना एयरपोर्ट भित्र वा एयरपोर्ट नजिकै भएको पाइन्छ ׀ यो दुर्घटना किन र कसरी भयो त्यो छानबिन कमिटीले बताउला तर यी दुर्घटना हुँदै गर्दा केही अनुत्तरित प्रश्न हाम्रा अगाडि छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन पर्छ भन्ने आवाज पटक पटक उठ्दै आएको छ । तर वर्तमान प्राधिकरण नेतृत्व क्षेत्राधिकार खुम्चिने निहुँमा त्यो गर्न तयार छैन ׀ संसदमा पेस गरेको विधेयक समेत फिर्ता ल्याउने काम भयो ׀  आफ्नो क्षेत्राधिकार खुम्चिने र ठेक्कापट्टा बापत आउने कमिसन कम हुने संशयले प्राधिकरण नेतृत्व तयार नभएको भन्ने आम बुझाइ छ ׀ 

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना पूर्वाधारमा अपारदर्शी लगानीलाई मात्र प्रोत्साहन गरेको देखिन्छ ׀  बारबार उठ्ने प्रश्न भनेको यही हो कि, प्राधिकरणले ठेक्कापट्टामा मात्र कहिलेसम्म ध्यान दिने ?

नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन क्षमता कमजोर छ देखिन्छ । उसो त बनाएका नियम पालना गराउने जनशक्तिको कमीले गर्दा बनेका नियमहरू पनि कागजीरुपमा सीमित छन् ׀ यसले आफ्ना नियमहरू इन्फोर्स गर्न प्राधिकरण अक्षम देखिइरहेको छ ׀ योग्य व्यक्ति भन्दा कमजोर व्यक्तिलाई नियमन स्थानमा लैजाँदा आफू अनुकूल निर्णय गराउन सजिलो हुने हुनाले योग्य व्यक्ति लगभग पाखा लागेको अवस्था छ ׀ वर्षौँदेखि नियमको भूमिका मा खारिरहेका काबिल अफिसरहरू (उपमहानिर्देशक सम्म)पनि बेकाम र निर्णय प्रक्रियामा सहभागी नगराउने परिपाटी व्याप्त छ ׀

सेफ्टी रेगुलेसन डाइरेक्टरियटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको नेतृत्व छनौट प्रक्रिया हेर्‍यौँ  भने यो प्राय: प्रस्ट हुन्छ ׀ पोस्टिङजस्तो सामान्य विषय अदालतबाट अर्डर ल्याएर आउनुपर्ने अवस्था छ ׀  यसले प्राधिकरणको अलोकतान्त्रिक र गैरजिम्मेवारीपनको पराकाष्ठाको सङ्केत गर्दछ ׀

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना पूर्वाधारमा अपारदर्शी लगानीलाई मात्र प्रोत्साहन गरेको देखिन्छ ׀  बारबार उठ्ने प्रश्न भनेको यही हो कि, प्राधिकरणले ठेक्कापट्टामा मात्र कहिलेसम्म ध्यान दिने ?

 त्रिभुवन विमानस्थलको जनरल म्यानेजर कर्पोरेट प्लानिङमा लामो समय काम गरेका व्यक्ति नियुक्त गरिएको छ ׀ सेफ्टी लगायत अत्यावश्यक कामका ज्ञाता आउनुपर्ने ठाउँमा ठेक्कापट्टाको विज्ञ ल्याउनुले प्राधिकरणको जिम्मेवारी कस्तो हिसाबले बाँडिने रहेछ भन्ने प्रस्ट हुन्छ ׀ सेफ्टीका प्रायः नियम र म्यानुवलहरुमा जनरल म्यानेजरको भूमिकालाई प्रधान मानिएको छ । तर सेफ्टीबारे जानकारी नभएको व्यक्ति जिम्मेवारीमा आउँदा त्यसले थप जोखिम निम्त्याउने जानकारहरू बताउँछन् ׀ 

उसो त आइकाओ र युरोपियन युनियनले समेत व्यक्तिको परिवर्तन हुँदा त्यसका समस्या र अप्ठ्यारा (रिस्क) हरू लाई बेलैमा पहिचान गरी ती निराकरण गर्न उचित कदम चाल्न समेत पटक पटक सुझाव दिइएको अवस्था छ ׀  

यसैगरी भोलेन्टियरिङ रिपोर्टिङ गर्ने परिपाटीलाई लगभग निस्तेज प्राय: गरिएको छ । जसले गर्दा स-सानो सूचनाहरू जुन सेफ्टी रिलेटेड हुन्छन् ती आउन मुस्किल छ ׀ आफ्नाबारेमा आएका सूचनाहरू निष्क्रिय पार्ने र विपक्षीका बारेमा आउने सूचनालाई मात्र प्रहारको माध्यम बनाउने परिपाटीको विकास भएको छ ׀ निर्णयमा सहभागितात्मक भन्दा एकात्मकता हाबी छ , यसले सङ्गठनलाई निरङ्कुश र अपारदर्शी बनाइरहेको छ ׀

एयरपोर्ट नजिकै भएका दुर्घटना हुँदा समेत आफ्नो रेस्क्यु क्षमतामा बारबार प्रश्न आउँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो क्षमता बिस्तार गर्न ध्यान दिइरहेको देखिँदैन ׀ जोमसोम, पोखरा हुँदै आजको सौर्य एयरलाइन्सको दुर्घटनासम्म आइपुग्दा फायर सर्भिसेज र रेस्क्यु सर्भिसेजमा खास परिवर्तन र दुरुस्त राख्न प्राधिकरण असफल प्राय: बनिरहेको देखिन्छ ׀ इमर्जेन्सी रेस्पोन्स प्लानिङमा प्राधिकरणको वर्तमान नेतृत्व चुकिरहेको छ ׀ अरूको बारेमा एकाउन्टबिलिटी भएन भन्नुपर्ने संस्थाका प्रमुख के आफू आफ्नो जिम्मेवारीप्रति एकाउन्टेबल छन् ? भन्ने गम्भीर प्रश्न  उठेको छ ׀ छोटो समयमा तीन वटा गम्भीर प्रकृतिका दुर्घटना हुँदा र नियामयकी क्षमतामा गम्भीर प्रश्न आउँदा समेत न सरकार जिम्मेवार छ न त  प्राधिकरण नेतृत्व  । यसले उडान चासोमा नेपाल कति गम्भीर छ भन्ने प्रस्ट हुन्छ ׀ 

 अन्त्यमा नेपाल नागरिक उड्डयन प्राधिकरण सधैँ पूर्वाधारमा मात्र केन्द्रित हुने र आफ्नो उडान सुरक्षाप्रति जिम्मेवार नहुने  हो भने प्राधिकरण र यसका नेतृत्व यी र यस्तै  दुर्घटनाको साक्षी  बनिरहनुपर्ने अवस्था आउन सक्छ ׀ दुर्घटनाको प्रमुख कारक तत्त्व  खोज्न हो भने यही बिन्दुबाट अनुसन्धान सुरु गर्नु वाञ्छनीय हुन्छ ׀

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रशिक पौडेल
रशिक पौडेल
लेखकबाट थप