आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
सौर्य एयरलाइन्स दुर्घटना

एक महिनाका लागि ‘ह्याङ्गर’ मागेर पोखरा जाँदै थियो सौर्य एयरलाइन्सको विमान

बुधबार, ०९ साउन २०८१, १६ : ०५
बुधबार, ०९ साउन २०८१

पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान नियमित मर्मतका लागि पोखरा जाने क्रममा थियो । २ वर्षमा गर्नुपर्ने नियमित मर्मतका लागि प्राविधिक र कर्मचारीसहितको टोली लिएर विमान काठमाडौँबाट पोखराका लागि उडेलगत्तै दुर्घटना भएको हो ।

एयरलाइन्स कम्पनीले जुलाई २४ देखि १ महिनाका लागि पोखरा विमानस्थलमा ‘ह्याङ्गर’ मागेको थियो । पोखरामा नागरिक उड्डयन प्राधिकरणको ‘ह्याङ्गर’ छ, जहाँ दुई वटासम्म विमान राखेर मर्मत गर्न सकिन्छ ।

विमानस्थलले मंगलबार उक्त ‘ह्याङ्गर’ एक महिनासम्म प्रयोगका लागि अनुमति दिएको थियो । ‘काठमाडौँमा भएको ह्याङ्गर बुद्ध एयरको निजी हो । उसकै विमान राख्दा अरूलाई दिन सक्दैन । पोखरामा २ वटा विमान अटाउने ह्याङ्गर छ,’ पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले भने, ‘यसअघि नै यती एयरलाइन्सको एउटा विमान यसरी नै मर्मतका लागि राखिएको छ ।’

उनका अनुसार नेपालगञ्जमा पनि नागरिक उड्डयन प्राधिकरणको ‘ह्याङ्गर’ छ । तर नेपालगञ्ज टाढा पर्ने भएकाले सबैले पोखरा रोज्छन् ।

‘नेपालगञ्जमा पनि ह्याङ्गर छ तर टाढा पर्ने भएकाले मर्मतमा पनि महँगो हुन्छ । पोखरा नजिक भएको हुँदा कम खर्च हुन्छ,’ उनले भने, ‘ह्याङ्गरको शुल्क त अन्तर्राष्ट्रिय विमानस्थलकै अनुसार हो । अरू खर्च कम हुने भएर पोखरा ल्याइन्छ ।’

‘ह्याङ्गर’ उपलब्ध गराइदिन हप्ता दिन अघि सौर्य एयरलाइन्सले पत्र पठाएको थियो । विमान ‘सी चेक’का लागि पोखरा ल्याउन लागिएको थियो । ‘सी चेक’ नियमित मर्मत सम्भार अन्तर्गत पर्छ ।

‘सी–चेस भन्नाले विमान बिग्रिएको वा उडाउनै नमिल्ने भन्ने होइन, नियमित मर्मत सम्भारका लागि ल्याउन लागिएको थियो । त्यसैले त्यसमा चालक दलबाहेक अन्य स्टाफ पनि सवार भएको कुँवरले बताए ।

‘आएका सबै इन्जिनियरिङ टिम नै हो । पहिले पनि आउँदा यसरी आउँथे । धेरै काम हुन्छ, जनशक्ति पनि धेरै चाहिन्छ,’ उनले अघि थपे, ‘सिट पूरै खोल्नुपर्ने, पार्ट खोल्ने र जोड्ने गर्न मान्छे चाहिन्छ । धेरै मान्छे आएपछि छिटो काम सकिन्छ ।’

नर्मल कन्डिसनमा रहेकै कारण विमान उडाइएको उनको भनाइ छ । ‘यो मर्मत र त्यो दुर्घटनामा कुनै साइनो हुँदैन,’ उनले भने ।

विज्ञका अनुसार विमानको मर्मत ४ प्रकारका हुन्छन् । ‘ए’ देखि ‘डी’सम्म विभिन्न प्रकृतिका मर्मत गरिन्छन् । ‘सी चेक’ डेढदेखि २ वर्षको अन्तरमा अनिवार्य गर्नुपर्ने हुन्छ । यसमा विमानका पार्टपुर्जाको सूक्ष्म मर्मत गरिने जानकारहरू बताउँछन् ।

वायर, प्रणाली र संरचनाको सूक्ष्म निरीक्षण गरेर बिग्रेको भए मर्मत गर्ने र आवश्यक परे नयाँ सामान फेर्ने काम ‘सी चेक’मा हुन्छ । दुर्घटनामा परेको विमान यही जाँचका लागि प्राविधिक र कर्मचारीको टिम लिएर पोखराका लागि उडेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप