सांसदहरूले उठाए प्रधानको नैतिकतामाथि प्रश्न
काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय समितिमा सुनुवाइ भइरहेको छ । बुधबार समितिको बैठकमा प्रधानको सुनुवाइ भइरहेको हो ।
प्रधानको सुनुवाइमा सांसदहरूले उनको नैतिकतामाथि प्रश्न गरेका छन् ।
सन् २०१७ देखि २०२३ सम्म कुनै व्यक्तिसँगको सम्बन्ध रहेको तर पछिल्लो समय तिक्तता भएर पैसामा मिलाएको घटना के हो भन्दै एमाले सांसद ईश्वरी घर्तिमगरले प्रधानलाई प्रश्न गरेकी छिन् ।
‘निर्वाचन आयुक्त निकै जिम्मेवार पद हो, त्यसका लागि उच्च नैतिकता हुनुपर्छ, तपाईँलाई लागेको उजुरी हेर्दा तपाईँमा निर्वाचन आयुक्त हुन योग्यता देखिँदैन, विभिन्न मितिमा १ करोड २५ लाख दिएको देखिन्छ । यसले निकै शंकास्पद देखिन्छ,’ उनले भनिन्, ‘कुनै पुरुषसँग पैसा र पहुँच छ भने उसले कुनै महिलालाई कब्जा गर्न सक्छ र भोग गर्न सक्छ । समस्या आयो भने फेरि पैसाले मिलाउन सक्छ, पहुँच र पैसाले कति जना महिलाको जिन्दगी बरबाद गर्न सक्छ भन्ने देखिन्छ । तपाईँले आफ्नो घरमा रहेका श्रीमती र सन्तानलाई पनि धोका दिनुभएको छ । तपाईँलाई कसरी उच्च नैतिकवान मान्ने ?’
तपाईँले विभिन्न मितिमा पीडित महिलालाई चेक दिएको प्रमाण रहेको भन्दै सांसद घर्तिमगरले तपाइलाई कुन आधारमा नैतिकवान भनेर सिफारिस गर्ने भनी प्रश्न गरेकी छिन् ।
यस्तै कांग्रेस सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक सुनुवाइलाई पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले विगतमा दीपकराज जोशीलाई बाहेक अरूलाई सामान्य सोधपुछ मात्रै गरिएको बताए । उनले भने, ‘अमेरिकामा हुने गरेको छ वास्तविक संसदीय सुनुवाइ, त्यो अनुसार हामी पनि अगाडि बढ्नुपर्ने अवस्था छ । हामी अब पारदर्शी उत्तरदायी किसिमको सुनुवाइ गर्ने बाटोमा छौँ ।’
प्रधानमाथि लागेको आरोप गम्भीर रहेको भन्दै उनले त्यसमा आफूहरू कसरी सहमत हुने त्यस्तो धारण बनाउन आग्रह गरे ।
यस्तै सांसद ईश्वरी न्यौपानेले प्रधानले जागिरको प्रलोभन देखाएर शारिरीक हिंसा गरिरहेको देखिएको बताइन् । उनले भनिन्, ‘घरमा श्रीमती छोराछोरी भएर तपाईँले अर्को महिलासँग सम्बन्ध बनाएर घर बिगार्नुभएको छ, उहाँ उजुरी कर्ता महिला अहिले घरबार विहीनको अवस्थामा हुनुहुन्छ, तपाईँलाई सुनुवाइ गरेर कसरी पठाउँछन् भनेर मिडिया र समाजबाट प्रश्न आइरहेको छ । तपाईँ उच्च नैतिकवान भनेर कसरी पुष्टि गर्ने ?’
यस्तै सांसद जीवन परियारले उजुरीसँगै २०८० भाद्र २९ गतेको अदालती पत्र आएको भन्दै आधिकारिक हो कि होइन भनेर प्रधानलाई प्रश्न गरेका छन् ।
उनले भने, ‘जिल्ला अदालत काठमाडौँमा भएको यो मिलापत्र सत्य हो भने वादीले जाहेरी पेस गरेको, अब हचुवा प्रकारको उजुरी नगर्ने, मिलापत्र गर्न संयुक्त दस्तखत गरेको देखिन्छ । अवाञ्छित अनर्गल प्रचार गरेको भनेर तपाईँले भन्नुभएको छ । तर संविधानमा संवैधानिक आयोगको पदाधिकारी हुन उच्च नैतिक चरित्र हुनुपर्ने व्यवस्था छ, आफू उच्च नैतिक चरित्रको भनेर त्यसलाई कसरी प्रमाणित गर्नुहुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण
-
पौडेल र सेयर बजारको ‘ट्युनिङ’ पनि फेल