बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
राजश्व संकलन

क्यासिनोबाट १ अर्ब ३३ करोड राजस्व असुली, २१ कम्पनीको दर्ता नवीकरण

बुधबार, ०९ साउन २०८१, १५ : ४९
बुधबार, ०९ साउन २०८१

काठमाडौ । पर्यटन विभागका अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्य (गत असार मसान्त)सम्म २१ वटा क्यासिनोले राजस्व बुझाएर दर्ता नवीकरणपत्र लिएका छन् । ती क्यासिनोबाट एक अर्ब ३३ करोड ७८ लाख ९२ हजार २०० रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

सरकारले सबै क्यासिनो तथा मनोरञ्जन खेल सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) प्राप्त कम्पनीलाई २०८१ असार मसान्तभित्र राजस्व बुझाउन अल्टिमेटम दिएको थियो । समयमै राजस्व नबुझाउने त्यस्ता कम्पनीको दर्ता खारेज गर्ने सरकारको चेतावनी थियो ।

होटल, पर्यटन तथा क्यासिनो दर्ता, नवीकरणको जिम्मेवारी पर्यटन विभागलाई दिइएको छ । विभागका अनुसार ८ वटा ठुला क्यासिनोबाट ४० करोड रुपैयाँ राजस्व र १० करोड रुपैयाँ नवीकरण दस्तुर उठेको छ । यस्तै, १३ वटा साना तथा मझौला खालका (आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने) क्यासिनोबाट १९ करोड ५० लाख रुपैयाँ राजस्व र ६ करोड ५० लाख रुपैयाँ नवीकरण शुल्क उठेको विभागले जनाएको छ ।

यसअघि विभिन्न बहाना बनाएर राजस्व तिर्न नमानेका कम्पनीहरु समेत राजस्वको दायरामा आएको विभागका प्रवक्तासमेत रहेका निर्देशक कालिबहादुर भुजेलले रातोपाटीलाई जानकारी दिए । क्यासिनो बापतको अघिल्ला वर्षको बेरुजुमात्र ३९ करोड २५ लाख रुपैयाँ यसै वर्ष असुली गरिएको उनले रातोपाटीलाई जानकारी दिए । 

कुनकुन कम्पनीले पाए दर्ता नवीकरणको प्रमाणपत्र ?

विभागका अनुसार ८ वटा ठुला क्यासिनो कम्पनीमध्ये बेल्लिज नेपाल प्रा.लि.(मल्ल होटल), प्राइम इन्टरटेन्मेन्ट प्रा.लि. (होटल हायात), डल्टइन नेपाल प्रा.लि.(होटल म्यारिट), माजोङ्ग इन्टरटेन्मेन्ट प्रा.लि.(सोल्टी होटल), इम्पेरियल इन्टरटेन्मेन्ट प्रा.लि.(सोल्टी शिवक्रिम होटल) छन् ।

होटल अलफ्टस्थित क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेन्मेन्ट प्रा.लि, होटल मिल्सवरीस्थित क्यासिनो किङ्गसवेरी इन्टरटेन्मेन्ट प्रा.लि र झापास्थित होटल मेची क्राउनमा सञ्चालित भेगस रिक्रियसन प्रालिले राजस्व र दर्ता नवीकरणको शुल्क बुझाएका छन् । यी क्यासिनो कम्पनीले राजस्वबापत समान ५ करोड रुपैयाँ र दर्ता नवीकरण शुल्क बापत समान १ करोड २५ लाख रुपैयाँ विभागमा बुझाएका हुन् ।

यसैगरी आनुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल (सानो क्यासिनो) तर्फ नेपालगन्जस्थित ज्याकपोट गेमिङ्ग (होटल सिद्धार्थ), भैरहवाको निर्भाणा लक्जरी इन्टरटेन्मेन्ट प्रा.लि. (होटल निर्भाना), नेपालगन्जको वेल्लिज इन्टरटेन्मेन्ट प्रा.लि.(होटल स्नेहा), सिद्धार्थ गेमिङ्ग जोन प्रा.लि.(होटल नान्स) पनि नवीकरण भएका छन् ।

नेपालगन्जकै ओम त्रयम्बकम इन्टरटेन्मेन्ट प्रा.लि.(कल्पतरु होटल) र सेपियर इन्टरटेन्मेन्ट टेक्नोलोजी प्रा.लि.(होटल सिटी प्यालेस), पर्सास्थित गोल्डेन फिङ्गर गेमिङ्ग जोन प्रा.लि.(हिमाल वाटर पार्क एण्ड भिलेज) ले पनि रोयल्टीसहित दर्ता नवीकरणको प्रमाण पत्र लिएका छन् ।

विराटनगरस्थित बिग होटलमा सञ्चालित च्याम्पियन जोन प्रा.लि., भैरहवाको मौर्य होटलमा सञ्चालित अपूर्व गेमिङ्ग जोन प्रा.लि., बीरगन्जको दियालो होटलमा सञ्चालित दियालो गेमिङ्ग जोन प्रा.लि., पोखरामा सञ्चालित होटल माउण्ट कैलाशको ताज इन्टरटेन्मेन्ट प्रा.लि. र भैरहवास्थित एसियन बुद्ध होटलमा सञ्चालित इलिगेन्ट इन्टरटेन्मेन्ट प्रालिले राजस्वसहित नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि नवीकरण दर्ताको प्रमाणपत्र लिएका छन् ।

यी साना तथा मझौला क्यासिनो कम्पनीले राजस्वबापत जनही १ करोड ५० लाख रुपैयाँ बुझाएका छन् भने दर्ता नवीकरणबाट ५० लाख रुपैयाँ विभागमा बुझाएका छन् । क्यासिनो सञ्चालन नियमावली, २०७० अनुसार क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने कम्पनीले निवेदन दस्तुर बापत १० लाख रुपैयाँ बुझाउनुपर्छ भने आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा त्यस्तो क्यासिनो कम्पनीले ५ लाख रुपैयाँसहित विभागमा निवेदन दिनुपर्छ ।

इजाजतपत्र दस्तुरका लागि भने ठुला क्यासिनोका लागि २ करोड रुपैयाँ र साना क्यासिनोका लागि एक करोड रुपैयाँ लाग्ने व्यवस्था सोही नियमावलीमा गरिएको छ । तर, क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले निर्धारित अर्थात् तोकिएको एक वर्षको रोयल्टी रकम बराबरको बैंक ग्यारेन्टी विभागमा बुझाउनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप