कसैलाई प्रेम गर्थे जीवनभर अविवाहित नरबहादुर कर्माचार्यले
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज ११औँ स्मृति दिवस । आजकै दिन अर्थात् २०७० साउन ९ गते कर्माचार्यको निधन भएको थियो । १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मेका कर्माचार्य २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलन लागेका थिए ।
आन्दोलनका क्रममा उनी थुप्रैपटक जेल र निर्वासनमा समेत जानुपर्यो । तत्कालीन राष्ट्रिय कांग्रेसलाई मिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । अन्ततः राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही हुने नदेखेपछि कर्माचार्य वामपन्थी राजनीतिमा आकर्षित भएका थिए ।
कर्माचार्यसँग लामो समय निकट रहेर काम गरेका माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलका अनुसार, कर्माचार्य चिनियाँ जनक्रान्ति र रुसी क्रान्तिबाट प्रभावित भएर कम्युनिस्ट आन्दोलनमा लागेका थिए ।
२००६ वैशाख १० गते (२२ अप्रिल १९४९) भारतको कोलकातास्थित श्याम बजारमा पुष्पलालको संयोजकत्वमा नेकपा स्थापना भएपछि उनी मजदुर सङ्गठन निर्माणमा लागे । यसकै लागि २००७ सालमा विराटनगर गएका कर्माचार्य मजदुर आन्दोलनका संस्थापक अध्यक्ष भए ।
‘एकजना महिलासँग उहाँको प्रेम थियो । पार्टीले विवाह नगर्न भन्यो । उहाँले विवाह गर्नुभएन,’ माओवादी सचिव पोखरेल भन्छन्, ‘उहाँ जीवनभर अविवाहित रहनुभयो ।’
२०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित कर्माचार्य २०१९ सालमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात् बनेको एकता केन्द्रको केन्द्रीय सदस्य रहँदै कर्माचार्यले जीवनको अन्तिम समयमा नेकपा माओवादी केन्द्रको सल्लाहकार तथा संरक्षकको भूमिका निर्वाह गरेका थिए ।
संस्थापक नेता कर्माचार्यलाई चरित्रवान्, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ । माओवादी सचिव पोखरेल कर्माचार्यको विषयमा नेकपा स्थापनाकालमा कुनै विवाद नभएको स्मरण गर्छन् ।
संस्थापक सदस्यमा कर्माचार्यसहित निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशी थिए । यद्यपि केहीले मोतीदेवीलाई पनि संस्थापक सदस्य मानेका छन् । तथापि मोतीदेवीको विषयलाई लिएर मतभेद देखिन्छ ।
कर्माचार्यसँग लामो समय निकट रहेर काम गरेका माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले मोतीदेवीलाई संस्थापक सदस्य मान्ने भए वीरेन्द्रलाल श्रेष्ठ ‘काइँलाबा’लाई पनि सदस्य मान्नुपर्ने जिकिर गर्छन् । त्यतिबेला काइँलाबा परीक्षामा रहेकाले बैठकमा सहभागी नभएको उनले दाबी गरे ।
‘मोतीदेवीलाई संस्थापक सदस्य मान्ने भए वीरेन्द्रलाल श्रेष्ठ ‘काइँलाबा’ झन् मान्नुपर्छ । नेकपा स्थापना मिति २२ अप्रिल २०४९ भनिएको छ,’ पोखरेल भन्छन्, ‘त्यो दिन उहाँको जाँच परेका कारण बैठकमा बस्न पाउनुभएन । बेलुका उहाँहरू बसेर पार्टी स्थापना गरेको कुरा गर्नुभयो । त्यतिबेला त्यो सामान्य घटना बन्यो ।’
प्रेम–प्रसङ्ग र जीवनयापन
कर्माचार्यले पार्टीका निम्ति यतिसम्म त्याग गरे कि उनले जीवनभरि विवाह गरेनन् । ‘एकजना महिलासँग उहाँको प्रेम थियो । पार्टीले विवाह नगर्न भन्यो । उहाँले विवाह गर्नुभएन,’ सचिव पोखरेल भन्छन्, ‘उहाँ जीवनभर अविवाहित रहनुभयो ।’
पोखरेलका अनुसार, एउटा कालमा आएर कर्माचार्य व्यवसायी समेत बने । ‘तेस्रो महाधिवेशनपछि पार्टी टुटफुट र विभाजन भयो । त्यतिबेला उहाँले केही समय नख्खु जेलमा सामान पठाउनका लागि ठेक्कापट्टाको काम गर्नुभयो,’ पोखरेल भन्छन्, ‘त्यतिबेला पनि विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उनले निरन्तर पहल गरिरहेका थिए । आजीवन अविवाहित रहेका कर्माचार्य पार्टीप्रतिको निष्ठा, त्याग र समर्पणमा बिताएका थिए ।’
पोखरेलका अनुसार, सबैसँग मिल्न सक्ने खालको सरल स्वभाव थियो कर्माचार्यको । ‘पार्टी नीति, विधि र पद्धतिलाई अक्षरसः पालना गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । त्यसलाई तल–माथि ग¥यो भने पार्टी बिग्रिन्छ भन्नुहुन्थ्यो,’ कर्माचार्यको स्वभाव सम्झन्छन् पोखरेल, अन्तर्पार्टी संघर्षमा उहाँ बहकिने गर्नुहुन्थ्यो । नीतिगत प्रश्नमा जो गयो, उसैलाई साथ दिनुहुन्थ्यो ।’
उनको स्मृति दिवसका अवसरमा माओवादीको मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
-
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल
-
कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल
-
समीर भट्टको फिल्म ‘बलिदान’को रिलिज कहिले ?
-
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, ५८ हजारभन्दा बढी कर्मचारी लाभान्वित हुने
-
कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समर्थकको प्रदर्शन (तस्बिरहरु)